Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालको बाह्य व्यापार सुधारको बाटोमा व्यापारमा हालसम्म कोरोनाभाइरसको असर देखिएको छैन : निर्देशक घिमिरे

नेपालको बाह्य व्यापार सुधारको बाटोमा व्यापारमा हालसम्म कोरोनाभाइरसको असर देखिएको छैन : निर्देशक घिमिरे


काठमाण्डौं,चैत १३

पछिल्लो समय नेपालको व्यापारस्थितिमा सुधार देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७६÷०७७ को आठ महिना साउनदेखि फागुनसम्मको अवधिमा गत आवको सोही अवधिको तुलनामा व्यापारमा सुधार देखिएको हो । समीक्षा अवधिमा भारतलगायत तेस्रो मुलुकसँग नेपालको निर्यात बढेको र आयात घटेको देखिएको छ । उक्त आठ महिनामा नेपालले नौ खर्ब २४ अर्ब २४ करोड २६ लाख ३५ हजार मूल्यबराबरको सामग्री आयात गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा दुई दशमलव ६२ प्रतिशतले कम हो । गत आवमा नौ खर्ब ४९ अर्ब १० करोड ९८ लाख २८ हजार मूल्यबराबरको सामग्री आयात भएको थियो । यो अवधिमा तेस्रो मुलुकमा गरिने वस्तु निर्यात बढेको छ । नेपालबाट आठ महिनामा ७४ अर्ब ९० करोड ७९ लाख ४६ हजार मूल्यबराबरको सामग्री भारतलगायत तेस्रो मुलुकमा निर्यात भएको छ । गत आवको तुलनामा यो २२ दशमलव ३५ प्रतिशतले बढी भएको विभागले जनाएको छ । गत आवको सोही समयमा ६१ अर्ब २२ करोड ४२ लाख ८९ हजार मूल्यबराबरको सामग्री निर्यात भएको थियो ।

उक्त अवधिमा व्यापारघाटा आठ खर्ब ४९ अर्ब ३३ करोड ४६ लाख ८९ हजार रुपैयाँ छ । जुन गत आवको सोही समयको तुलनामा चालू आवमा चार दशमलव ३४ प्रतिशतले कमी हो । गत आवको सोही समयमा व्यापारघाटा आठ खर्ब ८७ अर्ब ८८ करोड ५५ लाख ३९ हजार रुपैयाँ थियो । त्यस्तै कुल वैदेशिक व्यापार नौ खर्ब ९९ अर्ब १५ करोड पाँच लाख ८१ हजार रुपैयाँ छ । जुन गत आवको तुलनामा एक दशमलव ११ प्रतिशतले कम हो । गत आवमा नेपालको तेस्रो मुलुकसँग कुल वैदेशिक व्यापार दश खर्ब दश अर्ब ३३ करोड ४१ लाख १८ हजार रहेको थियो । आयातनिर्यातको अनुपात हेर्दा चालू आवमा १२ दशमलव तीन प्रतिशत र गत आवमा १५ दशमलव पाँच प्रतिशत रहेको छ । जुन गत आवको तुलनामा चालू आवमा २० दशमलव ४० प्रतिशतले कम हो । कुल निर्यात व्यापार सूचक गत आवमा छ दशमलव एक प्रतिशत रहेकोमा चालू आवमा सात दशमलव पाँच प्रतिशत रहेको छ । जुन गत आवको तुलनामा चालू आवमा २३ दशमलव ७२ प्रतिशतले वृद्धि हो ।
यस्तै गत आवमा कुल आयात व्यापार सूचक गत आवमा ९३ दशमलव नौ प्रतिशत रहेकोमा चालू आवमा ९२ दशमलव ५ प्रतिशत छ । गत आवको तुलनामा यो एक दशमलव ५३ प्रतिशतले कम हो । यसैगरी समीक्षा अवधिमा जुस, फलफूल, बदाम, चिया तथा कफी, डेरीका सामग्री, माछामासु, औषधिजन्य वस्तु, फलाम तथा स्टिललगायतको सामग्रीको आयातमा समेत कमी आएको छ । उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा पाम आयल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैंचा, भटमासको तेल, तयारी पोशाक, जुट तथा जुटनका सामानहरु, अलैंची, जुस, चिया, कपडा, फलाम तथा स्टिल, फेल्ट र पश्मिना सल प्रमुख रुपमा रहेका छन् । नेपालको निकासी व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, बेलायत, टर्की, चीन, बंगलादेश, फ्रान्स, जापान, इटाली, क्यानडा, अष्ट्रेलिया, स्विट्जरल्यान्ड प्रमुख छन् ।

नेपालको पैठारी व्यापारमा भारत, चीन, इण्डोनेसिया, युएई, अमेरिका, क्यानडा, स्विट्जरलेण्ड, दक्षिण अफ्रिका, थाइल्याण्ड, साउदी अरेबिया, अर्जेन्टिना, दक्षिण कोरिया, युक्रेन, फ्रान्स प्रमुख छन् । विभागका निर्देशक शिशिर घिमिरेले नेपालमा आयातनिर्यात नियमित हँुदा विश्वभर फैलिएको नोवल कोरोना भाइरस (कोभिड १९) नेपालको व्यापारमा असर नपरेको बताए । अन्तर्राष्ट्रियस्तरमा हुने आयातनिर्यातअनुसार व्यापार चलिरहेको हुँदा नेपालको कारोबारमा असर नदेखिएको उनले बताए । घिमिरेले आर्थिक दैनिकसँग भने, ‘त्यसमाथि नेपालको ठूलो व्यापार भारतसँग हुने हुँदा सो विषयमा समस्या नहुँदा पनि आयातनिर्यात सूचक राम्रो देखिएको हो ।’ त्यसैले गर्दा कोरोनाको संक्रमण चीनलगायत तेस्रो मुलुकमा देखापर्दा पनि नेपालको व्यापारमा हालसम्म असर नदेखिएको उनले दाबी गरे । गत फागुनसम्ममा नेपालमा उत्पादित सामग्री निरन्तर रुपमा निर्यात भएको समेत उनले बताए । नेपाली व्यवसायीले सामान आयातनिर्यात गर्दा विशेष गरी भारतको कलकत्ता बन्दरगाह प्रयोग गर्ने र कोरोना भाइरसको आतंकको बीच पनि बन्दरगाह सहज रुपमा प्रयोग गर्दै आएको कारण कारोबार सहज भएको उनको भनाइ छ । विभागका अनुसार नेपालले भारत हुँदै तेस्रो मुलुकसँग विशेषगरी हस्तकलाका सामग्री तथा कृषिजन्य वस्तुहरु निर्यात गर्दै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया