Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैदेशिक रोजगारीमा गएका युवा कोरोना भाइरसबाट हालसम्म सुरक्षित

वैदेशिक रोजगारीमा गएका युवा कोरोना भाइरसबाट हालसम्म सुरक्षित


काठमाण्डौं,फागुन २५

विश्वका ९० भन्दा बढी मुलुकमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखापरे पनि सरकारले वैदेशिक रोजगारीमा गएका युवाहरु भने सो बाट प्रभावित नभएको दाबी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विश्वका ९० भन्दा बढी मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वैदेशिक रोजगारीमा गएका युवाहरुलाई हालसम्म कोरोना भाइरसका कारण समस्यामा नपरेको जानकारी दिएको छ । यसैबीच, वैदेशिक रोजगारीका लागि भन्दै करिब ४० लाखभन्दा बढी युवाहरु विश्वका एक सय ५० भन्दा बढी मुलुकमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । मन्त्रिपरिषद कार्यालयका सहसचिव एवं प्रवक्ता राजेन्द्र कुमार पौडेलले विदेशमा काम गर्न गएका युवाहरुमा कोरोना भाइरसको संक्रमण फेला परेको जानकारी हालसम्म नआएको बताए । ‘विदेशमा रहेका नियोगहरुमार्फत आफूहरुलाई युवाहरु संक्रमित भएको बारेमा कुनै जानकारी आएको छैन’, उनले भने, ‘हामीले संक्रमितको बारेमा सम्बन्धित मुलुकमा रहेको नेपाली दूतावास वा नियोगबाट जानकारी लिने गरेका छौँ । त्यहाँबाट प्राप्त जानकारीअनुसार हालसम्म वैदेशिक रोजगारीमा गएका युवाहरु संक्रमित भएको जानकारी आएको छैन ।’

यदि संक्रमित भएमा पनि सो मुलुकले नै उपचार गर्ने उनको भनाइ छ । उनका अनुसार वैदेशिक रोजगारीमा गएका युवाहरुमा संक्रमण देखापरे भने सरकारले आवश्यक निर्णय लिनेछ । चीनमा रहेका नेपाली नागरिकहरुलाई स्वदेश ल्याएजस्तै सरकारले कुनै उपाय अवलम्बन गर्ने उनले जानकारी दिए ।कोरोना संक्रमित नागरिक यात्रा गर्न नहुने हुँदा विदेशमा काम गर्न गएका युवाहरुमा यदि कोरोनाको संक्रमण देखिएमा सोही मुलुकमा उपचार पाउनेछन् । सरकारले भने वैदेशिक रोजगारीमा गएका युवाहरुमा कोरोनाको समस्या देखा परेमा के गर्ने भन्ने विषयमा हालसम्म कुनै ठोस निर्णय नगरेको उनले बताए । ‘सरकारले वैदेशिक रोजगारीमा गएका युवाहरुमा कोरोना संक्रमण भएमा के गर्ने भन्ने विषयमा ठोस निर्णय गरेको छैन’, उनले भने, ‘सरकारले कोरोनाको समस्या समाधानका लागि भन्दै रक्षामन्त्रीको संयोजकत्वमा एक समिति निर्माण गरेको छ । सो विषयमा उसले नै कसरी अघि बढ्ने भन्ने निक्र्योल गर्छ तर विदेशमा रहेका नेपालीहरुको बारेमा भने कुनै निर्णय भएको छैन ।’

यता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भने विदेशमा रहेका युवाहरुमा कोराना प्रभावित भएमा आफूहरुले कुनै निर्णय गर्न नसक्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता एवं सहसविच सुमन घिमिरेले विदेशमा रहेका युवामा कोरोना देखापरेमा सो विषयमा निर्णय लिने अधिकार प्रधानमन्त्री कार्यालयलाई भएको बताए । उनले वैदेशिक रोजगारीमा गएका युवाहरुमा कोरोनाको समस्या देखापरेमा सम्बन्धित मुलुकको राजदूतावासमा सम्पर्क गर्न आग्रह समेत गरेका छन् । ‘यदि विदेशमा रहेका युवाहरु कोरोनाको समस्या देखापरेमा दूतावास वा सम्बन्धित नियोगमा सम्पर्क राखी अघि बढ्न सक्नेछन्’, उनले भने, ‘दूतावासले उनीहरुलाई सहयोग गर्नेछ ।’ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण हालसम्म एक लाख मानिस संक्रमित भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया