Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलकडाउनमा होमडेलिभरीको व्यवस्था, नागरिकलाई राहत

लकडाउनमा होमडेलिभरीको व्यवस्था, नागरिकलाई राहत


काठमाण्डौं,चैत १४

सरकारले अति आवश्यक वस्तु तथा सेवाको होमडेलिभरी गर्ने भएको छ । सरकारले कोरोना भाइरसको संक्रमण रोक्न हाल गरिरहेको लकडाउनको अवस्थामा अत्यावश्यकीय वस्तु तथा सेवाहरुको उत्पादन र आपूर्तिलाई व्यवस्थित र सहज बनाउनको लागि ती वस्तु तथा सेवाहरुको होमडेलिभरी गर्ने भएको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको संयोजकत्वमा बुधबार उद्योग मन्त्रालयका बसेको बैठकले नागरिकहरुको सहजताको लागि आवश्यक वस्तु तथा सेवा अर्थात् दैनिक उपभोगका लागि नभई नहुने खाद्यान्न, तरकारी, फलफूल, मासु, दूध तथा दूधजन्य पदार्थ, पानी, साबुनलगायतका सरसफाइका वस्तुहरु, चिनी, तेल, शिशु आहार, पशुपन्छीजन्य आहारलगायतका अत्यावश्यक वस्तुहरुको होमडेलिभरी गर्ने निर्णय गरेको हो । उद्योगमन्त्री भट्टले लकडाउनको अवस्थामा नागरिकहरुको सहजताको लागि आवश्यक वस्तु तथा सेवाको होमडेलिभरीको व्यवस्था गरेको बताए । मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश दाहालले बैठकले उपभोग्य वस्तुको आपूर्तिसँग सम्बन्धित सरकारी संस्थाहरु खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड तथा निजी क्षेत्रका ठूला खाद्य स्टोर तथा पसलहरुले आफ्नो क्षेत्रभित्र मोबाइल भ्यानमार्फत होम डेलिभरी गर्ने प्रबन्ध मिलाउन समेत निर्देशन दिएको बताए । नेपालमा नियमानुसार दर्ता भई सञ्चालनमा रहेका अत्यावश्यक वस्तु तथा सेवाहरुको अनलाइनमार्फत आपूर्तिमा संलग्न कम्पनीहरुले आपूर्ति गर्ने वस्तु तथा सेवाहरुको एवं संलग्न जनशक्तिको स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पूरा गरी मागका आधारमा होम डेलिभरी गर्ने कार्यलाई सुचारु राख्न बैठकले निर्देशन दिएको छ भने अत्यावश्यक वस्तुहरुको उत्पादकदेखि थोक बिक्रेतासम्म र थोक बिक्रेतादेखि खुद्रा बिक्रेतासम्म ढुवानीका साधनहरुको सञ्चालन गर्न तथा उत्पादन र बिक्री वितरणमा संलग्न हुने जनशक्तिलाई आवागमन गर्न अनुमति दिन र उपभोक्तालाई बिक्री केन्द्रसम्मको पहुँच सहज बनाउन गृह मन्त्रालयले आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ ।

मन्त्रालयले आवश्यक वस्तुसम्बन्धी उद्योग सञ्चालन, वस्तु ढुवानी तथा बिक्री वितरण कार्यमा सम्भव भएसम्म न्यूनतम सवारीसाधन र जनशक्तिको प्रयोग गर्ने र त्यस्ता जनशक्तिलाई ल्याउन तथा पु¥याउन सम्बन्धित उद्योग एवं बिक्रेताले सवारीसाधनको व्यवस्था गर्ने तथा उनीहरुको स्वास्थ्य र सुरक्षाका लागि आवश्यक प्रवन्ध मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ भने स्थानीय तहहरुले वडास्तरमा दूध, तरकारी, फलफूललगायत अन्य खाद्यवस्तु बिक्रीवितरण गर्ने पसलहरुमा भीडभाड नहने, मास्क र स्यानिटाइजरको प्रयोग गर्ने र ग्राहकहरुबीच भौतिक दूरी कायम हुने गरी सञ्चालन गरी सहजीकरण गर्न समेत आग्रह गरेको छ ।उनले मन्त्रालयले अत्यावश्यक वस्तुहरुको खरिदबिक्री गर्ने क्रममा संक्रमणको जोखिम हुन नदिन उपभोक्ताहरुबीच निश्चित दूरी कायम गर्न सम्बन्धित बिक्रेताले आवश्यक प्रबन्ध मिलाउने तथा यस सम्बन्धमा आम उपभोक्ता स्वयं सचेत र सजग हुन समेत आग्रह गरेको छ भने सञ्चारमाध्यम र सुरक्षाकर्मीले सचेतना अभिवृद्धि गर्न आवश्यक कार्य गर्नको लागि समेत निर्देशन दिएको बताए । औषधि तथा औषधिजन्य वस्तु र स्वास्थ्य उपकरण, खाद्यान्न, तरकारी, फलफूल, माछामासु, दुध तथा दुधजन्य पदार्थ, पानी, सरसफाइका वस्तुहरु, चिनी, तेल, पशुपन्छीजन्य आहार, इन्धन जस्ता वस्तुहरुको उत्पादन गर्ने सरकारी तथा निजी उद्योगहरु र बिक्रीवितरण गर्ने थोक तथा खुद्रा बिक्री केन्द्र (पसल)हरु नियमित सञ्चालन गर्न समेत सम्बन्धित निकायलाई आग्रह गरेको बताउँदै उनले भने, ‘ती वस्तुहरु र तीनको कच्चापदार्थको ढुवानीमा संलग्न सवारीसाधनहरुलाई बजारसम्म वा बजारबाट आफ्नो गन्तव्यसम्म निर्बाध आवागमन गर्न गृहले अनुमति दिन समेत आग्रह गरेको छ  । मन्त्रालयले आवश्यक वस्तुहरु उत्पादन गर्ने उद्योग तथा बिक्री वितरण गर्ने वितरक वा बिक्रेताले संक्रमण जोखिम नहुने गरी आफू कहाँ कार्यरत जनशक्तिका लागि स्यानिटाइजर, मास्कको व्यवस्था गर्ने, भीडभाड नहुने व्यवस्था गर्ने, २५ जनाभन्दा बढी व्यक्ति एक ठाउँ नरहने व्यवस्था साथै शंकास्पद बिरामीलाई स्वास्थ्य संस्था पछ्याउने व्यवस्थासहित कार्यसञ्चालन गर्न आग्रह गर्दै उसले दैनिक उपभोगका लागि नभई नहुने खाद्यान्न, तरकारी, फलफूल, मासु, दूध तथा दूधजन्य पदार्थ, पानी, साबुनलगायतका सरसफाइका वस्तुहरु, चिनी, तेल, शिशु आहार, पशुपन्छीजन्य आहारलगायतका अत्यावश्यक वस्तुहरुको सम्बन्धित उद्योग, उत्पादक, थोक तथा खुद्रा बिक्रेता र व्यावसायिक छाता संगठनहरुले स्थानीय प्रशासनसँगको समन्वयमा औषधि तथा औषधिजन्य वस्तु (स्यानिटाइजर, मास्क, वेवी डाइपर, स्यानिटरी प्याडलगायतका) हरुको उत्पादन र आपूर्तिलाई सुचारु राखेको समेत जानकारी दिएको छ ।

मन्त्रालयले सम्बन्धित निकाय तथा अधिकारीहरुसँग समन्वय गरी ट्रान्जिट तथा नेपाल आउने क्रममा विभिन्न स्थानमा रोकिएर रहेका अत्यावश्यक वस्तुहरु तथा सोसँग सम्बन्धित कच्चा पदार्थहरुविना अवरोध नेपाल ल्याउने व्यवस्था समेत मिलाएको छ । मन्त्रालयले होमडेलिभरीको लागि गृह, सरकारी तथा निजी क्षेत्र लगायतका संघ÷संस्था र सम्बन्धित पक्षहरुले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको जनाएको छ । बैठकमा उद्योगमन्त्री भट्टका साथै राज्यमन्त्री तथा मन्त्रालयका सचिवहरुसहित गृह, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय उपत्यकाका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका पदाधिकारीहरु सरकारी संस्थाका प्रमुखहरु र निजी क्षेत्रका छाता संगठनहरु तथा उपभोक्ताकर्मीको सहभागी रहेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया