Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएबोटको पाँच मिनेटमै कोरोना परीक्षण गर्ने उपकरण स्वीकृत

एबोटको पाँच मिनेटमै कोरोना परीक्षण गर्ने उपकरण स्वीकृत


काठमाण्डौं,फागुन १६
हेल्थ केयर कम्पनी एबोटले कोरोना भाइरसको द्रुतगतिमा परीक्षण गर्ने प्रणाली विकास गरेको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासनले उक्त प्रणालीलाई प्रमाणीकरण गरेको एबोटले जनाएको छ । एबोटले विकास गरेको प्रणालीले चाँडोमा ५ मिनेटमै भाइरस संक्रमणको टुंगो लगाइसक्ने बताइएको छ । सीएनबीसीका अनुसार उसले उक्त प्रणाली अर्को हप्ता हेल्थ केयर सेवा प्रदायकलाई दिनेछ । उक्त प्रणालीले नेगेटिभ रिजल्ट समेत १३ मिनेटमै प्रदान गर्नेछ । कम्पनीले आफ्नो परीक्षण सफल भएका कारण उत्पादन तीव्र पार्ने जनाएको छ । उसले प्रतिदिन ५० हजार परीक्षण गर्ने योजना बनाएको छ । ‘द कोभिड १९ महामारीविरुद्ध धेरै तरिकाबाट लड्न सकिन्छ, केही मिनेटमै परीक्षण गर्नसक्ने पोर्टेबल मोलिकुलर टेस्टले भाइरस रोकथामको विविध उपायलाई सघाउने अपेक्षा गरेका छौँ’, एबोटका प्रमुख सञ्चालन अधिकृत (सीओओ) रोबर्ट फोर्डले विज्ञप्तिमा भनेका छन् । एबोटको कोभिड १९ परीक्षणको यो दोस्रो परीक्षण हो । उसले हरेक महिना ५० लाख टेस्ट उत्दान गर्ने बताएको छ ।

अमेरिकाको इलिनोइसस्थित द लेक ब्लफमा रहेको कम्पनीले उपचारसम्बन्धी चिकित्सकीय डिभाइस र औषधिहरु उत्पादन गर्छ । यसले कोरोना भाइरसको संक्रमण पत्ता लगाउने भए पनि क्लिनिकहरुमा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टको अभावका कारण बिरामीलाई सुरक्षित राख्न भने कठिन हुनसक्ने बताइएको छ । खासगरी कोभिड १९ का बिरामीहरुलाई श्वासप्रश्वासमा समस्या हुने भएकाले यो जटिल हुनसक्नेछ । चीनको वुहानबाट फैलिएको यो महामारी विश्वव्यापी बन्दा संक्रमित संख्या ६ लाख पुग्न लागेको छ भने २७ हजार बढीले यसकै कारण मृत्युवरण गरिसकेका छन् ।

कोरियाबाट पठाइने किट्स आज आउने
सिओल । कोरोना सङ्क्रमित बिरामी हो हैन पत्ता लगाउन सहयोगी हुने दुई हजार किट्स नेपाललाई सहयोग गर्ने उद्देश्यले एनआरएन कोरियाको नेतृत्वमा यहाँका नेपालीबाट गरिएको सहयोग संकलन अभियानअन्तर्गत दुई दिनमै एक करोड २० लाख संकलन भएको छ । एनआरएन कोरियाका महासचिव डा विमल सुवेदीले शुक्रबारसम्म चार हजार ५६७ नेपालीबाट ११ करोड ९८ लाख ९३ हजार ४२२ कोरियन वन अर्थात झण्डै एक करोड बीस लाख रुपैयाँ संकलन भएको बताए । दुई दिनमै कोरियामा रहेका नेपालीबाट यति ठूलो सहयोग संकलन भए पनि नेपाल पठाउने भनिएको किट्स पठाउन भने असहज भएको छ । योजनानुरुप शुक्रबार नै नियमित उडानमार्फत किट्स चीनको ग्वान्जाउ पु¥याउने र शनिबार नेपाल सरकारले विमान चार्टर गरेर नेपाल पु¥याउने भनिए पनि कोरोनाको कारण कोरियाबाट चीन उड्ने विमानको नियमित उडान कटौती भएपछि पठाउन नसकिएको हो । उक्त किट्स २४ घण्टाभित्र सुरक्षित भण्डारण गरिसक्नुपर्ने हुन्छ । अन्तिम उडान प्राप्त हुनासाथ आइतबारसम्म पहिलो चरणमा पठाउने भनिएको सम्पूर्ण किट्स पठाइने जनाइएको छ । दुई हजार किट्स खरिदपछि बाँकी हुन आउने सहयोग रकमले पनि आवश्यक स्वास्थ सामग्री नै खरिद गरेर पठाइने योजना एनआरएन कोरियाको छ । त्यसका लागि सम्बन्धित क्षेत्रका विज्ञको एक सुझाव समितिसमेत बनाइएको छ । उक्त समितिको सुझावअनुरुप अन्य स्वास्थ्य सामग्री खरिद गर्ने जनाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया