Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारशिवम् प्लाष्टिक उद्योगमा सञ्चालक आफैंले आगो लगाए

शिवम् प्लाष्टिक उद्योगमा सञ्चालक आफैंले आगो लगाए


शंकर लुइँटेल
विराटनगर, चैत २
केही दिनअगाडि मोरङको बुढीगंगा गाउँपालिकामा सञ्चालनमा रहेको शिवम् प्लाष्टिक उद्योगमा भएको आगलागी उद्योगका सञ्चालकहरुले नै लगाएको पाइएको छ । बुढीगंगा गाउँपालिका वडा नम्बर २ बाँसबारीमा रहेको उद्योगमा गत हप्ता मात्र आगलागी भएको थियो । आगलागीबाट उद्योगको २ वटा प्लान्ट, फेब्रिक उत्पादन गर्ने मेसिन, १० वटा दाना प्लान्टको प्यानल जलेर नष्ट भएको उद्योगका म्यानेजर मालचन्द मुन्दडाले बताएका थिए । विराटनगरका तीन प्रतिष्ठित उद्योगी बासुदेव गोल्यान, देवेन्द्र कुमार अग्रवाल (राजगढिया) र विजय तोदी सञ्चालक रहेको उद्योगमा उद्योग सञ्चालकहरु आफैँले आगो लगाएको उद्योग स्रोतले बताएको छ । निकै पुरानो उक्त उद्योग निर्बाध रुपमा सञ्चालन हुँदै आए पनि सञ्चालकहरुबीच भने पानी बाराबारको अवस्था थियो ।

उद्योगमा सञ्चालक बासुदेव गोल्यानको ६५ प्रतिशत, देवेन्द्र कुमार अग्रवाल(राजगढिया) को २५ प्रतिशत र विजय तोदीको १५ प्रतिशत लगानी छ । उद्योगमा भएको हिसाब फरफारक गर्न सञ्चालकहरु तोदी र राजगढियाले बारम्बार गोल्यानलाई अनुरोध गर्दा पनि लामो समयदेखि गोल्यानले हिसाब फरफारक गर्न नसकेपछि तिनै सञ्चालकबीचमा मनमुटाव भएको थियो । गोल्यान समूहले लामो समयदेखि उद्योगको हिसाब अन्य सेयर होल्डरलाई देखाउन नसकेको बेला उद्योगमा आगलागी भएको हो   ।

उद्योगको विराटनगरमा रहेको शिखर इन्स्योरेन्समा आगलागी बीमा गरिएको छ । उक्त इन्स्योरेन्ससँग उद्योग सञ्चालक बासुदेव गोल्यानको निकट सम्बन्ध रहेको रहस्य पाइएको छ । शिवम् प्लाष्टिकमा भएको आगलागी प्रकरणमा मुख्य सञ्चालकको भूमिकामा रहेका सञ्चालक बासुदेव गोल्यान र विराटनगरमा रहेको शिखर इन्स्योरेन्सबीचको निकटता नै मुख्य शंकाको घेरामा परेको छ । उद्योगमा आगलागी भएको लामो समयसम्म पनि उद्योगका सञ्चालकहरु भने सबै मौन छन् ।

अहिले उद्योगमा भएको क्षतिका सम्बन्धमा प्रहरी रिपोर्ट नआएको कारण पूर्ण क्षति विवरणको प्रतीक्षामा अन्य सञ्चालकहरु रहेको बताइएको छ । उद्योग हेर्दै आएका म्यानेजर मालचन्द मुन्दडाले भने उद्योगमा रहेको मेसिनको मुख्य प्लान्टबाट पड्केर आगो लागेको जानकारी दिए । उद्योगले २४ घण्टा नै प्लाष्टिकका बोरा उत्पादन गर्दै आएको छ । दैनिक उद्योगले २२ देखि २५ टन बोरा उत्पादन गर्दै आएको म्यानेजर मुन्दडाले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया