Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोभिड–१९ : जोखिम रोक्न सेनाको तयारी

कोभिड–१९ : जोखिम रोक्न सेनाको तयारी


काठमाण्डौं,चैत ११

 नेपाली सेनाले विश्वभर फैलिँदै गएको कोभिड–१९ को जोखिमलाई मध्यनजर गरी यसको रोकथाम तथा जोखिम न्यूनीकरण व्यवस्थापनका लागि आवश्यक तयारी सुरु गरेको छ । कोभिड–१९ संक्रमणसम्बन्धी कुनै घटना फेला परेमा सेनाका चिकित्सकसहितको मुख्य टोली गठन गरी सम्पूर्ण युनिट र सबयुनिट तथा अन्य सरकारी निकायसँग आवश्यक समन्वय गर्ने संयन्त्रको व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाले कोभिड–१९ जोखिम नियन्त्रण सम्बन्धमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरी ‘क्वारेन्टाइन क्याम्प सेट अप’ गर्न तथा उक्त भाइरसविरुद्ध रोकथामका उपायसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दिइसकेको जनाएको छ । उक्त प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीले आफू कार्यरत युनिटमा गई सचेतनामूलक कार्यक्रम सञ्चालन गरी स्थानीयस्तरमा ‘क्वारेन्टाइन क्याम्प सेट अप’ गर्ने कार्य सुरु गरिएको निर्देशनालयले जनाएको छ ।

हालसम्म सेनाले प्रत्येक प्रदेशमा क्वारेन्टाइन र आइसोलेसन वार्ड तयार गरेको छ भने नेपाल सरकारले सीमामा स्थापना गरेका हेल्थ डेक्समा समेत दक्ष स्वास्थ्यकर्मीलगायत सुरक्षाका लागि सैनिक अधिकारी परिचालन गरिएको छ । विभिन्न जिल्लामा प्रदेश सरकारसँगको समन्वयमा नेपाली सेनाले स्थानीयस्तरको क्वारेन्टाइन तथा आइसोलेसन वार्ड तयार गर्न सहयोग गरिरहेको छ । कोभिड–१९ सम्बन्धी रोकथाम तथा न्यूनीकरणका लागि राष्ट्रिय सेवा दलबाट तालिमप्राप्त विद्यार्थीलाई स्वयंसेवकका रुपमा सचेतना कार्यका लागि परिचालन गर्न सुरु गरिएको छ । सेनाले परिचालित सकल दर्जाको सुरक्षाका लागि आवश्यक ‘व्यक्तिगत सुरक्षा उपकरण’ (पीपीई), मास्क, पञ्जा तथा सेनिटाइजर उपलब्ध गराउनुका साथै मास्क पीपीई तथा सेनिटाइजरको उत्पादनसमेत सुरु गरिसकेको छ । कोभिड–१९ सम्बन्धी सरकारको निर्देशनअनुसार सेनाले आयोजना गर्ने विभिन्न समारोह, कार्यक्रम, तालीम, दैनिक रुपमा हुने पिटी परेडमा समेत आवश्यक उच्च सतर्कता अपनाइएको जनाएको छ । सेनाका सकल दर्जालाई कोभिड–१९ बारे जानकारी गराई विशेष परिस्थिति र आवश्यकताका आधारमा मात्र बिदा छाड्ने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।विदाबाट फर्किएका व्यक्तिलाई अनिवार्य रुपमा ‘इण्डोर क्वारेन्टाइन’मा राखी एकीनपश्चात् ड्युटीमा लिने व्यवस्था गरिनाका साथै कोभिड–१९ विरुद्ध ब्यारेकभित्रका सकल दर्जाको सम्पूर्ण सुरक्षा व्यवस्थाको प्रबन्ध गरिएको निर्देशनालयले जनाएको छ । ब्यारेक हाताभित्रका बासस्थानमा समेत ओछ्यानको दूरी घटीमा एक मिटरमा राख्ने र सकल दर्जालाई ब्यारेक हाताभित्र नै लक डाउन गरिएको जनाइएको छ । कोभिड–१९को संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारबाट प्राप्त जिम्मेवारी वहन गर्न सेना तयार रहेको निर्देशनालयले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया