Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैदेशिक रोजगारीमा रहेका युवा गन्तव्य मुलुकमै सुरक्षित बस्दा राम्रो सरकार भन्छ : उपचारको समस्या हुँदैन, फर्किन चाहनेले आउन पाउँछन्

वैदेशिक रोजगारीमा रहेका युवा गन्तव्य मुलुकमै सुरक्षित बस्दा राम्रो सरकार भन्छ : उपचारको समस्या हुँदैन, फर्किन चाहनेले आउन पाउँछन्


काठमाण्डौं,चैत ११

सरकारले ४० लाखभन्दा बढी युवाहरु वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकमा रहेको बताएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२० मार्फत सो कुराको जानकारी दिएको हो । वैदेशिक रोजगारीमा जाने युवाको संख्या ४० लाखभन्दा बढी छ । विश्वभर फैलिएको नोवल कोरोना भाइरस (कोभिड १९) का कारण विश्वमा एक किसिमको त्रास फैलिएको छ । सोही त्रासका बीचमा वैदेशिक रोजगारीमा गएका ४० लाखभन्दा बढी युवाहरु विदेशमा छन् । तर, मन्त्रालयका अधिकारी, श्रम विज्ञ, विदेशमा रहेका युवा लगायतले विदेशमा रहेका युवाहरुलाई गन्तव्य मुलुकमा सुरक्षित रहन आग्रह गरेका छन् ।युवाहरुलाई गन्तव्य मुलुकमा बस्नु उपयुक्त हुने अधिकारीहरुको भनाइ छ । नेपालमा १ जनामा कोरोना संक्रमण सोमबार पुष्टि भएको छ । मन्त्रालयका सह–सचिव एवम प्रवक्ता सुमन घिमिरले कोरोना फैलिन नदिनको लागि गन्तव्य मुलुकमा रहेका नेपाली कामदारहरुलाई सोही स्थानमा सुरक्षित रहन आग्रह गरेका छन् । ‘चीनको वुहानमा देखापरेको कोरोना भाइरस मानिसबाट मानिसमा सरेको कारण विदेशमा रहेका नेपाली स्वदेश फर्किँदा जोखिम मोल्नुपर्ने हुन्छ, हवाइ यात्रामार्फत स्वदेश फर्किनुपर्ने हुन्छ’, उनले भने, ‘सोही क्रममा संक्रमणको जोखिमलाई ध्यानमा राखी केही समयको लागि काम गरिरहेको मुलुकमा सुरक्षित बस्दा उपयुक्त हुन्छ ।’

उनले काम गरिरहेको मुलुकमा सुरक्षित भन्नुको अर्थ स्वदेश नफर्किन भन्न खोजेको अर्थमा नबुझ्न आग्रह गरे । यद्यपि कोरोनाको संक्रमणबाट स्वदेशमा रहेका तथा विदेशमा रहेका नेपाली नागरिकहरुको सुरक्षाको लागि सो कुरा भनिएको उनको भनाइ छ । यसैबीच गन्तव्य मुलुकमा रहेका युवाहरु स्वदेश फर्किनका लागि कुनै रोकावट नरहेको मन्त्रालयले जानकारी दिएको छ ।‘आफ्नो मुलुक फर्किन चाहने युवाको हकमा कुनै रोक छैन तर नेपालमा भन्दा गन्तव्य मुलुकमा रहँदा स्वदेशमा रहेका र विदेशमा रहेका युवाहरु सुरक्षित हुन्छन् भने स्वदेश नै आउनुपर्छ भन्ने छैन’, उनले भने, ‘विदेशमा रहेका युवाहरुलाई स्वदेश फर्किने विषयमा केही समयको लागि धैर्यधारण गर्न आग्रह गर्छु ।’ यसो गर्दाै उनीहरु र स्वदेशमा रहेका नेपालीहरु समेत सुरक्षित रहन ठूलो राहत हुने उनको भनाइ छ । उनले विश्व स्वास्थ्य संगठनले समेत कुनै एक मुलुकबाट अर्को मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागि अति आवश्यक कामबाहेक अन्य कामको लागि यात्रा नगर्न आग्रह गरेको भन्दै सो विषयलाई नेपाली युवाले विशेष ख्याल गर्नुपर्ने बताए ।वैदेशिक रोजगारीको लागि जुनसुकै मुलुकमा रहेका नेपाली भए पनि स्वदेश फर्किन चाहना युवा तथा असहज परिस्थिति आएमा सरकारले त्यसको लागि सहयोग गर्ने सदैव तयार रहेको मन्त्रालयले जनाएको छ । ‘हामीले विदेशमा रहेका नेपाली दूतावास तथा नियोगहरुमार्फत कोरोना भाइरसबाट सुरक्षित रहन तथा असहज अवस्था भएमा सम्पर्क गर्नको लागि आग्रह गरेका छौँ’, उनले भने, ‘यसको साथै नियोगहरुले गन्तव्य मुलुकमा रहेका युवाहरुसँग समन्वय समेत अघि बढाइरहेको छ ।’ उनले वैदेशिक रोजगारीमा गएका प्रत्येक युवाहरुको बीमा गरिएको हँुदा स्वास्थ्य उपचारमा कुनै समस्या नहुने बताउँदै विश्व नै कोरोना संक्रमण रोक्नको लागि प्रयास गरेको समयमा विदेशमा रहेका युवा कामदारलाई अप्ठ्यारो परिस्थिति नआउने बताए ।यस्तै श्रमविज्ञ डा. जीवन बानियाँले गन्तव्य मुलुकको स्वास्थ्य क्षेत्र नेपालको भन्दा राम्रो रहेको बताउँदै युवाहरु स्वदेश फर्किनुभन्दा उतै सुरक्षित बस्नु राम्रो भएको बताए ।

‘गन्तव्य मुलुकहरुको स्वास्थ्य क्षेत्र नेपालको भन्दा अब्बल रहेको छ अर्थात् स्रोत साधनसहितको छ’, उनले भने, ‘उनीहरुको अवस्था राम्रो राख्नको लागि सरकार तथा विदेशमा रहेका कूटनीतिक नियोगहरुले प्रमुख भूमिका खेल्नुपर्ने हुन्छ । कामदारहरुको स्वास्थ्य अवस्था राम्रो राख्न सुनिश्चितता गरेको छ÷छैन, सो विषय नियोगहरुले हेर्नुपर्छ भने उनीहरु सक्रिय हुनु समेत अत्यन्त आवश्यक छ ।’उनले रोजगारदाता वा रोजगारदाता मुलुकले नेपाली श्रमिकको स्वास्थ्य अवस्थालाई बुझ्ने, परीक्षण गर्ने र सहज उपचारको व्यवस्था गरे÷नगरेको बारेमा नियोगहरुले निरन्तर जानकारी लिनुपर्ने बताए । ‘आप्रवासन वा वैदेशिक रोजगारीमा गएकाहरुको हकमा संयुक्त राष्ट्रसंघले निर्माण गरेका रक्षात्मक नियमहरु छन् । यसको प्रयोग समेत रोजगारदाता मुलुकले गर्नु आवश्यक छ । यस्ता नियम पालना भएको छ छैन कामदारहरु सुरक्षित छन्÷छैनन्, उपचार पाएका छन्÷छैनन् भन्ने विषयमा नेपाल सरकार चनाखो हुनुपर्छ’, उनले भने, ‘विदेशमा रहेका युवाहरुलाई एकै पटक स्वदेश ल्याउनसक्ने अवस्था समेत छैन, सो विषयलाई युवा तथा सरोकारावालाहरुले बुझन आवश्यक छ ।’यस्तो अवस्थामा सबैले आफ्नो नागरिकलाई प्राथमिकतामा राख्ने तथा गैरनागरिकहरुलाई दोस्रो तहमा राख्ने हुँदा सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । उनले गन्तव्य मुलुकमा रहेका युवाहरुको अवस्थाको बारेमा भने सरकारलाई ज्ञान हुनुपर्ने बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवम स्वास्थ्य समन्वय महाशाखाका प्रमुख डा. विकास देवकोटाले वैदेशिक रोजगारीमा गएका युवाहरुलाई कोरोना भाइरसको बारेमा जानकारी गराइरहेको बताए । ‘वैदेशिक रोजगारीमा गएका युवाहरुमा कोरोना भाइरसको समस्या देखापरेमा सम्बन्धित मुलुकले उपचार गर्ने छ’, उनले भने, ‘युवाहरुले सावधानी अपनाएर बस्नु आवश्यक छ ।’उनले कोरोना भाइरसबाट बच्नको लागि दूतावास, नियोग तथा विभिन्न संघ÷संस्थामार्फत सूचना प्रवाह गरिहेको बताए । वैदेशिक रोजगारीको क्रममा दक्षिण कोरियाको उल्सन सहरमा रहेका ३३ वर्षीय कुमार विष्टले आफूहरु स्वदेश फर्किनभन्दा पनि गन्तव्य मुलुकमै सुरक्षित भएर बसेको बताए ।‘कोरोना भाइरसको संक्रमण बढेसँगै हामीलाई कम्पनी तथा कोरियाको सरकार र विभिन्न संघ संस्थाहरुले सुरक्षित रहन निर्देशन दिएका छन्’, उनले भने, ‘सोहीअनुरुप तयारी गरी हामीहरु सुरक्षित रहेका छौँ ।’ होन्डाई कम्पनीमा कार्यरत विष्टसँग मेसेन्जरमा गरिएको कुराकानीमा उनले भने, ‘घरबाट बाहिर ननिस्कनको लागि गरिएको आग्रहलाई मान्दै आएको तथा मास्क, सेनिटाइजर लगायतको सामग्री प्रयोग गर्दै आएका छौं । छुटाछुटै बस्दै आएका छौं ।

’उनले आफूहरु बसेको स्थानमा चिन्ताजनक अवस्था नरहेको समेत बताए ।स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै फ्रान्सबाट आएकी १९ वर्षीया एक युवतीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार काठमाडौं उपत्यकाकी स्थानीय बासिन्दा ती युवतीमा दोस्रो पटक परीक्षण गर्दा पोजेटिभ अर्थात् कोरोना संक्रमण देखिएको हो ।वैदेशिक रोजगारीको क्रममा मलेसिया गएका ३७ वर्षीय विकास श्रेष्ठले भने नियमित कार्यालय गइरहेको बताए । मलेसियाको पोर्ट कलाङ सहरस्थित एक कम्पनीमा कार्यरत उनले कोरोना भाइरसको जोखिम बढ्दै गए पनि नियमित कार्यालय गइरहेको र संक्रमणलाई लिएर डराउनुपर्ने अवस्था नरहेको बताए ।‘सुरक्षाको उपाय अपनाएका छौं, अन्य साथीहरु पनि काममा गइरहेका छन्’, उनले भने, ‘मलेसिया सरकार तथा कम्पनीले सुरक्षित रहन निर्देशन दिएको छ, सोहीअनुरुप अघि बढेका छौँ ।’ उनी २०१८ मा कामका लागि मलेसिया गएका हुन् । सरकारले १ सय १० मुलुकलाई संस्थागत रुपमा वैदेशिक रोजगारीमा जान खुला गरेको छ भने व्यक्तिगत श्रम स्वीकृतिमा करिब १ सय ७२ मुलुकमा नेपाली कामका लागि गएको पाइन्छ । युवाहरु मलेसिया, खाडी, जापान, दक्षिण कोरिया, पोर्चुगललगायतका मुलुकमा काम गर्न गएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया