Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसमाजवादी पार्टीका प्रमुख सचेतकले दुई चालकको तलब आफैं खर्च गर्छन्

समाजवादी पार्टीका प्रमुख सचेतकले दुई चालकको तलब आफैं खर्च गर्छन्


काठमाडौं, माघ २२
संघीय संसद्मा समाजवादी पार्टी नेपालका प्रमुख सचेतकले दुई जना चालकको तलब आफैँले बुझेर खर्च गरी आफ्नो गाडी चलाउन अवैध चालक राखेको खुलासा भएको छ । समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले आफूमाथि सुरक्षा चुनौती छ भनेर गृह मन्त्रालयमार्फत नेपाल प्रहरीबाट निजी सुरक्षा अधिकारी (पीएसओ) लिए पनि उनलाई गार्डको सट्टा गाडी चलाउने काममा लगाएका छन् ।

संघीय संसद् सचिवालयले दिएको बा.२झ १६९२ नम्बरको गाडी दुर्घटना भएपछि प्रमुख सचेतक अरगरियाको गाडी चालक नेपाल प्रहरीका हवल्दार रहेको खुलेको हो । गाडी दुर्घटना भएपछि अरगरियाले संसद् सचिवालयका महासचिवमार्फत अर्को गाडी व्यवस्था गर्न दबाब दिएका थिए । गाडी व्यवस्था गर्ने संसद्को शाखाले स्कोर्पियो गाडी उपलब्ध गराएको थियो ।

उक्त स्कोर्पियो गाडी राम्रो छैन भनेर चालकले फर्काउन भनेपछि प्रमुख सचेतक अरगरियाले अर्को गाडी व्यवस्था गर्न संसद् सचिवालयमा भनेका थिए । राम्रो कन्डिसनको गाडी किन हुँदैन भनेर फिर्ता गर्न लागे भनेर संसद् सचिवालयका कर्मचारीले खोजबिन गर्दा नेपाल प्रहरीको तर्फबाट सुरक्षा गार्डका रुपमा आएका हवल्दारले साना कार मात्र चलाउन सक्ने र जीप चलाउन नजानेको कारण गाडी स्टार्ट गरेर चलाउन खोज्नासाथ स्टार्ट बन्द हुने गरेको रहेछ ।

उक्त गाडी केही दिनअगाडि मात्र राष्ट्रियसभाका एक पदाधिकारीलाई पनि उपलब्ध गराइएको थियो । ती पदाधिकारीका चालकले राम्रोसँग चलाएर कुनै समस्या छैन भनेर बुझाएको गाडी अरगरियाको चालकले कन्डिसन ठीक छैन भनेर फिर्ता गरेपछि चालकको योग्यतामाथि संसद् सचिवालयका कर्मचारीले आशंका गरेका थिए ।

चालकले चलाउन नजानेको कारण गाडीको स्टार्ट बन्द भएपछि सचिवालयका कर्मचारीहरुले प्रमुख सचेतक अरगरियाको वास्तविक चालकको सोमबार दिउँसोदेखि नै खोजी गरेका थिए । स्कोर्पियो गाडी फिर्ता गरेपछि संसद् सचिवालयले अरगरियालाई सोमबार घर जानका लागि गाडी व्यवस्था गर्न सकेन ।

मंगलबार गाडी बनाउने ग्यारेजमा पुग्दा पनि संसद्का कर्मचारीले प्रमुख सचेतक अरगरियाको गाडीको वास्तविक चालक फेला पारेनन् । पीएसओ नै गाडी बनाउन पुगेका थिए । उनलाई सचिवालयका कर्मचारीले सोधखोज गर्दा अरु चालक नभएको र आफू नै चालक भएको बताएका थिए । सचिवालयका कर्मचारीले तिमीले गार्डको काम गर्ने कि गाडी चलाउने ? यो कुरा गृह मन्त्रालय हुँदै प्रहरीमा गयो भने के हुन्छ भनेर सोध्दा उनले ठूलाले लगाएपछि आफूले चालकको काम गरेको तर यो काम अवैध हो भन्ने आफूलाई थाहा नभएको बताएका थिए । स्रोतका अनुसार संसद्का कर्मचारीले उनलाई केही हजार रुपैयाँ पाउँदैमा आफ्नो जिम्मेवारीभन्दा बाहिरका काम गर्दा समस्या हुनेतर्फ सचेत गराएर फर्किएका थिए ।

केही नेताहरुले व्यक्तिगत सम्बन्ध र पहुँचको आधारमा सुरक्षा निकायबाट चालक नै भनेर ल्याएर प्रयोग गरे पनि बडीगार्डको रुपमा ल्याएर चालक बनाउने काम भने प्रमुख सचेतक अरगरियाले गरेका हुन् । उक्त गाडी कहाँ लगेर ठोक्काएको भन्नेबारे प्रमुख सचेतक अरगरिया र चालक प्रहरी हवल्दार दुवैले संसद् सचिवालयमा सही कुरा बताएका छैनन् ।

अरगरिया तत्कालीन संघीय समाजवादी फोरम नेपालको तर्फबाट धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । अरगरिया कानुनतः पीएसओ पाउने तहमा छैनन् । तर, उनले आफूमाथि सुरक्षा चुनौती छ भनेर पीएसओ लिएका हुन् । सांसदहरुले सुरक्षाको लागि माग गर्नासाथ गृहले सजिलै गार्ड उपलब्ध गराउने गरेको छ । अरगरियाले पनि त्यसैगरी गार्ड पाएका हुन् ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ अनुसार दलका प्रमुख सचेतकले प्रथम स्तरका दुई जना सवारी चालक पाउँछन् । त्यसको रकम सरकारले सिधै सम्बन्धित प्रमुख सचेतकको खातामा पठाइदिने गरेको छ । त्यस्ता चालकलाई प्रतिचालक २२ हजार दश रुपैयाँ तलबको व्यवस्था छ । त्यस्तै प्रतिमहिना सवारीसाधनका लागि इन्धन एक सय ५० लिटर र मोबिलको प्रत्येक तीन/तीन महिनामा पाँच लिटरका दरले पाउनेछन् । इन्धन र मोबिलको पैसा सरकारले नगद नै उपलब्ध गराउने गरेको छ । सांसदले प्रतिमहिना पारिश्रमिक ५५ हजार दुई सय ३० रुपैयाँ पाउने गरे पनि दलको प्रमुख सचेतकले ५७ हजार सात सय ८० रुपैयाँ पाउने कानुनी व्यवस्था छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया