Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रधानमन्त्री ओली एसियाली ‘राष्ट्रनिर्माता’ अवार्डबाट सम्मानित

प्रधानमन्त्री ओली एसियाली ‘राष्ट्रनिर्माता’ अवार्डबाट सम्मानित


काठमाडौं, माघ २६
प्रधानमन्त्री केपी शर्मा ओलीलाई एसियाली दूरद्रष्टा नेता तथा राष्ट्रनिर्माताको अवार्डबाट सम्मानित गरिएको छ । एसियाली व्यवस्थापन संस्थाहरुको संगठन (आमो)ले शुक्रबार राजधानीमा आयोजित एसियाली नेतृत्व सम्मान साँझ २०२० आयोजना गरी सो सम्मान प्रदान गरेको हो ।

संस्थाका सभापति राजिव कौलले प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई सो सम्मान प्रदान गरेका हुन् । सो अवसरमा आमोले एसिया क्षेत्रका उत्कृष्ट व्यवसायीक नेतृत्वलाई पनि सम्मानित गरेको छ । आमोले उत्कृष्ट व्यवसायी नेतृत्वको सम्मान भारतका आदित्य विरला व्यवस्थापन कर्पोरेशन प्रा.लि.का समूहको कार्यकारी अध्यक्ष तथा अखिल भारतीय व्यवस्थापन संघका पूर्व सभापति डी शिवकुमारलाई प्रदान गरेको छ । त्यस्तै श्रीलंकाका हाट राष्ट्रिय बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जोनाथन आयल्सलाई पनि कुशल व्यवसायी नेतृत्वको सम्मान दिइएको छ ।

त्यस्तै नेपालका आईएमई ग्रुपका सहसंस्थापक तथा अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पनि कुशल व्यावसायिक नेतृत्वको सम्मान दिइएको छ । राजधानीको होटल याक एण्ड यतिमा भएको अवार्ड कार्यक्रममा व्यावसायिक नेताहरुलाई प्रधानमन्त्री केपी ओलीले सम्मानित गरेका थिए । सम्मान वितरण समारोहलाई एसियाली दूरद्रष्टा तथा राष्ट्र निर्माता नेताको सम्मानबाट सम्मानित भएका प्रधानमन्त्री के.पी. शर्मा ओली, व्यावसायिक नेताको सम्मानित भएका नेपालका व्यवसायी चन्द्रप्रसाद ढकाल र भारतका डी शिवकुमारले पनि सम्बोधन गरेका थिए ।

आमो एसियाका राष्ट्रिय व्यवस्थापन संस्थाहरुको छाता संगठनको रुपमा रहेको छ । सन १९६० मा अष्ट्रेलियाको मेलबर्नमा भएको बैठकबाट यो क्षेत्रीय संस्था स्थापना गर्ने विचारको जन्म भएको थियो । सुरुमा व्यवस्थापन शिक्षाको विकास र विस्तारमा समर्पित हुने लक्ष्य राखेको यस संस्थाले समयक्रममा व्यवस्थापन शिक्षाको अलवा क्षेत्रीय बजार विकास र विस्तारमा पनि यसले ध्यान दिन थालेको छ ।

अहिले व्यवस्थापन संस्थाको विकास र व्यवस्थापकहरुको क्षमता अभिवृद्धिमा पनि केन्द्रित रहेको यस संस्थामा अष्ट्रेलिया, न्यूजिल्याण्ड, फिलिपिन्स, कोरिया, मकाउ, मलेसिया, हंगकंग, श्रीलंका, भारत, नेपाल र पाकिस्तानका व्यवस्थापन संघहरु सदस्य रहेका छन् । नेपालका व्यवस्थापकहरुको छाता संंगठनको रुपमा रहेको नेपाल व्यवस्थापन संघ यो संस्थाको सक्रिय सदस्य रहेको छ । नेपाल व्यवस्थापन संघको ३९औं राष्ट्रिय सम्मेलन तथा बार्षिक साधारण सभाको अवसर पारेर आमोले यो अवार्ड साँझको आयोजना गरेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया