Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज


काठमाडौं । केपी ओली नेतृत्वको सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गर्ने निर्णय गरेको छ । आयोगले भूमिहीनहरूलाई भूमि दिने लगत संकलन गरिरहेको बेला सरकारले आयोगठ नै विघटन गरिदिएको हो । आयोगको अध्यक्ष चितवनका देवी ज्ञवाली थिए । ज्ञवालीलाई माओवादीले मतपत्र च्यातेर भरतपुर महानगरपालिकाको मेयरमा हराएका थिए ।

यस्तै, आचरणविपरीत काम गरेको भन्दै नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय पनि सरकारले गरेको छ । यस्तै, गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी र सल्लाहकार सम्पादक गोपाल खनालले दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ । सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा पहिलो संशोधन नियमावली, २०७८’ स्वीकृत गरेको छ । निजामती सेवा ऐनअनुसार नेपाल प्रशासन सेवाका सहसचिव हरिप्रसाद मैनालीलाई सचिवमा बढुवा गरी अतिरिक्त समूहमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । आयोगको सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गर्ने निर्णय गरेको हो । आयोगको पदाधिकारी नियुक्तिका लागि एक वर्ष पहिल्यै सिफारिस भएको थियो । विभिन्न कारणले लामो समयसम्म पदाधिकारी नियुक्त हुन नसक्दा आयोगले गर्नुपर्ने काम प्रभावित हुँदै आएको थियो । देशभरका सामुदायिक विद्यालयका लागि नयाँ शिक्षक भर्ना, बढुवालगायतका काम प्रभावित भएको थियो । आयोगमा पदाधिकारी नियुक्तिसँगै अब ती कामले गति लिनेछ । यस्तै, कोरोनाविरुद्धको खोप खरिदका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १६५ मिलियन अमेरिकी डलर (करिब १९ अर्ब ५८ करोड) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, गत वैशाख १६ गतेदेखि निषेधाज्ञा अवधिभर व्यक्तिगत घटना दर्तामा लाग्ने विलम्ब शुल्क मिनाहा गर्ने निर्णय भएको छ । निषेधाज्ञाका कारण व्यक्तिगत घटना दर्ता हुन पाएको थिएन । सोही कारण स्थानीय निकायले विलम्ब शुल्क लिन थालेका थिए । सरकारको निर्णयपछि कुनै पनि विलम्ब शुल्क लिन नपाइने भएको छ । विभूषण समितिको सदस्यमा प्रा भूषण श्रेष्ठ, गोविन्दप्रसाद शर्मा, मदनदास श्रेष्ठ, कुशप्रसाद मल्ली, ओमप्रकाश महतो, नरबहादुर कँडेललाई नियुक्त गरिएको छ । राष्ट्रिय जीवनमा आ–आफ्नो क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिलाई समितिको सदस्यमा नियुक्त गरिएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया