Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिजी अस्पतालले कोरोना उपचार गर्नैैपर्ने

निजी अस्पतालले कोरोना उपचार गर्नैैपर्ने


काठमाण्डौं,चैत १९
कोरोना संक्रमितको उपचार गर्नबाट भाग्दै आएका निजी अस्पतालहरुले अब भने कुनै पनि बहाना बनाएर भाग्न नपाउने भएका छन् । । सर्वोच्च अदालतले निजी अस्पताललाई कोरोना सङ्क्रमितको उपचार गर्ने व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेसँगै निजी अस्पतालहरु कोरोना संक्रमितको उपचारमा बाध्य भएका हुन् । निजी अस्पतालहरुले उपचार गर्न आलटाल गर्न थालेपछि सामाजिक सञ्जालमार्फत आम नागरिकले निजी अस्पताललाई सरकारीकरण गर्न सरकारलाई सुझाव दिन थालेका थिए । मंगलबार न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले निजी अस्पताललाई कोरोना सङ्क्रमणको उपचार गर्ने व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको हो । “आम मानिसलाई स्वास्थ्योपचार उपलब्ध गराई महामारीबाट जोगाई स्वस्थ जीवनको प्रत्याभूति गर्ने कार्य निजी स्वास्थ्य संस्थाको उत्तिकै जिम्मेवारीभित्र पर्दछ”, आदेशमा भनिएको छ, “कुनै पनि निजी स्वास्थ्य संस्थालाई कुनै पनि बहानामा कोरोना सङ्क्रमणको उपचार गर्नबाट पन्छिन र त्यसको उपचारको कार्यबाट विमुख हुने अधिकार रहेको देखिँदैन ।”

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई सर्वोच्च अदालत बार एसोसिएसनको तर्फबाट अधिवक्ता पुष्पराज पौडेल दायर गरेको रिट निवेदनमाथिको पहिलो सुनुवाइमा अदालतले निजी अस्पतालले विषम परिस्थितिमा आफ्नो जिम्मेवारीबाट पन्छिन नमिल्ने आदेश जारी गरेको हो । “निजी स्वास्थ्य संस्थामा उपलब्ध भएसम्मको बेड, आईसीयू कक्ष, भेन्टिलेटरलगायतका कोरोना भाइरसको उपचारको लागि आवश्यक पर्ने सेवा लिन आवश्यक व्यवस्था मिलाउनु”, आदेशमा भनिएको छ, “स्वास्थ्य सेवामा संलग्न चिकित्सक, परिचारिका, एम्बुलेन्स चालक, सफाइ श्रमिक तथा दैनिक उपभोग्य वस्तुको उत्पादन तथा आपूर्ति गर्ने कार्यमा संलग्नको सुरक्षाको व्यवस्था मिलाउनु ।” आदेशमा कामको प्रकृतिको आधारमा उनीहरुको काममा लगाउने संस्थामार्फत आवश्यक व्यक्तिगत सुरक्षा सामग्रीको व्यवस्था मिलाउन भनिएको छ । अध्यादेशमार्फत आवश्यक नीतिगत एवं कानुनी व्यवस्था मिलाउने विषयमा निवेदनमा माग भए पनि विषयवस्तुको गाम्भीर्यका सम्बन्धमा अदालतले कुनै पनि आदेश आदेश जारी गरेको छैन । निजी स्वास्थ्य संस्थाले कोरोना सङ्क्रमणको आशङ्कामा गएका बिरामीलाई उपचार नगरी फर्काइएको तथा अहिलेको अवस्थामा अस्पताल अतिआवश्यक भएको अवस्थामा संसद् स्थगन भएको हुनाले अध्यादेशमार्फत अत्याश्यक कानुन बनाउन आदेशको माग रिट निवेदनमा थियो । उक्त विषयमा निवेदक अधिवक्ता पौडेल र सरोजकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी, अधिवक्ता पूर्णिमा रिमाल गुरागाई, टीकाराम भट्टराई, राजु खड्कालगायतले बहस गरेका थिए । सर्वोच्च अदालतलले सोमबार विपन्न, दैनिक ज्यालादारी नागरिकलाई राहत दिने व्यवस्था मिलाउन सरकारका नाममा आदेश जारी गरेको थियो । उक्त निवेदनको सुनुवाइ पनि यही चैत २३ गते तय भएको हुनाले मंगलबारको विषयलाई पनि एकैसाथ राखेर सोही दिने हेरिने भएको हुँदा छलफलका लागि बोलाएको छ ।

उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न होटलमा राखिने

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस महामारी फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधा सम्पन्न अस्पताल वा होटलमा राख्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालका स्वास्थ्य विज्ञ डा. खेम कार्कीले कोरोना भाइरसको महामारी फैलिएको अवस्थामा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई उपचार गर्ने अस्पतालको नजिक रहेका अस्पताल वा सुविधा सम्पन्न होटलमा बस्ने र खाने व्यवस्था तयारी गरिएको जानकारी दिए । “उपचारमा संलग्न चिकित्सकका आफन्तमा पनि सम्भावित सङ्क्रमण फैलिन नपाओस् भने हामीले उहाँलाई अस्पताल नजिकको होटल वा अन्य अस्पतालमा राख्ने तयारी गरिरहेका छौँ”, उनले भने, “भोलि यदि महामारी भयो भने कुन कुन अस्पतालमा राख्ने भन्ने नक्साड्कन (म्यापिङ) गरिरहेका छौँ ।” सरकारले यसअघि उपचारमा संलग्न चिकित्सकको मनोबल बढाउन निःशुल्क बीमा, थप सुविधालगायतका निर्णय गरिसकेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया