Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविद्युतीय गाडी सस्तियो मदिराको मूल्य बढ्यो

विद्युतीय गाडी सस्तियो मदिराको मूल्य बढ्यो


काठमाडौँ । सरकारले बजेटसँगै सार्वजनिक गरेको आर्थिक अध्यादेशअनुसार विद्युतीय सवारीसाधनको मूल्य घट्ने भएको छ भने सुर्ती र मदिराजन्य पदार्थको मूल्यमा व्यापक वृद्धि हुने भएको छ ।
विद्युत्को आन्तरिक खपत वृद्धि गर्न तथा वातावरणमैत्री यातायातका साधनको प्रयोगलाई बढावा दिन विद्युतीय सवारीसाधनको आयातमा अन्तःशुल्क पूरै खारेज गरी भन्सार महसुल समेत उल्लेख्य मात्रामा घटाएको छ । अध्यादेशका अनुसार भन्सार शुल्क दश प्रतिशतमा झारिएको छ ।

चालू आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय गाडीमा कर लगाएपछि त्यसको व्यापक आलोचना भएको थियो । उनले उक्त करको बचाउ गर्ने प्रयास गरे पनि त्यसमा असफल भएका थिए । खतिवडाका कारण चालू आवमा नयाँ विद्युतीय गाडी बिक्री नै भएको छैन ।खतिवडाले गाडीको इन्जिन क्षमताअनुसार विद्युतीय गाडीमा ३० देखि ८० प्रतिशतसम्म अन्तःशुल्क लगाएका थिए । १० प्रतिशत मात्र लाग्ने भन्सार दरलाई ८० प्रतिशत बनाएपछि खतिवडाको आलोचना भएको थियो । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले ल्याएको बजेटमा खतिवडाको उक्त कर नीतिलाई उल्ट्याइदिएपछि सामाजिक सञ्जालमा उनको तारिफ भएको छ ।

मदिरा, बियर, वाइन, चुरोट, सुर्तीजन्य तथा हल्का पेय पदार्थमा अन्तःशुल्क भने वृद्धि गरेको छ । अब बजारमा सबै मदिराजन्य पदार्थको मूल्यवृद्धि हुनेछ । तर मूल्यअभिवृद्धि करको दर भने यथावत् राखेको छ । भन्सार महसूलका दरहरुमा सामान्य समायोजन गरेको छ । यस्तै, सरकारले बजेटमार्फत करछुटको सुविधा दिएर व्यवसायीहरुलाई आफूप्रति आकर्षित गर्ने प्रयास गरेको छ । बजेटमा उल्लेख भएअनुसार आर्थिक वर्ष २०७७÷०७८ को आयमा वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई ९० प्रतिशत, वार्षिक २० लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाइ ७५ प्रतिशत र वार्षिक ५० लाखदेखि एक करोड रुपैयाँसम्मको कारोबार भएका करदातालाइ ५० प्रतिशतले आयकर छुट दिने व्यवस्था गरेको छ ।

कोभिडबाट अत्यधिक प्रभावित होटल, ट्राभल, ट्रेकिङ, यातायात तथा हवाइ सेवा, चलचित्र उद्योग र सञ्चार गृहको करयोग्य आयमा एक प्रतिशत मात्र आयकर लाग्ने व्यवस्था गरी ती व्यवसायको नोक्सानी सार्न मिल्ने अवधि बढाएर १० वर्ष पु¥याएको छ । कम्पनी ऐन, २०६३ तथा प्राइभेट फर्म रजिष्ट्रेसन ऐन, २०१४ अनुसार आर्थिक वर्ष २०७५÷०७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका कम्पनी तथा फर्मले २०७८ साल असोज मसान्तभित्र विवरण र शुल्क तथा जरिवानाको १० प्रतिशत रकम बुझाएमा बाँकी शुल्क तथा जरिवाना मिनाहा दिने व्यवस्था गरेको छ ।

आयकर ऐन, मूल्य अभिवृद्धि कर ऐन र अन्तःशुल्क ऐनबमोजिम २०७७ असार मसान्तभित्र भएको कर निर्धारणउपर चित्त नबुझाई आन्तरिक राजस्व विभाग वा राजस्व न्यायाधिकरण वा अदालतमा विचाराधीन मुद्दामध्ये झूठा तथा नक्कली बीजकबाहेकका मुद्दा सम्बन्धित करदाताले फिर्ता लिई निर्धारित कर र सोमा लागेको ब्याजको ५० प्रतिशत रकम २०७८ मंसिर मसान्तसम्म बुझाएमा बाँकी ब्याज, शुल्क, थप दस्तुर र जरिवाना मिनाहा हुने घोषणा बजेटमार्फत गरिएको छ ।

नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले स्थापना गरेको कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा योगदान गरेको रकम उक्त वर्षको करयोग्य आय गणना गर्दा खर्च कट्टी गर्न पाउने व्यवस्था पनि बजेटमा गरिएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा व्यावसायिक सामाजिक जिम्मेवारी वहन गर्ने प्रयोजनका लागि छुट्याइएको रकममध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको विशिष्टीकृत अस्पताल निर्माण वा तोकिएको स्वास्थ्य संस्थालाई उपलब्ध गराएको कोभिड–१९ को उपचारसँग सम्बन्धित स्वास्थ्य उपकरण तथा सामग्रीमा भएको खर्च आयकर गणना प्रयोजनका लागि कट्टी गर्न दिने व्यवस्था पनि गरेको छ ।

करदाताको करयोग्य कारोबारमा प्रयोग भएको डिजेल र एलपी ग्यासको खरिदमा तिरेको मूल्यअभिवृद्धि करकट्टी गर्न पाउने व्यवस्था गरेको छ । ढुवानी सेवा, ढुवानी साधनको भाडा, कार्गो सेवा, इ–लाइब्रेरी सेवा, निक्षेप सुरक्षण शुल्क, ट्रेकिङ्ग तथा टुर प्याकेज, साइलो तथा साइलो प्रयोगको सेवा शुल्क र उत्पत्तिको प्रमाण–पत्र जारी गर्दा लाग्ने शुल्कमा मूल्य अभिवृद्धि कर छुट दिने व्यवस्था पनि सरकारले गरेको छ ।

अक्सिजन ग्यास, लिक्विड अक्सिजन, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटरलगायतका अन्य जीवनदायक सामग्री र औषधि आयात, उत्पादन तथा बिक्री वितरणमा लाग्ने भन्सार महशुल, मूल्यअभिवृद्धि कर र अन्तःशुल्क २०७८ पुस मसान्तसम्म छुट दिने व्यवस्था गरेको छ ।
इन्डक्सन चुल्होको भन्सार महसुल दर घटाएर एक प्रतिशत कायम गरेको छ । रेफ्रिजेरेटर, ग्राइन्डर, राइसकुकर, पङ्खालगायतका विद्युतीय उपकरणको अन्तःशुल्क खारेज गरी भन्सार महसुल घटाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया