Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबजेटको लक्ष्य पूरा नहुने निश्चित

बजेटको लक्ष्य पूरा नहुने निश्चित


प्रवीण राउत
काठमाडौं, फागुन १
सरकारले अघिल्लो वर्षझैं यस वर्ष पनि शतप्रतिशत बजेट खर्च गर्न नसक्ने आंकलन गरेको छ । सरकारले चालू आर्थिक वर्ष २०७६/०७७ को लागि विनियोजित बजेटमध्ये ९० दशमलव चार प्रतिशत मात्र खर्च हुने बताएको छ । अर्थ मन्त्रालयले बुधबार मन्त्रालयमा चालू आवको अर्धवार्षिक समीक्षा कार्यक्रम गर्दै सो कुरा जानकारी गराएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आवमा कुल विनियोजितमध्ये १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख बजेट खर्च हुने अनुमान गरेको बताए ।

‘हामीले चालू आवमा विनियोजन गरेको बजेटमध्ये झण्डै १४ खर्ब खर्च हुनेछ’, उनले भने । अर्थमन्त्रीका अनुसार चालू आवमा ९० दशमलव ४ प्रतिशत मात्रै खर्च हुने अनुमान छ । सरकारले चालू आवको लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो ।

मन्त्रालयले गरेको अर्धवार्षिक समीक्षामा चालू आवमा १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रुपैयाँमध्ये चालूतर्फ ९ खर्ब ४ अर्ब ४६ करोड आठ लाख, पुँजीगतर्फ तीन खर्ब २६ अर्ब ८१ करोड २७ लाख र वित्तीय व्यवस्थातर्फ एक खर्ब ५४ अर्ब ६९ करोड एक लाख खर्च हुने अनुमान गरेको छ । यस्तै राजस्व संकलनको संशोधित अनुमान सुरु अनुमानको ९५ दशमलव ६ प्रतिशत रहेको छ । जसले गर्दा राजस्व संकलन समेत खुम्चिने देखिएको छ ।

चालू आवको अन्त्यसम्ममा सरकारको स्रोत (राजस्व र आन्तरिक ऋण)बाट ११ खर्ब ३२ अर्ब ५० करोड, वैदेशिक अनुदानतर्फ ४३ अर्ब ५५ करोड ४६ लाख र वैदेशिक ऋणतर्फ दुई खर्ब नौ अर्ब ९० करोड ९० लाख परिचालन हुने संशोधित अनुमान रहेको छ । कर्मचारीहरुको तलब वृद्धि, सामाजिक सुरक्षा भत्तामा मासिक एक हजार वृद्धि, अनुदान रकम हस्तान्तरण, कृषि अनुदानलगायतका कार्यक्रमले चालू खर्च संशोधित अनुमानअनुसार हुने मन्त्रालयले जनाएको छ ।

छ महिनामा २७ प्रतिशत खर्च : छ महिनामा कुल विनियोजित बजेटमध्ये २७ दशमलव छ प्रतिशत अर्थात् चार खर्ब २२ अर्ब ५५ करोड छ लाख रुपैयाँ खर्च भएको मन्त्री खतिवडाले बताए । चालू खर्चतर्फ तीन खर्ब नौ अर्ब ६० करोड ६८ लाख अर्थात् विनियोजनको ३२ दशमलव चार प्रतिशत, पुँजीगत र वित्तीय व्यवस्थातर्फ विनियोजनको क्रमशः ६२ अर्ब ७६ करोड ६७ लाख अर्थात् १५ दशमलव चार प्रतिशत र ५० अर्ब १७ करोड ७० लाख अर्थात् २९ दशमलव नौ प्रतिशत खर्च भएको छ ।

सरकारको स्रोततर्फको गत आवको वर्षको सोही अवधिभन्दा छ प्रतिशतले खर्च बढेको छ । वैदेशिक अनुदानबाट व्यहोर्ने खर्च गत वर्षभन्दा ८४ प्रतिशतले खर्च बढेको छ भने वैदेशिक ऋणतर्फ गत वर्षको तुलनामा ७९ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । चालू आवको माघ २८ गतेसम्म कुल खर्च चार खर्ब ८२ अर्ब ८१ करोड ४२ लाख भएको छ । यो विनियोजनको ३१ दशमलव पाँच प्रतिशत हो । माघ महिनाको अन्त्यसम्मा सोझै भुक्तानी हुने खर्चसहित ३२ दशमलव पाँच प्रतिशत पुग्ने अनुमान छ । समीक्षा अवधिमा केही क्षेत्रहरुमा अघिल्लो वर्षको तुलनामा कम खर्च भएको छ । यसअन्तर्गत पुनर्निर्माण, प्रदेश तथा स्थानीय तहमा रकम हस्तान्तरण, अघिल्लो वर्षको बजेटबाट खर्चजस्ता कारणहरु रहेको मन्त्रालयको भनाइ छ ।

समीक्षा अवधिमा केही ठूला आयोजना र कार्यक्रमहरूको कार्यान्वयन विधिको निर्णय, कार्यविधि तर्जुमा र रकम बाँडफाँट नभएकोले अपेक्षित खर्च हुनसकेको छैन । सार्वजनिक खरिद प्रणाली र निर्माण व्यवसायीका सन्दर्भमा देखिएका समस्या हल हुन समय लागेका कारण केही समयसम्म आयोजना कार्यान्वयनमा ढिलाइ भएकोले अपेक्षाकृत खर्च हुनसकेको देखिँदैन ।

खाद्यवस्तुको मूल्यवृद्धि : उक्त अवधिमा मुद्रास्फीति तथा खाद्यवस्तुको मूल्य बढेको मन्त्रालयले जानकारी दिएको छ । आवको पहिलो छ महिनासम्मको औसत मुद्रास्फीति अघिल्लो वर्षको चार दशमलव दुई प्रतिशतको तुलनामा केही उच्च रही छ दशमलव चार प्रतिशत पुगेको छ। केही खाद्य वस्तुको मूल्यवृद्धि उच्च भएकाले समग्र मूल्यस्थितिमा चाप परेको छ ।

कुल वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६ दशमलव एक प्रतिशतले वृद्धि भई ५७ अर्ब २८ करोड पुगेको छ। कुल वस्तु आयात ४ प्रतिशतले घटेर ६ खर्ब ९४ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। कुल व्यापारघाटा ६.१ प्रतिशतले घटी ६ खर्ब ३७ अर्ब ४१ करोड पुगेको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव ९ प्रतिशतले वृद्धि भई चार खर्ब ४७ अर्ब ४१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३० दशमलव दुई प्रतिशतले बढेको थियो ।

यस अवधिमा चालू खाता घाटा अघिल्लो वर्षको तुलनामा झण्डै आधा मात्र रही ८२ अर्ब १ करोडमा सीमित रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ५२ अर्ब १६ करोडले घाटामा रहेको थियो । यस अवधिमा शोधनान्तर स्थिति २६ अर्ब ६५ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६३ अर्ब ६८ करोडले घाटामा रहेको थियो।

यस अवधिमा विदेशी विनिमय सञ्चिति ५७ अर्बले वृद्धि भई १० खर्ब ९६ अर्ब पुगेको छ। विदेशी विनिमय सञ्चितिको विद्यमान स्तर ९.६ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिन्छ। बैंकिङ क्षेत्रको निक्षेप परिचालन र निजी क्षेत्रमा जाने कर्जा प्रवाह दुवै अघिल्लो वर्षको तुलनामा वृद्धि पनि पहिलो छ महिनामा दुवै वृद्धिदर कम रहेका छन् । ब्याजदरमा स्थिरता आएसँगै लगानीको लागि अनुकूलता थपिएको सरकारी भनाइ छ । नेप्से सूचकांक गत वर्षको यही अवधिको तुलनामा ८५ विन्दुले वृद्धि भई १२६३.४ विन्दुमा पुगेको छ ।

राष्ट्रिय गौरवका आयोजनामा १९ प्रतिशत खर्च यस्तै चालू आवको छ महिनामा राष्ट्रिय गौरवका आयोजनाहरूमा एक खर्ब दुई अर्ब आठ करोड विनियोजन गरिएकोमा २० अर्ब ४१ करोड अर्थात् १९ प्रतिशत मात्रै खर्च भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना र मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने क्रममा रहेका छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, मध्यपहाडी लोकमार्ग र उत्तरदक्षिण लोकमार्गको प्रगति उत्साहजनक रहेको अर्थमन्त्रीको दाबी छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया