Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयरबजारमा कहाँबाट आयो सातामै १८ अर्ब ?

सेयरबजारमा कहाँबाट आयो सातामै १८ अर्ब ?


काठमाण्डौँ,फागुन १६
गत केही साता अघिसम्म नेपालको सेयर बजार सुस्त देखिएको थियो । ती साताहरुमा मुश्किलले दुईदेखि तीन अर्ब रुपैयाँको हाराहारीमा सेयर किनबेच हुन्थ्यो । तर जब चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसकै कारण विश्व अर्थतन्त्रमा समस्या देखिने क्रम बढ्न थाल्यो, त्योसँगै नेपालको सेयर बजार बढ्न थाल्यो । कोरोनाकै कारण छिमेकी राष्ट्र भारत, चीन, दक्षिण कोरियासहितका थुप्रै देशका सेयर बजार परिसूचक ओरालो लागेका छन् । तर यो बीचमा नेपालमा भने विगतमा ओरालो लागेको सेयर बजारले दैनिकजसो नयाँ नयाँ रेकर्ड कायम गरेको छ । साताको सुरुवाती कारोबार दिनमा १४ सय ३४ अंकबाट बढ्न थालेको सेयर बजार परिसूचक साताको अन्तिम दिन बिहीबार १६ सय ३२ दशमलव १७ अंकमा सीमित हुनपुगेको छ । पहिलो दिन तीन अर्ब ६० करोड ८५ लाख २६ हजार तीन सय ५४ रुपैयाँको सेयर किनबेच भएकोमा अन्तिम कारोबार दिनसम्म पनि सेयर बजार परिसूचक र कारोबार रकमको वृद्धिले निरन्तरता पायो । अन्तिम दिन अर्थात् बिहीबार सेयर बजारमा चार अर्ब ४६ करोड पाँच लाख ३६ हजार दुई सय ५१ रुपैयाँबराबरको सेयर कारोबार भएको छ । सेयर बजारमा भएको निरन्तरको उच्च वृद्धिले यो साता नयाँ रेकर्ड कायम ग¥यो । कारोबार रकम बढेर एकै साता १८ अर्ब ६२ करोड ६६ लाख २२ हजार चार सय ४९ रुपैयाँ पुग्यो ।

वास्तवमा अहिले नेपालको अर्थतन्त्र सहज अवस्थामा छैन । बैंकहरु अहिले पनि लगानीयोग्य रकमको अभावमा पिरोलिएका छन् । कोरोनाकै कारण आयातनिर्यातमा असन्तुलन आएको छ । नेपालको वैदेशिक व्यापारको ठूलो हिस्सा चीन र भारतसँग हुने गरेको छ । कोरोनाकै कारण अहिले यी देशहरुमा हुने र व्यापार व्यवसाय पनि सुस्त नै रहेको छ । अर्कोतर्फ सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भिजिट नेपाल २०२० घोषणा गरेको भए पनि कोरोनाकै कारण पर्यटन क्षेत्र पनि अहिले सुस्त रहेको छ । साना ठूला, तारे होटलहरुको अकुपेन्सी दर घटेको छ भने पयर्टकीय क्षेत्रहरु अहिले सुनसान रहेका छन् । यो अवस्थामा सेयर बजारमा यति धेरै पैसा कहाँबाट आयो ? सबैको कौतूहलको विषयमा बनेको छ । तर यसमा कौतूहल मान्नुपर्ने कुनै कारण नै छैन । कोरानाकै कारण अहिले नेपालको वैदेशिक व्यापार खस्किएको छ । व्यापारीहरुले वैदेशिक व्यापारको लागि भुक्तानी गर्ने रकम सेयर बजारमा लगानी गरेकाले कारोबार रकम बढेको नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारी बताउँछन् । ‘वैदेशिक व्यापारमा आएको सुस्तताको कारणले धेरै व्यापारीहरुले सेयरबजारमा लगानी गरेका छन्, त्यही कारण पनि सेयर बजारले दिनदिनै नयाँ रेकर्ड कायम गरेको हो’, ती अधिकारीले भने, ‘यदि यस्तो नहुँदो हो त विगत केही वर्षदेखि लगातार ओरालो लागेको सेयर बजार छोटो सयममै किन यति माथि पुग्थ्यो ।’ राष्ट्र बैंकका उच्च अधिकारीकै भनाइमा सहमत छन्, एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत । लगानीकर्ताहरुले वर्तमान अर्थमन्त्रीलाई सेयरबजार विरोधीको रुपमा हेर्ने गरेको र उनको दुई वर्षे कार्यकाल सकिने हल्लाले गर्दा पनि सेयर बजारमा बढेको हुन सक्ने उनको भनाइ छ ।

अर्कोतर्फ अहिले व्यापारीहरुले आफूसँग भएको पैसा सेयरमा लगानी गरेकै कारण कारोबार रकम बढेको उनको भनाइ छ । यता लगानीकर्ताहरुले भने सेयरबजार बढ्नुलाई सुखद भएको संज्ञा दिएका छन् । ‘बजारमा निकै लामो समय सुस्तता देखिएकोमा अहिले बजार बढ्दा सबै लगानीकर्ताहरु उत्साहित भएका छन्, वास्तवमा सेयर बजार बढ्नु सबैको लागि राम्रो हो’, लगानीकर्ता वैकुण्ठ अर्याल भन्छन् । अहिले सेयर बजार घट्नु र बढनुको विषयामा धेरैथरि टीकाटिप्पणी हुने गरेका छन् । यी टीकाटिप्पणीको बेवास्ता गर्दै सुझबुझका साथ सेयरमा लगानी गरेको अवस्थामा लगानीकर्ताहरुले घाटा नै खाइहाल्नुपर्ने अवस्था अहिले नभएको ती लगानीकर्ता बताउँछन् ।

एकै दिन चार अर्ब ४६ करोडको सेयर खरिदबिक्री
सेयर बजार परिसूचक उच्च अंकले बढेको छ । साताको अन्तिम कारोबार दिन बजार परिसूचक ३६ दशमलव पाँच अंकले उकालो लागेर १६ सय ३२ दशमलव १७ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव ६३ अंकले उकालो लागेर तीन सय ४७ दशमलव ६८ अंकमा चढेको छ । यस दिन कुल एक सय ८० वटा कम्पनीहरुको कारोबार भएका छन् । जसअनुसार ३५ हजार चार सय ६७ वटा कारोबारमा एक करोड आठ लाख ५९ हजार छ सय ५६ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम चार अर्ब ४६ करोड पाँच लाख ३६ हजार दुई सय ५१ रुपैयाँको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यस दिन १२ वटा समूहको कारोबार भएको छ । जसअनुसार तीनवटा समूहको सूचक उकालो लागेको छ भने नौवटा समूहको सूचक ओरालो लागेको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ८३ दशमलव २९ अंकले उकालो लागेर १४ सय ४० दशमलव १५ चढेकोमा विकास बैंक समूहको सूचक ३८ दशमलव ६५ अंकले उकालो लागेर दुई हजार ६३ दशमलव ७० अंकमा चढेको छ । यसैगरी उत्पादनमूलक समूहको सूचक पनि १६ दशमलव ४५ अंकले उकालो लागेर तीन हजार दुई सय ४३ दशमलव १६ अंकमा चढेको छ । जलविद्युत् समूहको सूचक भने २१ दशमलव पाँच अंकले ओरालो लागेर ११ सय दुई दशमलव ३० अंकमा झरेको छ । लघुवित्त समूहको सूचक पनि ५६ दशमलव ३५ अंकले ओरालो लागेर दुई हजार सात सय ४७ दशमलव ३० अंकमा झरेकोे छ । यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि दुई सय १३ दशमलव ३९ अंकले ओरालो लागेर सात हजार तीन सय ५५ दशमलव १६ अंकमा झरेको छ । त्यस्तै जीवन बीमा समूहको सूचक पनि एक सय ६४ दशमलव ६३ अंकले ओरालो लागेर नौ हजार सात सय ४१ दशमलव ३१ अंकमा झरेको छ । यीबाहेक टे«डिङ, होटल, फाइनान्स, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः ४८ दशमलव ४३, २७ दशमलव ६२, आठ दशमलव ५२, २२ दशमलव ५३ र शून्य दशमलव १६ अंकले ओरालो लागेका छन् ।

यस दिन कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको एभरेष्ट बैंकको सेयर मूल्य १० रुपैयाँले बढेर आठ सय ८० रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल एसबीआई बैंकको सेयर मूल्य नौ रुपैयाँ ९४ पैसाले बढेर पाँच सय ४२ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक हिमालयन बैंक, नबिल बैंक आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको ङादी ग्रुप पावर लिमिटेडको सेयर मूल्य छ रुपैयाँ ७१ पैसाले घटेर एक सय ३९ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको सिनर्जी पावर लिमिटेडको सेयर मूल्य छ रुपैयाँ ५० पैसाले घटेर एक सय १५ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक समृद्धि फाइनान्स, युनाइटेड इन्स्योरेन्स कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् । यस दिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता १४ सय ६३ रुपैयाँ अन्तिम मूल्यमा २८ करोड ९२ लाख ३७ हजार दुई सय ८३ रुपैयाँको सेयर किनबेच छ । दोस्रो स्थानमा परेको एनआईसी एसिया बैंकको प्रतिकित्ता छ सय ६० रुपैयाँ अन्तिम मूल्यमा २० करोड ५९ लाख ४६ हजार पाँच सय पाँच रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनएमबी बैंक ,  नबिल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया