Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारश्रम सम्झौता कार्यान्वयन गर्न नेपाल र मौरिससबीच पहिलो बैठक

श्रम सम्झौता कार्यान्वयन गर्न नेपाल र मौरिससबीच पहिलो बैठक


काठमाण्डौँ,फागुन १५

श्रम सम्झौता कार्यान्वयन गर्न नेपाल र मौरिससबीच आज बिहीबार पहिलो उच्चस्तरीय वार्ता हुने भएको छ । नेपालबाट श्रममन्त्री रामेश्वर राय यादव र मौरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालिममन्त्री सुदेश एस क्यालीचर्नबीच उच्चस्तरीय भेटवार्ता हुनलागेको हो ।वार्तामा श्रम सम्झौतालाई कार्यान्वयनमा ल्याउन मौरिसस सरकारलाई सहमत बनाउन नेपालले जोड दिने मन्त्रीका प्रेस संयोजक विजय यादवले आर्थिक दैनिकलाई बताए । बैठकले श्रम सम्झौता कार्यान्वयनसँगै मौरिससको रोजगारी छिटोभन्दा छिटो खुल्ला गर्नेबारे कुरा राख्नेछ । वार्तामा क्षेत्रगत रोजगारी, कामदारको क्षमता, योग्यतालगायतमा कुराकानी हुने मन्त्रालयका प्रवक्ता एवं सहसचिव सुमन घिमिरेले बताए । ‘बैठकमा छनोट प्रक्रिया, पारिश्रमिक विषयमा समेत छलफल हुनेछ’, उनले भने, ‘छलफलसँगै मौरिसस रोजगारी खुल्ला हुने हाम्रो अपेक्षा छ ।’

बैठकमा नेपाली श्रमिकलाई मौरिससको नागरिकको न्यूनतम ज्यालाभन्दा कम नहुने गरी तलब सुविधा उपलब्ध गराउनुपर्ने तथा थप समय काम गरेको खण्डमा थप सेवा सुविधा प्रदान गर्नुपर्नेलगायतबारे छलफल हुनेछ ।
तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले श्रम सम्झौता गरेको करिब नौ महिनापछि मौरिसससँग पहिलो बैठक बस्न लागेको हो । गत जेठमा दुई देशबीच श्रम सम्झौता भएको थियो । उनले दुई मन्त्रीबीचको उच्चस्तरीय बैठकसँगै संयुक्त कार्यदलको समेत बैठक बस्ने बताए । बैठकका लागि मन्त्री यादवका साथै मन्त्रालयका सचिव विनोद केसीको अध्यक्षतामा सात सदस्यीय टोली मंगलबार राति मौरिसस पुगेको थियो । वार्ता टोलीमा श्रम, परराष्ट्र, मौरिससस्थित नेपाली नियोगका पदाधिकारी छन् । सम्झौताअनुरुप नेपाली कामदार मौरिसस जाँदा कुनै शुल्क तिर्नुपर्नेछैन । नेपाली कामदार जाँदा लाग्ने सबै खर्च रोजगारदाताले व्यहोर्नुपर्नेछ । कामदारको छनोट तथा भर्नामा लाग्ने सबै शुल्क रोजगारदाताले व्यहोर्नुपर्नेछ ।

बैठकमा मौरिससको लागत खर्च र न्यूनतम पारिश्रमिकबारे छलफल हुनेछ । मौरिससमा उत्पादनमूलक, होटल, अतिथि सत्कार, सुरक्षालगायतका क्षेत्रमा नेपाली कामदारको माग छ । मौरिसस जान नेपाली कामदारहरु मेनपावरको भर पर्नुपर्छ । मौरिससका रोजगारदाता र नेपालका रोजगार व्यवसायीबीचको प्रत्यक्ष समन्वयमा कामदारहरु मौरिसस जान सक्नेछन् ।मौरिससको टुँगो लागेसँगै मन्त्री यादव जापान रोजगारी खुलाउनेतर्फ लाग्ने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया