Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनर्सिङ केयर गिभरमा १७ युवा जापान जाने निश्चितनर्सिङ केयर गिभरमा १७ युवा जापान जाने निश्चित

नर्सिङ केयर गिभरमा १७ युवा जापान जाने निश्चितनर्सिङ केयर गिभरमा १७ युवा जापान जाने निश्चित


काठमाण्डौँ,माघ ७

जापान रोजगारीअन्तर्गत पहिलो चरणमा १७ जना युवा (महिला÷पुरुष) जापान जाने निश्चित भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार सन् २०२० भित्रमा १७ जना नर्सिङ केयर गिभरका युवाहरु कामका लागि जापान जाने निश्चित भएको हो ।सन् २०२० भित्रमा भाषा र सीप परीक्षा पास गर्ने १७ जना नर्सिङ केयर गिभरका युवाहरु जापान जान पाउने निश्चित भएको मन्त्रालयका उपसचिव दिपक ढकालले जानकारी दिए । ‘पहिलो चरणमा १७ जना नर्सिङ केयर गिभरका युवाहरु कामका लागि जापान जान पाउने जापान फाउन्डेसनले मन्त्रालयलाई जानकारी दिएको छ’, उनले आर्थिक दैनिकसँग भने, ‘उनीहरु ढिलामा यस अंग्रेजी वर्षको अन्त्यसम्मा जापान जानेछन् ।’ गएको अक्टोबर÷नोभेम्बरमा भाषा र सीप परीक्षा दिएका ती युवाहरुले दुवै परीक्षा पास गरेसँगै जापान जान पाउने भएको मन्त्रालयले जानकारी दिएको छ । पास गर्ने युवाहरु को–को थियो भन्ने विषयमा भने कुनै जानकारी आएको छैन । भाषा र सीप परीक्षामा पास भएको जानकारी मन्त्रालयलाई आएको उनले बताए ।

पास गर्ने युवाको सूची अर्थात् नाम र ठेगाना केही पनि नआएको उनको भनाइ छ । पास भए पनि जापानबाट कामदारको माग नआउँदा युवाहरु जाने समय उल्लेख गर्न नसकिएको मन्त्रालयले बताएको छ । करिब मासिक दुई लाख तलब हुने भने पनि हालसम्म कुनै टुंगो नलागेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका महानिर्देशक भीष्म कुमार भुसालले परिश्रमिकको विषय भने दुई देशका प्रावधिकि समितिको बैठकबाट निर्धारण गरिने बताए । ‘बैठकले पारिश्रमिकको विषय टुंगो लगाउने हो’, उनले भने, ‘समितिको बैठक बस्ने विषयमा हाल छलफल चलिरहेको छ ।’ यता नेपाली कामदार लैजान इच्छुक जापानी रोजगारदाताले भने जापानस्थित नेपाली दूतावासमा सम्पर्क गर्नुपर्ने हुन्छ ।’ रोजगारदाताले जापानस्थित नेपाली दूतावासमा आवश्यक नेपाली कामदारबारेमा जानकारी दिनुपर्ने सहसचिव ढकालले बताए । उनले भने, ‘रोजगारदाताले दूतावासमा सम्पर्क नगरी आफूखुसी नेपाली कामदार लैजान सक्दैन । सोसँगै दूतावासले नेपालमा अर्थात् वैदेशिक रोजगार विभागलाई जानकारी गराउँछ ।’ माग आएसँगै पास भएका युवाहरुको हकमा भने वैदेशिक रोजगारीको क्रममा खाडीलगायतका अन्य मुलुकमा काम गर्न जाँदा अपनाउने तरिकाअनुसार नै अघि बढ्नुपर्नेछ ।

जापान जाने युवाहरुले पनि अन्य मुलुकमा जाने युवाहरुले जस्तै श्रमस्वीकृति लिने, बीमा गर्ने, ओरिएन्टेसन कक्षा लिने, स्वास्थ्य परीक्षण, बीमा लगायत काम गर्नुपर्ने मन्त्रालयको भनाइ छ । जापानमा नेपाली कामदार लैजानको लागि जापान सरकारअन्तर्गतका वैधानिक संस्थाहरु रहेको मन्त्रालयले जानकारी दिएको छ । ‘वैधानिक संस्थाहरुले नेपाली कामदारको लागि माग पठाउने गर्छन्’, उनले भने, ‘जसमा नेपालीहरु पनि आबद्ध भएका हुन्छन् । नेपालीहरुको सहयोगमा जापानी रोजगारदाताले नेपाली कामदार लैजानेछन् ।’ जापानमा रहेका कामदार लैजाने क्रममा श्रम सम्झौताविपरीत काम गरेको खण्डमा भने उनीहरुको लाइसेन्स खारेजी गर्ने व्यवस्था रहेको छ । यसले गर्दा नेपाली कामदारलाई असहज परिस्थिति सिर्जना हुनेछैन । यस्तै भाषा र सीप परीक्षा पास भएका र निश्चित क्षेत्रका लागि युवा कामदार जाने हुँदा जापान रोजगारीमा कुनै असहज स्थिति पैदा हुनेछैन । जापान र नेपालबीच भएको श्रमसम्झौताअनुरुप नेपाली कामदारहरु जापान रोजगारीमा जाँदा सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्नुपर्ने हुन्छ । जापान सरकारले अघिल्लो वर्षमा नेपालबाट कामदार लैजाने भन्दै नेपाललाई स्रोत मुलुकको सूचीमा राखेको थियो । जापान रोजगारीको लागि आउँदो मार्चमा पुनः भाषा र सीप परीक्षा हुने भएको छ । यसअघि परीक्षामा एक हजार जना मात्र सहभागी हुँदै आएको परीक्षामा मार्चदेखि भने १३ सय परीक्षार्थी सहभागी हुन पाउनेछन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया