Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा लोकप्रिय मोटरसाइकल पल्सर २२० सीसी बन्द हुँदै

नेपालमा लोकप्रिय मोटरसाइकल पल्सर २२० सीसी बन्द हुँदै


काठमाडौँ । नेपाली बजारमा निकै रुचाइएको बजाजको पल्सर २२० सीसीको मोटरसाइकलको बिक्री बन्द हुने भएको छ । नेपाली भूगोलअनुसार निकै रुचाइएका मोटरसाइकलहरुमध्ये पल्सर पनि एक हो । आफूले उत्पादन गरेर बजार पठाएको सबै मोटरसाइकलहरु बिक्री भइसकेपछि यसको औपचारिक घोषणा हुने कम्पनी स्रोतले बतायो ।

बिक्रीअगावै सार्वजनिक गर्दा उत्पादन भएर बजारमा बिक्रीको लागि गइसकेको मोटरसाइकलहरु बिक्री नहुने डरले भारतीय कम्पनीले मोटरसाइकल बिक्री बन्द गर्न लागेको औपचारिक जानकारी भने दिएको छैन ।तर नेपालको लागि बजाज पल्सरको आधिकारिक बिक्रेता हंशराज हुलासचन्दकी बजार प्रमुख पुनम सिंहले बजाज मोटरसाइकल उत्पादक कम्पनीले पल्सरको २२० सीसी मोटरसाइकल भारतमा मात्र बन्द गर्न लागेको र यसले अन्य मुलुकहरुलाई खासै फरक नपर्ने बताइन् ।

उनका अनुसार बजाज पल्सर २२० सीसी मोटरसाइकल भारतबाहेक अन्य ५० भन्दा धेरै देशहरुमा बिक्री भइरहेको हुँदा यो भारतमा बन्द भए पनि अन्तर्राष्ट्रिय बजारमा भने बिक्री खुला नै हुनेछ ।कम्पनीले उत्पादन गर्ने तर आफ्नै देशमा बिक्री बन्द गर्ने भएपछि पछिल्लो पटक उत्पादन भएका नयाँ मोटरसाइकलहरुमा कुनै सेक्युरिटी समस्या पो देखियो कि भन्ने त्रास बढ्दै गएको । भारतीय बजारमा बिक्री बन्द गर्न लागेको पल्सर २२० एफ सीसीको मोटरसाइकल अन्य देशमा निर्यात गर्ने कि नगर्ने भन्ने कम्पनीले समेत स्पष्ट खुलाएको छैन ।

भारतमा बिक्री बन्द हुने भएपछि नेपालमा समेत खरिद गर्न खोजिरहेका नयाँ प्रयोगकर्ताहरु झस्किएका छन् । भारतमा एक लाख ३४ हजार भारतीय रुपैयाँ पर्ने यो २२०एफ मोडलको मोटरसाइकल नेपालको आधिकारिक बिक्रेता हंसराज हुलासचन्दले करिब ३ लाख ६२ हजारमा बिक्री गर्दै आएको छ ।

‘आफ्नै देशमा उत्पादन भएको कुनै पनि सामान आफ्नै देशमा कुनै पनि राष्ट्रले बिक्री नगरी अन्य मुलुकमा मात्र पठाउँछ भने त्यहाँ केही रहस्य लुकेको हुनुपर्छ’, एक उपभोक्ताले भने, ‘यस्तो मोटरसाइकल अब नेपालीहरुले पनि प्रयोग गर्नुहुँदैन ।’ मोटरसाइकल उत्पादक कम्पनीले आफ्नो देशमा किन बिक्री बन्द गर्न लागेको हो भन्ने स्पष्ट जवाफ दिएको छैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया