Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२१ गतेसम्म कोरोनाविरुद्ध कडाइ 

२१ गतेसम्म कोरोनाविरुद्ध कडाइ 


काठमाडौं, चैत ९
आज चैत ९ गते आइतबारदेखि २१ गते शुक्रबारसम्मका लागि सरकारले देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवाहरु बन्द गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन् ।

संक्रमित मुलुकबाट नेपाल आएका सबैले आफू बच्न, आफ्नो परिवारलाई बचाउन र समुदायलाई संक्रमणबाट जोगाउन कम्तीमा १४ दिन घरमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थाअनुसार सरकारले आजदेखि २१ गतेसम्मका लागि क्वारेन्टाइन सुरु गरेको हो । केही सेवा बन्द गरे पनि सरकारले खाद्यान्नलगायत अत्यावश्यक उपभोग्य सामग्रीको नियमित आपूर्ति हुने जनाएको छ । नियमित आपूर्तिमा अवरोध सिर्जना गरे सरकारले त्यस्तालाई कडा कारबाही गर्ने जनाएको छ ।

सबै सरकारी कर्मचारीहरू र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरूले यथावत् रूपमा आआफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाज गर्नुपर्नेछ । सार्वजनिक सेवा प्रवाहका लागि आवश्यक पर्ने निजीसहित सबै प्रकारका सवारीसाधनहरू आवश्यकताअनुसार सञ्चालन गर्ने व्यवस्था मिलाइएको सरकारले जनाएको छ ।

‘निजी क्षेत्र समेतको सहयोगमा खाद्यान्नलगायतका अत्यावश्यक उपभोग्य सामग्रीको नियमित आपूर्ति हुने व्यवस्था मिलाइएको छ’, प्रधानमन्त्री ओलीले शुक्रबार गरेको सम्बोधनमा भनिएको छ, ‘तर, अप्ठ्यारो समयको फाइदा उठाउँदै कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी तथा कालोबजारी गर्ने, खाद्यवस्तुमा मिसावट गर्ने जस्ता आपराधिक काममा कोही संलग्न भएको पाइएमा प्रचलित कानुनबमोजिम कडाभन्दा कडा कारबाही समेत गरिने स्पष्ट पार्दछु ।’

विश्वव्यापी कोरोना भइरसको महामारीले समग्र अर्थ व्यवस्थामा असरका पारेको छ । उक्त असरबारे अर्थ मन्त्रालयले अध्ययन गरिरहेको छ । अर्थ व्यवस्थामा परेको र पर्नसक्ने प्रभावको विश्लेषण गरी अर्थतन्त्रमा संकुचन आउन नदिन सरकारले छिट्टै उपयुक्त कार्यक्रमहरू ल्याउने प्रधानमन्त्रीले जनाएका छन् । नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाइ उडानहरु आज चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको सरकारले जनाएको छ ।

त्यस्तै, सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने सरकारले जनाएको छ । त्यसका लागि नेपालले छिमेकी राष्ट्रहरुसँग आवश्यक समन्वय गरिरहेको छ । देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिएअनुसारका अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवाहरु आगामी चैत २१ गतेसम्म बन्द गरिएको सरकारले जनाएको छ ।

भोलि सोमबार चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ भने मानिसहरुको भीडभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ । त्यस्तै, विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ । महामारीको अवस्थालाई हेरी सरकारले २१ गतेपछि थप कदम चाल्ने जनाइएको छ ।

कोरोना लाग्न नदिनका लागि कुनै पनि व्यक्तिले सरसफाइमा उचित ध्यान दिनुपर्नेछ । साबुन पानीले पटक–पटक हात धुने र स्यानिटाइजर प्रयोग गर्ने गर्नुपर्ने पनि सरकारले जनाएको छ । त्यस्तै, भीडभाडबाट टाढै रहनुपर्नेछ भने सकेसम्म घरमै बस्नुपर्नेछ । सरकारले अत्यावश्यकबाहेकका सेवा बन्द गरे पनि अब अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्न आग्रह गरेको छ ।

कोरोनाको प्रत्यक्ष असर नेपालमा परेको छैन । यद्यपि प्रत्यक्ष असर नपरे पनि देशको अर्थतन्त्र २०७२ सालको भूकम्प र त्यसपछिको नाकाबन्दीको बेलाभन्दा पनि यस वर्षको अर्थतन्त्र कमजोर हुने संकेत देखिएको छ । सरकारले अत्यावश्यकबाहेकका अन्य सेवा बन्द गर्ने जनाएपछि देशभरका व्यवसायहरु पनि बन्द हुनेछ । यसले अर्थतन्त्रमा ठूलो असर पर्ने जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया