Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकमानसिंह लामाद्वारा ठगीको कारबाही रोक्न अनेक हत्कण्डा प्रयोग

कमानसिंह लामाद्वारा ठगीको कारबाही रोक्न अनेक हत्कण्डा प्रयोग


काठमाडौं, फागुन ५
आफूलाई समाजको अगुवा ठान्ने टाठाबाठा र सुकिलामुकिला व्यक्तिले सर्वसाधारण निमुखा र पहुँचविहीन व्यक्तिहरुलाई कसरी थिचोमिचो, शोषण र ठगी गर्छन् भन्ने उदाहरण बनेका छन्– नुवाकोटका पूर्वपञ्च कमानसिंह लामा । लामाले नुवाकोटकै धनमाया तामाङलाई पूर्वयुवराज पारसको भीभीआईपी ट्रिपमा बेलायत लगेर उनको भान्जोको होटलमा काम लगाइदिने मौखिक प्रलोभन देखाई नौ लाख ५२ हजार रुपैयाँ लिएर बेलायत पनि नलगेको र रकम पनि फिर्ता नगरेपछि पीडित धनमायाले बाउन्स गरेको चेक र कागजात देखाएपछि आर्थिक दैनिकले गत पुस २९ गते बेलायत पठाउने भन्दै राप्रपा नेता लामाद्वारा लाखौं ठगी भनी त्यससम्बन्धी समाचार प्रकाशित गरेको थियो ।

समाचार प्राप्त भएपछि त्यस सम्बन्धमा प्रतिक्रिया लिन आर्थिक प्रतिनिधिले सम्पर्क गर्दा लामाले त्यो समाचार छापेमा कार्यालय नै उडाइदिने धम्की दिएका थिए । समाचार छापिएपछि गत माघ ५ गते उनले ममता स्थापितमार्फत ललितपुर जिल्ला अदालतमा लिखित बेइज्जती मुद्दा दर्ता गरेका छन् र अदालतमा दर्ता गराएको मुद्दाको प्रतिलगत्तै महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंमा आफैंले बुझाएका छन् । २०७६ माघ ७ गते नै पीडित धनमाया तामाङले टेकुमै कमानसिंह लामाविरुद्ध उनले दिएको चेक बाउन्सको उजुरी दिएकी छिन् ।

लामाले ललितपुर जिल्ला अदालतमा चाहना पब्लिकेशन प्रा.लि., आर्थिक दैनिकका सम्पादक प्रह्लाद रिजाल, धनमाया तामाङ र कामी लामाविरुद्ध लिखित बेइज्जती मुद्दा दर्ता गराएका हुन् । अदालतले उक्त मुद्दा फागुन २ गते पत्रिकाको कार्यालयमा बुझाएको छ तर लामाले अदालतमा मुद्दा दर्ता गरेलगत्तै टेकुमा लगेर प्रहरीलाई बुझाएर अदालतमा रहेको विवादित विषय भनी चेक बाउन्सको उजुरी कार्यान्वयन नगर्ने वातावरण सिर्जना गरेको देखिन्छ ।

आफूलाई समाजसेवी भन्न रुचाउने तर ठगी गरेको भनी उजुरी परेका लामाले फिरादपत्रमा नै धनमाया तामाङसँग रकम लिएको स्वीकारेका छन् र उक्त रकम आफूलाई नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलको काठमाडौं महानगर समितिको सचिव भनेर परिचय दिँदै हिँड्ने तर ठगीको आरोप लागेका पूर्वपञ्च कमानसिंह लामाको सहयोगी आशीष थापामार्फत धनमायालाई चुक्ता गरिसकेको कुरा लामाले उल्लेख गरेका छन् । लामाले माघ ११ गते पत्रकार सम्मेलन गरी आफू अदालत गएको जानकारी दिएका थिए । पत्रकार सम्मेलनमा विभिन्न मितिमा धनमायाले रकम बुझिलिएको नक्कली कागजपत्र तयार पारी वितरण गरिएको थियो ।

चेक बाउन्सको पर्सिपल्ट अर्थात् माघ ९ गतेको अंकमा आर्थिक दैनिकले ठगी गरेको भन्दै राप्रपा नेताविरुद्ध उजुरी परेको भनी समाचार छापेको थियो । पत्रकार सम्मेलनमा त्यस सम्बन्धमा उनी मौन रहेका थिए । ठगीको आरोपी कमानसिंहले गरेको पत्रकार सम्मेलनको खण्डन गर्न धनमायाले माघ १४ गते पत्रकार सम्मेलन गरेकी थिइन् र कमानसिंहले पारसको भान्जाको होटलमा लण्डनमा काम लगाइदिन्छु भनेर आफूसँग ९ लाख ५२ हजार रुपैयाँ लिएर खाएको तर अहिले फोन पनि नउठाउने गरेको कुरा रुँदै बताएकी थिइन् । त्यससम्बन्धी समाचार आर्थिक दैनिकले माघ १६ गतेको अंकमा दिएको छ ।

अदालतमा रहेको विवादित विषय भनी लामाले टेकु प्रहरीलाई प्रभावमा पारेर चेक बाउन्सको केसमा कारबाही अघि बढाउन रोकेका थिए । तर प्रहरीले चेक बाउन्सको उजुरी र पत्रिकाविरुद्धको लिखित बेइज्जतीसम्बन्धी उजुरीको खासै सम्बन्ध नभएकाले कारबाही अघि बढाउन लागेको संकेत पाएपछि ठगीको आरोपी लामाले आफ्ना सहयोगी नभएका आशीष थापालाई अघि सारेर पीडित धनमायासँग गत माघ २९ गते अर्को सम्झौता गरेका छन् र धनमायासँग आफूले नौ लाख ५२ हजार रुपैयाँ लिएको स्वीकारेका छन् र आफैंले उनीविरुद्ध कुनै लिनु दिनु बाँकी नरहेको भनी ललितपुर जिल्ला अदालतमा गत माघ ५ गते हालेको मुद्दाको खण्डन गरेका छन् । दिनुपर्ने बाँकी सबै रकम सम्झौता भएको मितिले २१ दिनभित्र दिने लिखित कबुल गर्दै ठगीका आरोपी कमानसिंहका सहयोगी आशीष थापाले पीडित धनमायालाई २ लाख ५९ हजार रुपैयाँ बुझाएका छन् ।

फागुन ३ गते एक सञ्चार कर्मीले आर्थिक दैनिकका प्रतिनिधिलाई ठगिका आरोपी कमानसिंह लामा र उनका सहयोगी आशीष थापासँग संयोगपूर्ण भेट गराइदिएका थिए र उक्त भेटमा लामाले राष्ट्रिय अनुसन्धान विभागका कृष्ण भाइलाई कारबाहीबाट जोगाउन आफूले धनमायालाई उक्त चेक दिएको र धनमायाले दुरुपयोग गरेको बताएका थिए भने आफ्नै सहयोगी आशीष थापालाई के भनेर २१ दिनमा सबै रकम बुझाउँछु भनेर सम्झौता गर्न लगाएको त भनी प्रश्न गर्दा उनले त्यो सम्झौताको आफू कुनै सरोकार नरहेको बताएका थिए । उनले समय आएपछि आफूले त्यसलाई खारेज गराउने बताएका थिए । सम्बन्धित व्यक्तिको असहमतिमा अर्काको नाममा यसरी लेनदेनको सम्झौता कसरी गर्नुभयो भनी प्रश्न गर्दा आफूलाई तरुण दलको महानगर समितिको सचिव दाबी गर्ने तर ठगीको आरोपी कमानसिंह लामाका सहयोगी आशीष थापाले कुनै जवाफ दिएनन् ।

थापाले त्यस दिन धनमायालाई तीनवटा पत्रमा हस्ताक्षर गराएका थिए । एउटा पत्र थापाले लिए, एउटा धनमायालाई दिए र अर्को एउटा पत्र महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा बुझाए । सो पत्र बुझाएपछि प्रहरीले तत्काल कमानसिंह लामाविरुद्धको ठगीको उजुरीमा कारबाही अघि बढाउने छैन । कमसेकम फागुन २० सम्म कुर्नुपर्नेछ । कमानसिंह लामाले प्रहरीलाई यसैगरी छक्याएर उम्कन आशीष थापालाई अघि सारेर चालबाजी गर्दै आएको हो र थापाले गरेको सहमति कमानसिंहले नमान्ने बित्तिक्कै धनमायाविरुद्ध आशीष थापाले लेनदेनको दाबी गरेर केसलाई जटिल बनाएर निमुखा, गरिब माथि समाजका टाठाबाठा र छट्टुहरुले शोषण, दमन र अन्याय गर्ने परम्परालाई निरन्तरता दिइरहनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया