Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योग क्षेत्रको लगानीमा २० प्रतिशतले कमी

उद्योग क्षेत्रको लगानीमा २० प्रतिशतले कमी


काठमाण्डौँ,माघ ६
नेपालको उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरुमार्फत गरिने लगानी स्वीकृतिमा २० प्रतिशतले कमी आएको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्ष (२०७६÷०७७) को पछिल्लो छ महिनाको अवधिमा गत आव (२०७५÷०७६) को सोही अवधिको तुलनामा २३ अर्ब ९४ करोड ४६ लाखले लगानी प्रतिबद्धतामा कमी आएको हो ।चालू आवको दोस्रो त्रैमासिक अर्थात् साउनदेखि पुस मसान्तसम्ममा स्वदेशी तथा विदेशी उद्योगीहरुमार्फत मुलुकको उद्योग क्षेत्रमा ९१ अर्ब ३० करोड ८७ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जानकारी दिएको छ । सो लगानी प्रतिबद्धता कुल एक सय ९० वटा उद्योग स्थापना गर्नको लागि आएको विभागका सूचना अधिकारी विनोद खड्काले बताए । यस्तै गत आवको सोही समयमा स्वदेशी र विदेशी लगानीकर्ताहरुमार्फत उद्योग क्षेत्रमा एक खर्ब १५ अर्ब २५ करोड ४७ लाख लगानी प्रतिबद्धता आएको थियो । कुल दुई सय ६८ वटा उद्योग स्थापना गर्नको लागि सो लगानी प्रतिबद्धता आएको हो । सूचना अधिकारी खड्काले ठूला लगानीका उद्योगहरु नेपाल लगानी बोर्डमा जाने हुँदा लगानीमा कमी आएको बताए ।

‘विभागमा छ अर्बसम्मका उद्योगको लगानी मात्र स्वीकृत गर्ने हुँदा लगानी प्रतिबद्धतामा कमी देखिएको हो’, उनले भने, ‘समग्रमा नेपालको उद्योग क्षेत्रमा लगानी वृद्धि भएको छ ।’ विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐन २०७५ बमोजिम विदेशी लगानीकर्ताहरुले नेपालको उद्योग क्षेत्रमा पाँच करोडदेखि छ अर्बसम्म लगानी स्वीकृति विभागले गर्ने उनले बताए । चालू आवको दोस्रो त्रैमासिकमा सबैभन्दा बढी लगानी प्रतिबद्धता ऊर्जामूलक उद्योगमा आएको छ भने सबैभन्दा कम लगानी प्रतिबद्धता कृषिजन्य उद्योगमा आएको विभागले जनाएको छ । प्रवक्ता खड्काका अनुसार स्वदेशी तथा विदेशी लगानीकर्ताहरुले नेपालको ऊर्जा उद्योगमा ५२ अर्ब ९९ लाख लगानी प्रतिबद्धता जनाउँदा कृषिजन्य तथा वन पैदावरमा ७४ करोड १४ लाख लगानी प्रतिबद्धता जनाएका छन् । उनीहरुले कृषिजन्यमा सातवटा तथा ऊर्जामा २४ वटा उद्योग स्थापना गर्ने भन्दै सो लगानी प्रतिबद्धता जनाएका हुन् । यस्तै लगानीकर्ताहरुले सूचना प्रसारण तथा सञ्चार प्रविधिमा दुई अर्ब ४५ करोड, उत्पादनमा १२ अर्ब ९८ करोड, सेवामा छ अर्ब ४९ करोड र पर्यटनमा १६ अर्ब ६३ करोड ६२ लाख लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले चालू आवको दोस्रो त्रैमासिकमा सूचना–प्रविधिमा ११ वटा, उत्पादनमा ३९ वटा, सेवामा ३६ वटा र पर्यटनमा ७३ वटा गरी कुल एक सय ९० वटा उद्योग स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् । उद्योग स्थापना गर्ने प्रतिबद्धतासँगै लगानीकर्ताहरुले कृषिमा दुई सय ९२ जना, ऊर्जामा आठ सय ८५ जना, सूचना प्रविधिमा एक हजार तीन सय ३१ जना, उत्पादनमा तीन हजार ९२ जना, सेवामा तीन हजार एक सय ६० जना र पर्यटनमा तीन हजार आठ सय २० जना गरी कुल १२ हजार पाँच सय ८० जनालाई रोजगारी दिने समेत विभागलाई जानकारी गराएका छन् ।

यस्तै गत आवको सोही समयमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरुले कृषि तथा वनजन्यमा एक अर्ब ३६ करोड ८३ लाख, निर्माणमा एक अर्ब दुई करोड ४० लाख, ऊर्जामा ७० अर्ब ७८ करोड, सूचना, प्रसारण तथा सञ्चार प्रविधिमा ३७ करोड ५९ लाख, उत्पादनमा ३० अर्ब ८४ करोड ७५ लाख, सेवामा चार अर्ब ३० करोड ७५ लाख र पर्यटनमा छ अर्ब ५५ करोड १३ लाख लगानी प्रतिबद्धता जनाएका थिए । दुई सय ६८ वटा उद्योेग स्थापना तथा १३ हजार पाँच सय नौ जनालाई रोजगारी दिने प्रतिबद्धतासहित लगानीकर्ताहरुले सो लगानी प्रतिबद्धता जनाएका थिए । स्वदेशी र विदेशी दुवै लगानीकर्ताहरुको समग्र लगानीमा कमी आए पनि प्रत्यक्ष वैदेशिक लगानीमा भने वृद्धि भएको विभागले जनाएको छ । उनले समग्रमा अर्थात् स्वदेशी र विदेशी लगानीकर्ताहरुले पछिल्लो छ महिनाको अवधिमा नेपालको उद्योग क्षेत्रमा गर्ने लगानी प्रतिबद्धतामा कमी आए पनि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)तर्फ भने गत आवको तुलनामा वृद्धि भएको बताए । चालू आवको छ महिनामा मुलुकको उद्योग क्षेत्रमा एफडीआईस्वरुप ४० अर्बभन्दा बढी लगानी प्रतिबद्धता आएको उनले बताए । उनले भने, ‘विदेशी लगानीकर्ताहरुले नेपालमा एक सय ५० वटा उद्योग स्थापना गर्ने बताउँदै ४० अर्ब ६८ करोड ५६ लाख लगानी विभागबाट स्वीकृति गरेका छन् ।’ नेपालको उद्योग क्षेत्रमा विशेष गरी पछिल्ला समयमा ऊर्जा क्षेत्रमा लगानी वृद्धि भएको पाइन्छ भने त्यसपछि क्रमशः उत्पादन र पर्यटन उद्योग रहेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पछिल्लो समय प्रत्येक प्रदेशमा १० वटा औद्योगिक ग्राम स्थापना निर्माण गर्ने जनाएको छ भने विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)मा समेत छुट दिने तयारी समेत गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया