Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना भाइरसको विश्वव्यापी महामारी

कोरोना भाइरसको विश्वव्यापी महामारी


काठमाडौं, फागुन ३०
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) लाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेकै दिन नेपाल सरकारले पर्यटक भिसा दिने र हिमाल आरोहण बन्द गर्ने निर्णय गरेको छ । सरकारको उक्त निर्णयको कारण नेपाल भ्रमण वर्ष २०२० को औचित्य समाप्त भएको छ । पर्यटक भिसा कहिलेदेखि कहिलेसम्मका लागि बन्द गर्ने भन्ने निर्णय भने मुख्यसचिवले विभिन्न मन्त्रालयसँगको छलफलपछि मात्र गर्ने बताइएको छ ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले तत्कालको लागि पर्यटक भिसा रोक्ने निर्णय गरेको हो । नेपालले पर्यटक भिसा नदिने निर्णय गर्नुअघि अमेरिकाले बेलायतबाहेक युरोपेली देशबाट आफ्नो देशमा आउनेलाई रोक्ने निर्णय गरेको थियो भने बिहीबार नै नेपालको छिमेकी भारतले पनि आउँदो १५ अप्रिलसम्म पर्यटक भिसा नदिने निर्णय गरेको थियो ।

नेपालले पर्यटक भिसा नदिने तथा हिमाल आरोहण बन्द गर्ने निर्णय गरेसँगै भारतको केही नाका बन्द गरेर सीमित नाका मात्र सञ्चालन गर्ने निर्णय पनि गरेको छ । यसलाई नेपालले भारतसँगको नाका ‘सीमित’ गर्ने भनेर अर्थ लगाएको छ । ती ‘सीमित’ नाकामा पनि चेकजाँचलाई थप कडा बनाउने निर्णय उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको छ । नाका सीमित गर्ने विषयमा नेपालको परराष्ट्र र गृह मन्त्रालयले भारतसँग पनि छलफल गर्नेछ । अहिले पनि भारतीय नाकामा कोरोना भाइरसको चेकजाँच भइरहेको छ । चीनतर्फको रसुवागढी, तातोपानीलगायतका नाका भने करिब एक महिनादेखि नै बन्द छ ।

चीनमा कोरोना भाइरस सुरु भएपछि उत्तरतर्फको सबै नाका बन्द छ । उत्तरबाट खाद्यान्न, कपडा, विद्युतीय सामग्रीलगायत कुनै पनि सामान नेपाल भित्रिएको छैन । चीनबाट आएर नाकामा रोकिएका सामान छुटाउन व्यवसायीहरुले सरकारलाई दबाब दिइरहेका छन् । तर, नेपालतर्फ चेकजाँच गर्ने भरपर्दो व्यवस्था नभएको कारण सरकारले व्यवसायीको माग भए पनि सामान नेपाल भित्र्याउन दिएको छैन । अहिले नै सामान भित्र्याउँदा जनस्तरबाटै विरोध हुने भएपछि सरकारले चिनियाँ नाकाबाट पनि सामान ल्याउन नदिएको हो ।

उच्चस्तरीय समन्वय समिति बैठकले कोरोनाको संक्रमण देखिएमा क्वारेन्टाइन, आइसोलेसन वार्डको व्यवस्था गर्ने र स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि चाहिने उपकरणको आपूर्ति बढाउने निर्णय पनि गरेको छ । कोरोना देखा पर्नासाथ चिकित्सकहरुको सम्पर्कमा आउने भएको कारण सरकारले चिकित्सकहरुका लगि थप उपकरण उपलब्ध गराउने निर्णय गरेको हो । क्वारेन्टाइन र आइसोलेसन वार्ड बस्तीभन्दा केही टाढा व्यवस्था गरिने अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले सञ्चारकर्मीलाई जानकारी दिए । समितिले हाल सञ्चालित विद्यालय र क्याम्पसको परीक्षा भने तत्कालका लागि स्थगित नगर्ने निर्णय गरेको छ । सरकारको निर्देशनकै कारण विद्यालयहरुले वैशाख पहिलो सातादेखि सुरु हुने तय भएको परीक्षा चैतकै अन्तिम साताबाटै सुरु गरेका छन् । समितिले राजनीतिक भेला र विवादको भोज नगर्न पनि आग्रह गरेको छ । विद्यालय र क्याम्पस बन्दको निर्णय भने कोरोनाको संक्रमण सुरु भएपछि हुने सरकारले जनाएको छ ।

भारतले अरु देशका नागरिकलाई भिसा बन्द मात्र गरेको छैन, आफ्ना नागरिकलाई पनि विदेशबाट नफर्किन आग्रह गरेको छ । विदेशबाट आएमा उनीहरुलाई १४ दिनको क्वारेन्टाइनमा राखिने भारतले जनाएको छ । त्यहीअनुसार नेपालले पनि थप क्वारेन्टाइनको व्यवस्था गर्न लागेको हो । भारतमा बिहीबार दिउँसोसम्म ७३ जनामा कोरोना भइरस देखा परेको छ । तीमध्ये ५६ जना भारतीय र १७ जना विदेशी नागरिक छन् । सबैभन्दा बढी केरलामा कोरोना भाइरस प्रभावित फेला परेका छन् । महाराष्ट्रमा ११ जना र उत्तरप्रदेशमा १० जना कोरोना पीडित फेला परेका छन् । उत्तर प्रदेशमा कोरोना प्रभावित फेला परेपछि नेपालमा पनि प्रवेश गर्ने आशंकामा नेपाल सरकारले भारतसँगको सीमा ‘सीमित’ गर्ने निर्णय गरेको हो । पहिलो चरणमा छोटी भन्सार नाका बन्द गर्ने तयारी नेपाल सरकारको छ । त्यसपछि अन्य नाका पनि अवस्था हेरेर बन्द गरिने एक उच्च सरकारी अधिकारीले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया