Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिजी क्षेत्रसँग सम्बन्ध सुधार गर्ने योजनामा अर्थमन्त्री खतिवडा

निजी क्षेत्रसँग सम्बन्ध सुधार गर्ने योजनामा अर्थमन्त्री खतिवडा


काठमाण्डौं,फागुन २२

बुधबार पुनः अर्थमन्त्रीमा नियुक्त भएका डा. युवराज खतिवडाले विगतमा बिग्रिएको निजी क्षेत्रसँगको सम्बन्धलाई आफ्नो दोस्रो कार्यकालमा सुधार गर्दै सहकार्य गरेर अगाडि बढ्ने संकेत गरेका छन् । दुई वर्षअगाडि अर्थमन्त्रीमा खतिवडा नियुक्त भएको केही महिनादेखि नै निजी क्षेत्र उनको विपक्षमा थियो । राजनीतिक दलका नेता, कार्यकर्ता मात्र होइन सांसदहरु पनि उनको विपक्षमा उभिएका थिए । तर, अन्तर्राष्ट्रिय संघ÷संस्था र दातृनिकायहरु भने अर्थमन्त्री खतिवडालाई साथ दिँदै आएका थिए । आफ्नो पहिलो कार्यकाल सकिने केही महिना अगाडिदेखि निजी क्षेत्रसँग नजिकिन थालेका अर्थमन्त्री खतिवडा दोस्रो कार्यकालमा पहिलका त्रुटिहरु सच्याउँदै अगाडि बढ्ने संकेत गर्नुले उनी निजी क्षेत्रसँग सम्बन्ध सुधार गरेर सहकार्य अझ बढाउन तयार रहेको देखाएको छ । यद्यपि अर्थमन्त्री खतिवडाले आफू कहिल्यै पनि निजी क्षेत्रसँग टाढा रहने पक्षमा नभएको बताउँदै आएका थिए ।उनले बुधबार पदबहालीको क्रममा आयातमा आधारित अर्थतन्त्र आन्तरिक उत्पादनमा आधारित अर्थतन्त्रमा परिवर्तन हुने क्रममा रहेको, राजस्व प्रणाली पनि आन्तरिक उत्पादनमा आधारित बन्दै गएको, निर्यात बढेको, आयात घटेको भन्दै यसलाई अझ सुधार गरेर जाने बताउनुले उनी निजी क्षेत्रसँगको सम्बन्धलाई सुधार गरेर विकास निर्माण, सुशासन, सामाजिक न्याय स्थापनालाई अझ व्यवस्थित बनाउने पक्षमा रहेको देखाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अर्थमन्त्रीमा नियुक्त गैरसांसद खतिवडाले पदबहालीको क्रममा अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा आफ्नो कार्यकाल लामो हुने संकेत गरे । उनले आफू गरिबी, अभाव, रोग, भोक र शोकविरुद्धको लडाइँमा निरन्तर लागिरहने र विकास निर्माण, सुशासन, सामाजिक न्यायको पक्षमा लड्ने योद्धा भएको कारण गरिबी, अभाव, रोग, भोकको अन्त्य नभएसम्म लडिरहने भनेर आफ्नो कार्यकाल छ महिना मात्र भएको प्रचार गर्नेलाई गतिलो जवाफ दिए । अर्थमन्त्री खतिवडाको कुरा सुन्दा उनी केपी ओली प्रधानमन्त्री भएसम्म अर्थमन्त्रीमा निरन्तर हुनेछन् । खतिवडाको विरोध गर्ने एउटा समूहले उनी गैरसांसद भएको कारण छ महिना मात्र मन्त्री बन्ने प्रचार गरिरहेको बेला उनको भनाइले प्रधानमन्त्रीले फिर्ता नबोलाएसम्म वा देशबाट गरिबी नहटेसम्म अर्थमन्त्रीको रुपमा काम गरिरहनेछन् । ‘म एउटा योद्धा हुँ । योद्धा लडाइँमा त्यो बेलासम्म लडिरहन्छ जुन बेलासम्म कमाण्डरले फिर्ता आऊ भन्दैन वा युद्ध जित्दैन’, अर्थमन्त्री खतिवडाले भने, ‘मेरो कार्यकाल पनि त्यही हो ।’ गरिबी, अभाव, रोग, भोक र शोकलाई उनले युद्धको रुपमा लिएका छन् । अर्थमन्त्री खतिवडाले आफ्नो कार्यकाल लामो भएको बताए पनि फेरि सांसद नबन्ने हो भने संविधानतः उनको कार्यकाल आगामी भदौ २० गतेसम्म मात्र हुनेछ । नेपालको संविधानमा गैरसांसदलाई छ महिनाभन्दा बढी समय मन्त्री बनाउन नपाउने उल्लेख छ । आफ्नो दुई वर्षे सांसद पद सकिएकै दिन मंगलबार उनले अर्थमन्त्रीबाट राजीनामा दिएर बुधबार पुनः नियुक्ति पाएका हुन् । खतिवडालाई सांसद बनाउनबाट रोक्ने उद्देश्यले वामदेव गौतमले सांसद हुन सहमति दिए पनि प्रधानमन्त्री ओलीको असहमतिको कारण गौतम सांसदमा राष्ट्रपतिबाट मनोनीत हुन पाएका छैनन् ।

अर्थमन्त्रीले भनेजस्तै व्यवहारमा सुधार गरेर निजी क्षेत्र र अन्तर्राष्ट्रिय समुदायको विश्वास जितेर अगाडि बढ्ने हो भने द्रुत आर्थिक विकासमा अन्य तत्वले खासै असार गर्दैन । आयातमा निर्भर रहेको अर्थतन्त्रमा त आर्थिक वृद्धिदर सन्तोषजनक भइरहेको बेला उत्पादनले सानो हिस्सा ओगट्ने हो भने पनि नेपालको अर्थतन्त्र बलियो बन्न लामो समय लाग्नेछैन । उत्पादनमा जोड दिँदै आएका अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेट निर्माणमा पनि निजी क्षेत्रलाई विश्वासमा लिनुपर्ने हुन्छ । दोस्रो कार्यकालमा केही सुधार गर्ने सोचका साथ आएका अर्थमन्त्री खतिवडाको अगाडि कोरोना भाइरस थप चुनौती बनेको छ । उनले यसलाई विश्व अर्थतन्त्रकै चुनौतीका रुपमा लिँदै यसले नेपालको अर्थतन्त्रमा पनि असर पार्ने भएकाले सुझबुझपूर्ण तरिकाले अगाडि बढ्नुपर्ने बताएका छन् । देशको अर्थतन्त्रमा उथलपुथल गर्ने क्षमता भए पनि त्यसको लागि उनले लामो समय लाग्ने समेत बताए । दुईवर्षे कार्यकालमा अर्थतन्त्र उथलपुथल भएन भनेर आलोचना गर्नुको कुनै अर्थ नरहेको उनको भनाइ छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया