Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभारतसँगका थाती विषय टुङ्गो लगाउन कार्यसूची बनाउँदै ओली सरकार

भारतसँगका थाती विषय टुङ्गो लगाउन कार्यसूची बनाउँदै ओली सरकार


काठमाण्डौँ,माघ ८

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगका थाती रहेका विषयलाई टुंगोमा पु¥याउने प्रयासमा नेपाल लागेको बताएका छन् । त्यसका लागि सम्बन्धित मन्त्री र मन्त्रालयले कार्यसूची तय गर्ने काम जारी राखेको पनि प्रधानमन्त्री ओलीको दाबी छ । नेपाल र भारत इतिहास, भूगोल र संस्कृतिका हिसाबले नजिकका छिमेकी भएका नाताले आपसी सहकार्यलाई वृद्धि गर्न थाती रहेका विषयलाई टुंगोमा पु¥याउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । थाती रहेका सबै विषय द्विपक्षीय कूटनीतिक संवादबाट मात्र टुङ्गोमा पु¥याउन सकिने पनि प्रधानमन्त्री ओलीको विश्वास छ । विराटनगरस्थित एकीकृत भन्सारचौकीको मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट भारतीय समकक्षी नरेन्द्र मोदीसँग भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आपसी सम्बन्ध नयाँ उचाइमा पुगेकाले यसका आधारमा आपसी सहमति र साझेदारीका विषयलाई ‘एक्सन’मा उतार्ने समय आएको बताएका हुन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सोचझैँ भारतीय प्रधानमन्त्री मोदीको ‘सबका साथ, सबका विश्वास’को नारा रहेको उल्लेख गर्दै विगतमा आफू भारत भ्रमणमा जाँदा वीरगञ्जस्थित एकीकृत जाँचचौकी तथा पाँच महिनाअघि मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको संयुक्त उद्घाटन गरिएको स्मरण गराएको राससले पनि जनाएको छ । प्रधानमन्त्री ओलीले भूकम्पछिको पुनर्निर्माण तथा हाल गोरखा र नुवाकोटमा निजी भवन निर्माणमा गरिएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिए । प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिबारे चासो दिई शीघ्र लाभको कामना गरेकामा पनि भारतीय समकक्षीलाई धन्यवाद दिँदै आफ्नो स्वास्थ्य सुध्रिँदै गएको जानकारी दिएका थिए । भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणमा आउन पुनः निमन्त्रणा दिँदै प्रधानमन्त्री ओलीले आफूहरु स्वागत गर्न तत्पर रहेको बताए । मोदी नेपाल आउनेजवाफमा भारतीय प्रधानमन्त्री मोदीले सो एकीकृत जाँचचौकीको सञ्चालन दुई देशबीचको तीव्र विकासको प्रतीक भएको जनाउँदै यसले सम्पर्क सञ्जाल विस्तार गर्नाका साथै कामलाई सरल बनाउने बताए । रक्सौल र जोगबनीमा यसअघि नै यस्तो जाँचचौकी सञ्चालन भएको र गत वर्ष वीरगञ्जमा जाँचचौकीको सञ्चालन गरिएको स्मरण गर्दै उनले आगामी दिन पनि अन्य कुनै स्थलमा एकीकृत जाँचचौकीको निर्माण गरिने बताएको राससले जनाएको छ । गोरखा भूकम्पमा नेपालीले भोग्नुपरेको दर्द र त्रासदीमा पहिलो उद्धारकका रुपमा भारतले सघाएको उल्लेख गर्दै मोदीले हाल निर्माणाधीन भवनहरु बलियो हुने अपेक्षा व्यक्त गरेका थिए । प्रधानमन्त्री मोदीले आफू यस वर्ष सन् २०२० मा पक्कै नेपाल आउने जनाउँदै भने, ‘यस वर्ष म नेपाल आउने कार्यक्रम मिलाउँछु । अवश्य पनि नेपाल र नेपालीको दर्शन गर्नेछु ।’

एकीकृत जाँचचौकीबाट काम सुरु


प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले विराटनगरस्थित एकीकृत भन्सार जाँचचौकीको भिडियो कन्फरेन्समार्फत संयुक्त रुपमा मंगलबारबाट शुभारम्भ गरेका छन् । प्रधानमन्त्री ओलीले सिंहदरबार र भारतीय समकक्षी मोदीले दिल्लीबाट एकै समयमा शुभारम्भ गरेका हुन् । नेपाल सरकारलाई भारत सरकारले सो चौकी निर्माण सम्पन्न गरी मंगलबार हस्तान्तरण गरेको हो ।
विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा सो चौकी १२९ बिघा क्षेत्रमा तयार गरिएको छ । यसको चारकिल्लाको बारेमा मंगलबार नै नेपाल सरकारले राजपत्रमार्फत जानकारी गराएको छ । चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मै सम्झौता भए पनि यसको निर्माण सन् २०१६ देखि सुरु भएको हो । विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम एकीकृत जाँचचौकीबाट सुरु भएपछि विराटनगर रानीसँग जोडिएर रहेको जोगबनी बजार पनि सहज हुने र सवारीको चाप स्वतः घट्ने अनुमान छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया