Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारट्राभल एजेन्सीको झण्डै दुई अर्ब जोखिममा

ट्राभल एजेन्सीको झण्डै दुई अर्ब जोखिममा


काठमाडौं, चैत ३
नेपालका ट्राभल एजेन्सीहरु कोरोना भाइरस (कोभिड–१९)का कारण समस्यमा परेका छन् । कोरोना भाइरसकै कारण उनीहरुको करिब दुई अर्ब रुपैयाँ जोखिममा परेको छ । हवाइ यातायातमार्फत नेपाल आउने विदेशी तथा स्वदेशीहरुमध्ये ९५ प्रतिशतभन्दा बढी यात्रुहरुले बुकिङ गरेका टिकट रद्द गरेसँगै उनीहरु समस्यामा परेको नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल (नाट्टा)का अधिकारीले बताएका छन् । नेपालको अन्तर्राष्ट्रिय टिकटिङको कारोबार नेपालको एक मात्र संगठन नाट्टाले गर्दै आएको छ भने नेपालमा नाट्टाका करिब तीन सयको संख्यामा सदस्य रहेका छन् ।

विश्वका १४ वटा मुलुकका २९ वटा एयरलाइन्सले नेपालमा उडान भर्दै आएका छन् भने हाल ९० प्रतिशतभन्दा बढी उडान रद्द हुनपुगेको छ । नाट्टाका अनुसार नेपाली व्यवसायीहरुले अन्तर्राष्ट्रिय हवाइ यातायात संगठन (आईटा)लाई भोलि सोमबार करिब दुई अर्ब रुपैयाँ बुझाउनुपर्नेछ । तर यता हवाइ यातायातमार्फत नेपाल आउने यात्रु छैनन् भने ९५ प्रतिशतभन्दा बढी यात्रुले टिकट रद्द गरेका छन् । कोरोना भाइरसका कारण हवाइ यातायातमार्फत नेपाल आउने यात्रुहरु नहुँदा उनीहरु समस्यामा परेका नाट्टाका अध्यक्ष अच्युत गुरागाईंले आर्थिक दैनिकलाई बताए । ‘हामीले नाट्टालाई बुझाउनुपर्ने करिब दुई अर्ब रकम केही समयपछि अर्थात् मार्चको अन्तिम समयतर्फ रकम बुझाउनको लागि आग्रह गरेका छौँ’, उनले भने, ‘तर हाम्रो आग्रहलाई उसले नमान्दा समस्यामा परेको हो ।’

कोरोना भाइरसकै कारण सरकारले अनअराइभल भिसा बन्द गरेको छ भने नेपालमा नियमित उडान भर्ने विभिन्न विमान कम्पनीहरुले समेत उडान नेपालमा भरेका छैनन् । उनीहरुले हाल अन्तर्राष्ट्रिय उडानमा ८० प्रतिशत कटौती भएको र क्षेत्रीयतर्फ भने ५० वटा उडान कम भएको बताएका छन् । योसँगै ट्राभल एजेन्सीको पछिल्लो समय कारोबार ठप्प हुनपुगेको छ । यता ट्राभल एजेन्सीको आम्दानी गर्न सकेको छैन भने अर्कोतर्फ आइटालाई रकम बुझाउनुपर्ने बाध्यता व्यवसायीहरुमा रहेको छ । जसले गर्दा व्यवसायीहरु दोहोरो मारमा परेका छन् ।

रकम नबुझाएको खण्डमा आइटाले नेपालमा रहेका जति पनि ट्राभल एजेन्सी कम्पनीहरु छन्, ती सबैलाई कालोसूचीमा राख्नेछ । जसले गर्दा भोलिका दिनमा ट्राभल एजेन्सी व्यवसायीहरुलाई समस्या पर्नेछ, सोही कारण उनीहरुलाई आइटालाई रकम बुझाउनुपर्ने बाध्यता रहेको छ । उनले आइटालाई बुझाउनको लागि अब ऋण खोज्ने तयारीमा समेत व्यवसायीहरु लागेको बताए । ‘कारोबार ठप्प छ, रकम बुझाउनुपर्ने बाध्यता रहेको छ’, उनले भने, ‘त्यसैले ऋण खोज्ने तयारीमा लागेका छौँ ।’

यसैबीच व्यवसायीहरुको समस्यालाई सरकारले समेत विशेष चासो दिएको बताइएको छ । सरकारलगायत विभिन्न प्रतिनिधि संघ/संस्थासँग छलफल समेत तीव्र बनाएको उनीहरुको भनाइ छ । उनले हाल होटेलको अकुपेन्सी समेत १० प्रतिशतभन्दा कम रहेको बताए । होटेल बुकिङ समेत न्यून रहेको छ’, उनले भने, ‘९० प्रतिशत होटेल त खाली नै छ ।’ यता सरोकारावालाहरु भने पर्यटक आउने वातावरण नभएको बताउँछन् । टिकटिङ क्षेत्रमा लागेका अधिकारीहरुले पर्यटक नेपालमा आउने वातावरण नभएको बताउँदै पछिल्लो समय पर्यटक नेपाल केका लागि आउने बताए । पर्यटक क्वारेन्टाइनमा बस्न नेपाल नआउने उनीहरुको भनाइ छ ।

पर्यटकहरुको हिमाल पर्वतारोहण, ट्रेकिङलगायतका सम्पूर्ण गतिविधि समेत ठप्प रहेका छन् । नेपालमा छिमेकी मुलुक भारत र चीनसहित भुटान, बंगलादेश, थाइल्याण्ड, सिंगापुर, मलेसिया, दक्षिण कोरिया, कतार, संयुक्त अरब इमिरेटस (युएई), कुवेत, ओमन, टर्कीलगायतका मुलुकका विमानले उडान भर्दै आएका थिए । जसमध्ये सबैभन्दा बढी चीनको छ वटा, भारत र युएईको क्रमशः तीन/तीनवटा एयरलाइन्सले नेपालमा उडान भर्ने गरेका थिए भने थाइल्याण्ड, ओमान, भुटानका क्रमशः दुई/दुईवटा एयरलाइन्स र बंगलादेश, दक्षिण कोरिया, कुवेत, कतार, सिंगापुर, टर्कीको एउटा एयरलाइन्सले नेपालमा उडान भर्ने गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया