Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२७ वाणिज्य बैंकले छ महिनामा कमाए ३३ अर्ब

२७ वाणिज्य बैंकले छ महिनामा कमाए ३३ अर्ब


सुरेश राउत
काठमाडौं, फागुन २
सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको छ महिनाको अवधिमा ३३ अर्ब नौ करोड ४७ लाख ३६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । बैंकहरुले आर्जन गरेको यो मुनाफा गत आवको सोही अवधिको तुलनामा तीन अर्ब रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा भने २८ वटा बैंकहरुले ३० अर्ब छ करोड १७ लाख ३३ हजार रुपैयाँ बराबरको खुद मुनाफा आर्जन गरेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले त्रैमासिक सकिएको पहिलो एक महिनाभित्र सकिएको त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसक्नुपर्छ । सोही आधारमा यही माघ २९ गते बुधबारसम्म २७ वटै बैंकहरुले वित्तीय विवरण सार्वजनिक गरेकोमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको नाफा सबैभन्दा उच्च देखिएको छ । सो बैंकले चालू आवको दोस्रो त्रैमासिकमा दुई अर्ब २० करोड ९४ लाख ८२ हजार तीन सय ६५ रुपैयाँ खुद मुनाफा कमाएको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने एक अर्ब नौ करोड ३० लाख ९६ हजार आठ सय ३० रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुई अर्ब ४० करोड ९९ लाख ६१ हजार नौ सय ९१ रुपैयाँ रहेको थियो । खुद मुनाफा आर्जनमा नबिल बैंक भने दोस्रो स्थानमा परेको छ । नबिलले चालू आवको पछिल्लो अवधिमा दुई अर्ब चार करोड १८ लाख ६१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा एक अर्ब ४५ करोड ९१ लाख ३७ हजार रुपैयाँ रहेको नबिलले गत आवको सोही अवधिमा दुई अर्ब १७ करोड ६८ लाख ६२ हजार रुपैयाँ रहेको थियो । खुद मुनाफा आर्जनमा पहिलो र दोस्रो स्थानमा परेको दुवै बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा केही घटेको देखिएको भएपनि यी अन्य बैंकहरुको तुलनामा यी बैंकहरुको नाफा उच्च देखिएको हो ।

एनआईसी एसिया बैंक भने खुद मुनाफा आर्जनमा तेस्रो स्थानमा परेको छ । एनआईसी एसियाले दुईवटा सरकारी बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकलाई समेत खुद मुनाफा आर्जनमा उछिनेको छ । एनआईसी एसियाले चालू आवको दोस्रो त्रैमासिकमा दुई अर्ब एक करोड ६२ लाख २५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो मुनाफा बैंकको गत आवको सोही अवधिको तुलनामा झण्डै ५० करोड रुपैयाँले बढी हो । गत आवको दोस्रो त्रैमासिकमा एनआईसी एसियाको खुद मुनाफा एक अर्ब ५१ करोड १४ लाख ५८ हजार रुपैयाँ रहेको थियो । खुद मुनाफा आर्जनमा हिमालयन बैंक भने तेस्रो स्थानमा परेको छ ।

हिमालयनले चालू आवको पछिल्लो अवधिमा एक अर्ब ७४ करोड २४ लाख पाँच हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा हिमालयनको यस्तो नाफा एक अर्ब ३६ करोड ७० लाख ४३ हजार रुपैयाँ रहेको छ । ग्लोवल आईएमई बैंकले पनि चालू आवको पछिल्लो अवधिमा एक अर्ब ६८ करोड ५९ लाख सात हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा ग्लोवलको यस्तो नाफा एक अर्ब २२ करोड ९३ लाख ८६ हजार रुपैयाँ रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक भने खुद मुनाफा आर्जनमा पछाडि धकेलिएको छ । बैंकले चालू आवको दोस्रो त्रैमासिकमा एक अर्ब ६६ करोड ६१ लाख १२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंकको यस्तो नाफा एक अर्ब ९७ करोड ५५ लाख ७२ हजार रुपैैयाँ रहेको थियो । यी बाहेक एनएमबी बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, प्राइम कमर्सियल बैंक, स्टान्र्डड चार्टड बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक र प्रभु बैंकको नाफा पनि एक अर्ब रुपैयाँ भन्दा बढी देखिएको छ ।

यी बाहेकका मेगा बैंक, सनराईज बैंक, लक्ष्मी बैंक, बैंक अफ काठमाडौ, माछापुच्छ्रे बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, नेपाल क्रेडिट एण्ड कर्मस बैंक, सेञ्चुरी कमर्सियल बैंक र सिभिल बैंकको नाफा भने एक अर्ब रुपैयाँ भन्दा कम रहेको छ । सो मध्ये पनि सबैभन्दा कमजोर नाफा भने सिभिल बैंकको रहेको छ । सिभिलले पछिल्लो समय आफ्नो वित्तीय अवस्था सवल बनाउँदै लगेको भएपनि शाखा संख्या बढ्दा बैंकको नाफा घटेको देखिएको छ ।

गत आवको दोस्रो त्रैमासिकमा ३७ करोड नौ लाख ९७ हजार रुपैयाँ खुद मुनाफा कमाएको सिभिलको व्यवस्थापन खर्च बढेकाकारण चालू आवको दोस्रो त्रैमासिकमा नाफा घटेर ३१ करोड ६२ लाख ४७ हजार रुपैयाँमा झरेको छ । सिभिलले आर्जन गरेको यो मुनाफा वाणिज्य बैंकहरु मध्येमा सबैभन्दा कम हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया