Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोभिड–१९ ले कमजोर बनेको वित्तीय क्षेत्र उकास्नमा बजेट केन्द्रित

कोभिड–१९ ले कमजोर बनेको वित्तीय क्षेत्र उकास्नमा बजेट केन्द्रित

कोरोनाबाट प्रभावित उद्योगको पुनरुत्थान, शैक्षिक प्रमाणपत्र धितो कर्जालाई प्रभावकारी बनाइने


काठमाडौँ । विश्व महामारी कोभिड १९ का कारण कमजोर बनेको वित्तीय क्षेत्रलाई उकास्ने गरी आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक भएको छ । गणतन्त्र दिवसको दिन अर्थात् शनिबार अर्थमन्त्री विष्णुुप्रसाद पौडलले कोभिड १९ कै कारण कमजोर बनेको वित्तीय क्षेत्रलाई सबल बनाउने गरी अध्यादेशमार्फत आगामी वर्षको बजेट घोषणा गरेका हुुन् ।

बजेटले मुख्यगरी संक्रामकलगायत सबै प्रकारका रोग र विपद्बाट नागरिकको जीवन रक्षा गर्दै जनजीवनलाई सहज र सुरक्षित बनाउने, उपलब्ध साधन, स्रोत, अवसर र क्षमताको उच्चतम परिचालन गरी शीघ्र आर्थिक पुनरुत्थान गर्दै विकासको गतिलाई निरन्तरता दिने लक्ष्य लिएको छ । यसैगरी नागरिकका मौलिक हक र अधिकारका रूपमा रहेका आवश्यकता परिपूर्तिमार्फत राज्यको लोककल्याणकारी भूमिका बढाउने, सामाजिक, आर्थिक र भौतिक पूर्वाधार विकासमार्फत उत्थानशील, समुन्नत, स्वाधीन, समृद्ध एवम् समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्दै जाने लक्ष्य पनि बजेटले लिएको छ ।

बजेटका उद्देश्यहरू हासिल गर्नको लागि सरकारले एक दर्जनभन्दा बढी विषयहरुलाई क्षेत्रगत र कार्यक्रमगत प्राथमिकता सूचीमा राखेको छ । यसअन्तर्गत कोरोनालगायत सबै प्रकारका स्वास्थ्य जोखिमबाट नागरिकलाई सुरक्षित राख्न र गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ बनाउन स्वास्थ्य सेवाको दायरा विस्तार, स्वास्थ्य पूर्वाधार निर्माण तथा स्तरोन्नति र स्वास्थ्य जनशक्ति विकास गर्ने योजना बजेटले अघि सारेको छ । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि चालिएका कदमबाट टुटेको उत्पादन र आपूर्ति शृंखलालाई पुनस्र्थापना गर्दै कृषि, उद्योग, पर्यटन, निर्माणलगायत प्रभावित व्यवसायको पुनरुत्थान, नागरिकका लागि काम र रोजगारीका अवसर, खाद्य सुरक्षा, सुरक्षित आवास, सार्वकालिक सामाजिक सुरक्षा र संरक्षण, विकासको शीघ्र प्रतिफल प्राप्त हुने र आगामी वर्षभित्र सम्पन्न हुने अधूरा आयोजना कार्यान्वयन, गुणस्तरीय र जीवनोपयोगी शिक्षा, सूचना प्रविधिको विस्तार, आधारभूत खानेपानीलगायतका सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारको विकास तथा निर्माण र संघीयता कार्यान्वयन, गुणस्तरीय तथा पहुँचयुक्त सार्वजनिक सेवा र उत्तरदायी तथा पारदर्शी शासन व्यवस्थाको सुदृढीकरण गर्ने योजना पनि बजेटले अघि सारेको छ ।

आगामी वर्षको क्षेत्रगत बजेट विनियोजन गर्दा कोरोनाको रोकथाम गर्दै आर्थिक पुनरुत्थान हुने, तत्काल प्रतिफल प्राप्त गर्न सकिने, आगामी आर्थिक वर्षमै सम्पन्न हुने, चालू आयोजनाहरूको कार्यान्वयन निरन्तरता सुनिश्चित गर्ने र सेवा प्रवाहलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहको उच्चतम समन्वय र सहकार्य गर्ने तथा सार्वजनिक, निजी, सहकारी र सामुदायिक क्षेत्रसँगको साझेदारीबाट विकास प्रक्रियालाई अघि बढाउने कार्यक्रमतर्फ जोड दिएको अर्थमन्त्री बताए ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया