Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररोयल क्यासिनोका मजदुरको बिचल्ली

रोयल क्यासिनोका मजदुरको बिचल्ली


काठमाडौं, फागुन ११
होटल याक एण्ड यतिमा गिल्ट इन्टभेष्टमेन्ट प्रा.लि.ले सञ्चालन गरेको रोयल क्यासिनोका ५ सय ५१ जना मजदुरले पनि होटल अन्नपूर्णमा सञ्चालित अन्ना क्यासिनोका ९ सय २२ जना कामदारकै नियति व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ । गत बिहीबार प्रहरीले हस्तक्षेप गरेर सञ्चालन गर्न नदिएपछि रोयल क्यासिनो बन्द भएको छ । क्यासिनो सञ्चालन रोकिए पनि मजदुरले चाहिँ त्यही मेस चलाएर खाना खाने गरेका छन् । तर क्यासिनो बन्द भए पनि मजदुरलाई दिइनुपर्ने तलब भत्ता, सञ्चयकोषको रकम उपलब्ध गराइएको छैन । गिल्ट इन्भेष्टमेन्ट प्रालिले होटल याक एण्ड यतिसँग क्यासिनो सञ्चालन गर्न घर भाडामा लिएको अवधि यही फेब्रुअरीको गत ६ तारिखदेखि सकिएको हो । तर पनि कसैले हस्तक्षेप नगरेका कारण गत बिहीबारसम्म क्यासिनो चलिरहेको थियो ।

रोयल क्यासिनोमा स्थायी ३ सय ३९ जना र अस्थायी २ सय १२ जना गरी ५ सय ५१ जना मजदुर रहेका छन् । क्यासिनोले उनीहरुको तीन महिनादेखिको तलब दिएको छैन । उनीहरुले पाउनुपर्ने तलब मात्रै झण्डै ४ करोड ५० लाख रुपैयाँ रहेको छ । क्यासिनोका ३ सय ३९ जना स्थायी कर्मचारीको ७६ महिनादेखिको सञ्चयकोषको रकम जम्मा गरिदिएको छैन । सो रकम १० करोड रुपैयाँभन्दा बढी छ । उनीहरुले पाउने वान डे लिभ र अन्य विदाबापत पाउनुपर्ने रकम पनि ३० लाख रुपैयाँभन्दा बढी छ ।

२०७५ भदौमा सुरेन्द्रबहादुर सिंहले निकै चालखीपूर्वक सोही क्यासिनोमा कार्यरत सुपरभाइजर जयन्ति थापालाई २५ करोड चुक्ता पुँजी भएको गिल्ट इन्भेष्टमेन्ट प्रा.लि. बिक्री गरेका थिए । थापाले क्यासिनोमा स्रोत नखुलेको कालोधन लगानी गरेको उजुरी परेपछि त्यसमा सम्पत्ति शुद्धीकरण विभागले थापा माथि छानबिन गरिरहेको छ । लगानीको स्रोत देखाउन नसकेपछि उनले भारतीय नक्कली मुद्राको कारोबारमा परेका नेपाली मूलका अमेरिकी नागरिक सुनिल जंग रायमाझीलाई गत वैशाख १७ गते क्यासिनो सञ्चालन गर्न जिम्मा लगाएपछि त्यहाँ फर्किएकी छैनन् । तर सम्पत्ति शुद्धीकरण विभागमा चाहिँ पटक–पटक बयान दिन र तारिख लिन धाइरहेकी छिन् ।

सुरेन्द्र बहादुर सिंह र राजबहादुर सिंहले सञ्चालन गरेकै बेलादेखि रोयल क्यासिनोले करोडौं रुपैयाँ सरकारी राजस्व तिरेको छैन । १५ करोड रुपैयाँभन्दा बढी रकम कुमारी चोक तथा केन्द्रीय तहसील कार्यालयले होटल याक एण्ड यतिका मालिक राधेश्याम सर्राफको नाममा बक्यौता बाँधेर राखेको छ । पर्यटन विभागले गत माघ ३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई रोयल्टी विवरण सम्बन्धमा पठाएको पत्रमा गिल्ट इन्भेष्टमेन्ट प्रालिले १९ करोड ३३ लाख ५८ हजार ७ सय ८९ रुपैयाँ रोयल्टी बुझाउन बाँकी रहेको देखाइएको छ ।

यस हिसाबले पनि गिल्ट इन्भेष्टमेृन्ट प्रा.लि.ले ५० करोड रुपैयाँभन्दा बढी बक्यौता तिर्नुपर्ने देखिएको छ र त्यसमा कामदारले तलबभत्ता सञ्चयकोष र विदा सुविधाबापत मात्रै १५ करोड रुपैयाँभन्दा बढी रकम पाउनुपर्ने देखिएको छ । तर क्यासिनो सञ्चालनको अनुमति सकिनु अघिदेखि नै सञ्चालक जयन्ती थापा क्यासिनोमा आउन छाडेकी छन् । होटल व्यवस्थापनले प्रहरी लगाएर क्यासिनो बन्द गराएर कालोधनका कारोबारी बाबा भनिने होटल मल्लमा क्यासिनो बेल्लिज चलाइरहेका ज्ञानेन्द्र श्रेष्ठलाई क्यासिनो सञ्चालन गर्न लगाउने तयारी गरिरहेको छ र ज्ञानेन्द्र श्रेष्ठको तर्फबाट रोयल क्यासिनोका मजदुर र प्रतिनिधहिरुसँग बलराम सापकोटाले मेस सञ्चालन गरेर बसेका मजदुरलाई ठाउँ छाडिदिन आग्रह गरेको थाहा भएको छ ।

करोडौं रुपैयाँ लिन बाँकी भएका मजदुरलाई उनले एक डेढ लाख रुपैयाँ लिएर विदा हुन वा नयाँ प्रक्रियामा काम गर्न आग्रह गरेको एक मजदुरले आर्थिक प्रतिनिधिलाई बताएको छ । सरकारी बक्यौता सरकारले चाहेमा जे जसरी पनि उठाउन सक्नेछ तर रोयल क्यासिनोका ५ सय ५१ जना कामदार मजदुरले चाहिँ काम गरेको समयको बाँकी रकम पनि नपाउने अवस्था सिर्जना हुँदै आएको छ । यस्तै हुँदा अन्ना क्यासिनोका ९ सय २२ जना मजदुरले लगभग ४२ करोड रुपैयाँ पाएका छैनन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया