Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रिय आयोजना बैंकमा ३ सय २६ आयोजना आगामी आवदेखि कार्यान्वयनमा आउने

राष्ट्रिय आयोजना बैंकमा ३ सय २६ आयोजना आगामी आवदेखि कार्यान्वयनमा आउने


काठमाण्डौँ,फागुन १६

राष्ट्रिय आयोजना बैंकमा हाल ३ सय २६ वटा आयोजना प्रारम्भिक छनोटमा परेका छन् । बैंकमा हालसम्म राष्ट्रिय गौरवका आयोजना, पहिलो र दोस्रो प्राथमिकताका आयोजना गरी कुल ३ सय २६ वटा आयोजना छनोटमा परेको राष्ट्रिय योजना आयोगले जानकारी दिएको छ । आयोगका अनुसार राष्ट्रिय गौरवको आयोजना २२ वटा, पहिलो प्राथमिकताका आयोजना २ सय ३५ र दोस्रो प्राथमिकताका ६९ वटा गरी कुल ३ सय २६ वटा आयोजनाहरु बैंकमा परेका छन् । आयोगले आयोजना पेश गर्दा आयोजनाको उद्देश्य, लक्ष्य, प्रतिफल, दिगो विकास लक्ष्य, क्षेत्र, योजनाको रणनीतिलगायतको विषयवस्तु समावेश गरी निश्चित ढाँचामा पेश गर्नुपर्ने बताउँदै आएको छ । आयोगले नै निर्धारण गरेको ढाँचाअनुरुप विभिन्न मन्त्रालय र अधिकारीहरुले आयोजना पेश गर्नुपर्ने हुन्छ । आयोगका सह–सचिव बिजु कुमार श्रेष्ठले हाल बैंक अनौपचारिक रुपमा कार्यान्वयनमा गएको बताए । आयोजना बैंकको पूर्ण कार्यान्वयन हुन लामो समय लाग्ने बताँउदै उनले भने, ‘हालका लागि भने कसरी अघि बढ्ने भन्ने विषयमा अध्ययन अनुसन्धान भइरहेको छ ।’ आयोगले आगामी आर्थिक वर्ष (२०७७÷७८) देखि बैंकमा भएको आयोजनाहरु कार्यान्वयनका लागि जाने जनाएको छ ।

बैंकले आयोजना सञ्चालनका लागि अनुमानित लागत, निर्माण अवधि, जग्गाप्राप्ति, विवाद उत्पन्न हुनसक्ने अवस्था र तिनको समाधान, आयोजना सञ्चालनबाट प्राप्त हुनसक्ने सम्भावित प्रतिफल जस्ता विषयहरुमा विस्तृत सम्भाव्यता अध्ययन पूरा गरेर यसकै निष्कर्षका आधारमा बैंकमा राखिने परियोजनाको छनौट गर्ने गर्दछ । यस्तै आयोगले बैंकको कामलाई अघि बढाउन संघ, प्रदेश र स्थानीय तहमा छलफल अघि बढाउने तयारी गरेको छ । उनले संघ र प्रदेशका आयोजना प्रमुखहरुसँग छलफल तथा अभिमुखीकरण तालिमलगायत सञ्चालन गरिने तयारी समेत गरेको बताए । माघ २६ गते राष्ट्रिय विकास समस्या समाधान समितिको ४७औं बैठकमा प्रधानमन्त्रीले सोसम्बन्धी सूचना प्रणालीको शुभारम्भ गरी बैंक सञ्चालनको लागि अघि बढेको जानकारी दिएका थिए । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा ७ मा बैंकसम्बन्धी व्यवस्था गरिएको छ । दफा ७ मा स्रोत अनुमान समितिबाट निर्धारित स्रोत बजेट तर्जुमाको लागि बजेट, सीमा, मध्यमकालीन खर्च संरचनाको खाका समेत उल्लेख गरी बजेट तर्जुमासम्बन्धी मार्गदर्शन तथा ढाँचा चालू आवको माघ मसान्तभित्र सम्बन्धित मन्त्रालय , आयोग, सचिवालय वा निकायमा पठाउनुपर्नेछ भनी उल्लेख गरिएको छ ।

यस्तै बजेट तर्जुमाको ढाँचा निर्धारण गर्दा सम्बन्धित निकायले आर्जन गर्नसक्ने राजस्व रकम, आयोजना वा कार्यक्रमसँग सम्बन्धित वैदेशिक अनुदान तथा ऋण रकम र प्रस्तावित बजेटको पुष्ट्याइँका लागि सम्बन्धित खर्च शीर्षकको लागि तोकिएको खर्चको मापदण्डको आधारमा आवश्यक सम्पूर्ण विवरण उल्लेख गर्नुपर्ने जनाएको छ । बैंकमा राखिने परियोजनाहरुको छनौट क्षेत्रगत रुपमा गरिनुका साथै कार्यान्वयनको प्राथमिकता समेत किटान गरी स्रोतको उपलब्धता र मुलुकको आवश्यकतालाई मध्यनजर राखी क्रमशः कार्यान्वयनमा लैजाने र अद्यावधिक गर्ने गरिन्छ । आयोजना बैंकले विशेषगरी देशको आवश्यकता प्रष्ट्याउनमा सहजता प्रदान गर्दछ । बैंकमा रहेको कार्यान्वयन गर्न बाँकी प्राथमिकताप्राप्त आयोजना नै देशको आगामी कार्यसूचीमा पर्ने गर्दछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया