Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘लक डाउन’मा पहिलो दिनमै लापरबाही छिमेकी भारतमा २१ दिने ‘लक डाउन’ ८३ जना पक्राउ÷१५ सय सवारीसाधन प्रहरी नियन्त्रणमा

‘लक डाउन’मा पहिलो दिनमै लापरबाही छिमेकी भारतमा २१ दिने ‘लक डाउन’ ८३ जना पक्राउ÷१५ सय सवारीसाधन प्रहरी नियन्त्रणमा


काठमाण्डौं,चैत १२

विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट जोगाउन भन्दै सरकारले मंगलबारदेखि एक साताको लागि देशभर ‘लक डाउन’ गरे पनि पहिलो दिन नै आफ्नो स्वास्थ्यलाई खेलबाड गरी व्यक्तिहरुले यसको लापरबाही गरेका छन् । भीडभाडमा जाँदा संक्रमण बढ्ने भएको कारण प्रत्येक व्यक्तिले आफूलाई छुट्टै राख्नुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ । चीनको बुहानबाट कोरोना भाइरस सुरु भएपछि त्यहाँ चीन सरकारले ‘लक डाउन’ गरेको थियो । ‘लक डाउन’ गरेपछि त्यहाँ संक्रमणको दर घटेपछि विश्वभर नै यही विधि अपनाइएको छ । अहिले युरोप र अमेरिका पनि ‘लक डाउन’ विधि अपनाउन बाध्य छन् । नेपालले पनि चैत ११ गतेदेखि १८ गतेसम्म त्यही ‘लक डाउन’ को विधि अपनाएको हो । यो विधिको कारण कोरोना भाइरस फैलिने सम्भावना हुँदैन । विश्वमा कतै पनि यो रोगको औषधि पत्ता नलागेको कारण ‘लक डाउन’बाहेक अहिले अर्को उपाय छैन । सरकारले जनतालाई उनीहरुकै स्वास्थ्यको लागि घरघरमै बस्न आग्रह गरे पनि जनताले भने सरकारी निर्णयलाई अवज्ञा गरी आफ्नो ‘जित’ देखाउन विना काम बाहिर निस्किने र साँझ परेपछि कफ्र्युको खुकुलो बेला जसरी टोल–टोलमा भेला भएर ‘लक डाउन’को लापरबाही गरेका छन् । भेला भएर छलफल गर्दा आफ्नै स्वास्थ्यमा गम्भीर असर पर्ने सरकारले बताउँदै आएको छ ।

‘लक डाउन’को अवज्ञा काठमाडौं उपत्यकामा मात्र नभई देशभर भएको छ । ‘लक डाउन’को अवज्ञा गर्न भारतीय सीमा क्षेत्रबाट दबाब आएपछि सरकारले मंगलबार एक दिनका लागि भनेर पूर्वको मेची भन्सारदेखि सुदूरपश्चिमको महाकालीबाट पनि भारतमा बसेकाहरुलाई नेपाल फर्किन दिएको छ । उनीहरुलाई आफ्नै जिल्ला र सम्बन्धित गाउँपालिका तथा नगरपालिकामा लगेर होम क्वारेन्टाइनमा राखिनेछ । भारतमा मंगलबार रातिदेखि २१ दिनका लागि ‘लक डाउन’ घोषणा गरिएको कारण बुधबारदेखि नेपाल भित्रिनेको संख्या घट्ने अपेक्षा गरिएको छ । यद्यपि भारतस्थित नेपाली दूतावासले भने सबै नेपालीलाई आफू जुन स्थानमा कार्यरत हो, त्यही स्थानमा बस्न आग्रह गर्दै मंगलबार नै विज्ञप्ति प्रकाशित गरेको थियो ।सरकारले जनस्वास्थ्यलाई ध्यान दिँदै मंगलबार बिहान ६ बजेदेखि १८ गते मंगलबार बिहान ६ बजेसम्म सबैलाई घरघरमै बस्न भनेको हो । उनीहरुलाई साँझ र बिहान पनि हिँड्डुल गर्न छुट दिएको छैन । हिँड्डुल गर्दा मानिसको भीडभाड बढ्ने र कोरोना रोग सर्ने भएकाले सरकारले पूरै देशलाई बन्द गर्ने निर्णय गरेको हो । ‘लक डाउन’को अवज्ञा गर्दै चलाएका झण्डै साढे तीन सयवटा मोटरसाइकलको चाबी पोखराबाट खोसेको छ । २ नम्बर प्रदेशमा पनि अवज्ञा गर्नेहरुको गाडी तथा मोटरसाइकलको चाबी खोसिएको प्रहरीले बताएको छ । उनीहरुलाई १८ गते मात्र चाबी फिर्ता दिइनेछ । ‘लक डाउन’को अवज्ञा गरेमा गृह मन्त्रालयले स्थानीय प्रशासनलाई कफ्र्यु लगाउने आदेश दिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिएका छन् ।

‘मानिसहरुलाई उनीहरुकै स्वास्थ्यको लागि बाहिर निस्किन रोकिएको हो’, गृह मन्त्रालयका अर्का एक अधिकारीले भने, ‘कोरोना महामारीको रुपमा फैलियो भने नेपालमा अहिलेको जनशक्तिले उपचार गर्न हम्मेहम्मे पर्छ । यसमा सर्वसाधारण आफैंले बुझ्नुपर्ने हो । लापरबाही गरे भने बुधबारदेखि थप कडाइ गरिनेछ ।’‘लक डाउन’को अवज्ञा गर्ने देशभरबाट एक हजार पाँच सय ७१ वटा सवारीसाधनको चाबी खोसिएको ट्राफिक प्रहरीले जनाएको छ । त्यस्तै ६८ जना पक्राउ परेका छन् । केहीलाई जाँचबुझ गरेर छाडिए पनि केहीलाई भने हिरासतमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले पर्साबाट तीन, सिरहाबाट दुई, धनुषाबाट एक, कपिलवस्तुबाट १४, कैलालीबाट ३१, रुपन्देहीबाट सात, झापाबाट चार, सुनसरीबाट चार जनालाई नियन्त्रणमा लिएको हो । यस्तै, चितवनबाट पनि केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले लक डाउनको अवज्ञा गर्नेलाई पक्राउ गरी कारबाही गर्ने भएको छ । कोभिड १९ ९कोरोना भाइरस०को सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले जारी गरेको लक डाउनको अनुगमनका क्रममा केही स्थानमा उल्लङ्घन भएको पाइएपछि सो कार्यालयले कारबाही गर्ने जनाएको हो । जिल्ला प्रहरी कार्यालय प्युठानले लक डाउन अवज्ञा गर्नेलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ । दाङको भालुवाङबाट प्यूठान आउँदै गरेका ३५ वटा मोटरसाइकलमा सवार ५७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया