Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएक साताको लागि भारत र चीनतर्फका नाका बन्द

एक साताको लागि भारत र चीनतर्फका नाका बन्द


काठमाडौं, चैत १०
अन्तर्राष्ट्रिय रुपमा फैलिएको कोभिड–१९को सङ्क्रमणलाई ध्यानमा राखेर नेपाल सरकारले भारत र चीनतर्फका नाका बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार सोमबार १० बजेदेखि ती दुवै देशतर्फका नाका एक साताका लागि बन्द गरिनेछ । नाका बन्द गरेपछि ती दुई देशसँगको आवतजावत पूर्ण रुपमा बन्द हुनेछ । सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेर जमिनबाट हुने आवतजावत पनि बन्द गरेको हो ।

नेपालमा कोरोना भाइरस प्रवेश भएको अहिलेसम्म पुष्टि भएको छैन । विश्व स्वास्थ्य संगठनले भने नेपाललाई कोरोना भइरसको अति उच्च जोखिम मुलुकमा राखेको छ । दक्षिणतर्फको खुला सीमानाको कारण विश्व स्वास्थ्य संगठनको उक्त चेतावनी उपयुक्त देखिएको छ । सीमा नाका बन्द गरेमा विदेशबाट आउने व्यक्तिबाट कोरोना सर्ने सम्भावना हुँदैन । त्यही भएर सरकारले नाका बन्द गर्ने निर्णय गरेको हो । कोरोना फैलिएमा नेपालमा उपचार गर्न पर्याप्त अस्पताल र स्वास्थ्यकर्मी नभएको कारण रोग लाग्नु अगाडिको रोकथाम नै उपयुक्त भएको सरकारको भनाइ छ ।

गत फागुन २१ गते मिर्गौलाको दोस्रोपटक प्रत्यारोपण गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पहिलोपटक मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । गत शुक्रबार प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै कोभिड–१९को सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले गर्नुपर्ने र नागरिकले गर्नुपर्ने कार्य घोषणा गरेका थिए । प्रधानमन्त्रीले यही चैत २१ गतेसम्म पहिलो चरणका सावधानी अनपाउने र त्यसपछि विश्वव्यापी असर हेरेर थप निर्णय लिइने बताएका थिए ।

कोरोनाको उद्गम चीनको वुहान क्षेत्र हो भने भारत पनि कोरोनाबाट प्रभावित भएको छ । भारतमा कोरोनाको कारण सात जनाको मृत्यु भइसकेको छ । ती दुवै देशसँगको नाका खुला राख्दा कोरोना संक्रमितको प्रवेश हुने भन्दै सांसद तथा सर्वसाधारणले पनि ती दुई देशसँगको स्थल नाका बन्द गर्नुपर्ने आवाज उठाउँदै आएका थिए । सरकारले भारत र चीनतर्फका स्थलगत नाका आगामी १६ गतेसम्मका लागि रोके पनि भारतबाट सामान आयात भने नरोकिने बताएको छ । सामान बोकेका गाडी मात्र नेपाल प्रवेश गर्न पाउनेछन् । तर, सरकारले चीन तर्फबाट आउने सामान भने केही समयदेखि बन्द गरेको छ । अझै पनि खुलेको छैन । तराईका केही जिल्लाहरुले भारतसँग सीमा जोडिएका भारतीय जिल्लासँग समन्वय गरेर आइतबारदेखि नै नाका बन्द गरिसकेका छन् ।

खासगरी २ नम्बर प्रदेशका आठवटै जिल्लाले नाका बन्द गरिसकेका छन् । भारतले पनि आइतबार रातिदेखि नै लागू हुने गरी अन्तरप्रदेश बस तथा रेल्वे सेवा बन्द गर्ने निर्णय गरिसकेको छ । मन्त्रिपरिषद्को निर्णयसँगै नेपाल पनि लकडाउन भएको छ । सरकारले केही नाकाहरु यसअघि बन्द गरिसकेको थियो । केही सीमित नाका खोल्दा पनि नेपाली मात्र होइन भारतीयको चाप पनि नेपालमा बढ्न थालेपछि सरकारले सबै नाका एकै पटक बन्द गर्ने निर्णय गरेको हो । नेपालले नाका बन्दको निर्णय गर्नुअघि दुवै देशलाई जानकारी गराएको थियो ।

मन्त्रिपरिषद् बैठक अगाडि आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मुलुकको समसामयिक र विश्वभर फैलिरहेको कोभिड–१९ को जोखिम नियन्त्रण रोकथाम विषयमा भइरहेको कामकारबाही र प्रगति विषयमा छलफल भएको थियो । राष्ट्रपति भवन शीतल निवासमा भएको नियमित भेटघाटमा प्रधानमन्त्री ओलीले कोभिड–१९ रोकथामका लागि सरकारले चालेका कदम र भइरहेका प्रगतिका सम्बन्धमा राष्ट्रपतिलाई जानकारी गराएका थिए । कोरोना संक्रमणका विरुद्ध ५० करोड रुपैयाँको कोष स्थापना गर्ने निर्णय पनि आइतबारको मन्त्रिपरिषदले बैठकले गरेको छ । उक्त कोषमा मन्त्रिपरिषद् सदस्यले एक महिनाको तलब दिने निर्णय गरेका छन् । उक्त कोषमा ऐक्यबद्धताका लागि सरकारले अपिल गरेको छ ।

कोरोनाको त्रासले होटल/व्यवसाय ठप्प, ग्यास र दैनिक उपभोग्य सामग्रीको बिक्री घट्यो : कोरोना भाइरस (कोभिड–१९) नेपालमा प्रवेश गर्ने त्रासको कारण केही दिनदेखि सुरु भएको होटल तथा अन्य व्यवसाय क्रमशः बन्द हुँदा ग्यास र दैनिक उपभोग्य वस्तुको बिक्रीवितरण घट्न थालेको छ । कोरोनाको कारण ग्यास र दैनिक उपभोग्य वस्तु आयात रोकिने भन्दै बजारमा भीड लाग्न लागेको बेला सरकारले विद्यालय तथा विश्वविद्यालय बन्द गरेपछि सहरबाट ग्रामीण भेगमा जानेको लर्को नै लागेको छ । सहर छाडेर बाहिरिने संख्या बढेपछि बजारमा खरिदकर्ता नै घटेका हुन् । काठमाडौंको नयाँ बसपार्क मात्र होइन देशका विभिन्न सहरका बसपार्कहरुमा दशैंको जस्तै सहर छाड्नेको भीड नै लागेको छ । आइतबार काठमाडौंका अन्य बजार र सडकहरुमा चहलपहल कम भए पनि नयाँ बसपार्कबाट बाहिरिने गाडीको चापको कारण भीडभाड र सडक जाम थियो ।

सरकारले शुक्रबार नै आइतबारदेखि अत्यावश्यकबाहेकका अन्य काममा बाहिर ननिस्किन आग्रह गरेको थियो । सोही कारण शनिबारदेखि नै बन्द हुनथालेको काठमाडौंका होटल, डिपार्टमेन्टल स्टोर, होलसेल बजारहरु आइतबार धेरै बन्द थिए । सोमबारदेखि सार्वजनिक यातायातका साधन नै रोक्न सरकारले आग्रह गरेको कारण यसको प्रभाव अझै पर्ने देखिन्छ ।

शुक्रबारसम्म धेरै चहलपहल भइरहेको काठमाडौंका मुख्य बजारहरु आइतबार सुनसान थिए । होटलहरु बन्द भएपछि खाना पकाउने ग्यासको बिक्री नै घटेको गोंगबुको नयाँबसपार्क नजिकैका ग्यास बिक्रेता मुकेश श्रेष्ठले आर्थिक दैनिकलाई बताए । दशैंको बेला मानिसहरुले दैनिक उपभोग्य वस्तु र कपडाहरु खरिद गरेर मात्र सहर छाड्ने गरेकामा कोरोना त्रासका कारण कुनै पनि वस्तु खरिद नगरी आमसार्वसाधारणले काठमाडौं उपत्यका छाड्दा ग्यासको माग नै घटेको छ । ‘अधिकांश होटलहरु बन्द छन् । होटल नै बन्द भएपछि ग्यासको माग घटेको छ’, उनले भने, ‘आइतबार एक गाडी एसटीसी ग्यास पसलमा झारे पनि खरिद गर्ने नआएपछि बाँकी नै छ । सोमबार नेपाल ग्यास आएपछि सबैको माग पूरा हुन्छ ।’

ग्यास खरिद गर्ने नआए पनि पसल भने नियमित रुपमा खोल्नुपर्नेछ । धेरैजसो मानिसले सहर छाडेको र होटलमा गएर खानेहरु नै नभएपछि होटलहरु बन्द भएका हुन् । होटल नै बन्द भएपछि ग्यास बिक्री हुने नै भएन । धेरैले ग्यास स्टक राखेको कारण अबको एक महिना व्यापार नै नहुने उनको भनाइ छ । ग्यास मात्र होइन चामलहरु पनि एक साता अगाडिको जति बिक्री हुनेछैन ।

कोरोना त्रासले काठमाडौंको मात्र होइन बाहिरी जिल्ला र राजमार्ग क्षेत्रका होटलहरु पनि सुनसान हुनथालेको छ । होटलमा भीडभाड हुने भएको कारण सरकारले नै होटलहरुमा गएर नखान सर्वसाधारणलाई अपिल गर्दै आएको छ । सोही कारण होटलको व्यापार सुकेको हो । होटल नै चल्न छाडेपछि ग्यास तथा उपभोग्य वस्तुको बिक्रीको चाप घटेको हो । बजारमा व्यक्तिगत उपभोगका लागि मात्र सामान खरिद गर्नेछन् । अझ तीमध्ये पनि धेरैजसो आफ्नो गाउँ फर्किएको कारण सामान खरिद गर्नेको संख्या घट्न पुगेको हो ।

होटल, रेस्टुराँ क्षेत्रमा ग्यास र दैनिक उपभोग्य वस्तुको बिक्रीमा कमी आए पनि अन्य क्षेत्रमा गलत हल्लाको कारण खरिद गर्नेको भीड लागेको छ । यद्यपि नाकाबन्दीको बेलामा जस्तो भीड भने लागेको छैन । सरकारले सार्वजनिक यातायात सञ्चालनमा कडाइ गरे पनि दैनिक उपभोग्य वस्तु बोक्ने गाडीहरुमा भने रोक लगाएको छैन । सोही कारण बजारमा सामानको अभाव हुने अवस्था भने छैन । उद्योग वाणिज्य महासंघ तथा संघहरुले पनि विज्ञप्ति प्रकाशित गरी ग्यास, पानी, दूध तथा दैनिक उपभोग्य वस्तुको नियमित आपूर्तिमा सहयोग गर्न व्यापारीहरुलाई आग्रह गर्दै आएको छ ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमण भएको पुष्टि भएको छैन । कोरोना नभित्रिए पनि सरकारले रोकथामको लागि प्रयास गर्दै भीडभाड बन्द गर्ने निर्णय गरेको कारण सार्वसाधारणले सरकारको भनाइलाई मान्दै व्यवसाय बन्द गर्न थालेका हुन् । कोभिड–१९को सङ्क्रमणलाई ध्यानमा राखेर नेपाल व्यापार सङ्घले यही चैत २१ गतेसम्म व्यापार व्यवसाय बन्द गर्ने भएको छ । सङ्घको आइतबार बिहान बसेको पदाधिकारी बैठकले कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि फैलिनसक्ने जनाउँदै सो दिनसम्म सम्पूर्ण बजार बन्द गर्ने निर्णय गरेको हो । सङ्घका अध्यक्ष कुमार कार्कीले सरकारले अत्यावश्यकबाहेक सेवा बन्द गर्ने निर्णय गरेकाले सङ्घले पनि बजार बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया