Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१५ सय विदेशी नागरिक नेपालबाट स्वदेश फर्किए

१५ सय विदेशी नागरिक नेपालबाट स्वदेश फर्किए


काठमाण्डौं,चैत २१

विश्वभर फैलिएको नोवल कोरोनाभाइरस (कोभिड १९) को जोखिमका कारण नेपाल आएका झण्डै १५ सय विदेशी नागरिकहरु आ—आफ्नो मुलुक फर्किएका छन् ।परराष्ट्र मन्त्रालयका अनुसार बुधबार अष्टेलियन नागरिक नेपालबाट आफ्नो मुलुक फर्किएसँगै नेपालबाट फर्किने विदेशीको संख्या एक हजार चार सय ७४ जना पुगेको हो । यसअघि जर्मनी, फ्रान्स र अमेरिकाका नागरिक नेपालबाट आआफ्नो मुलुक फर्किएका थिए । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख सागर आचार्यले बुधबार बेलुकी साढे ५ बजे नेपाल एयरलाइन्स वाइडबडी विमानबाट दुई सय ५७ जना अष्ट्रेलियन नागरिक नेपालबाट फर्किएसँगै नेपालबाट आफ्नो मुलुक फर्किने विदेशीको संख्या झण्डै एक हजार पाँच सय हुन गएको बताए । दुई सय ५० जना वयष्क तथा सात जना बच्चा गरी दुई सय ५७ जना अष्ट्रेलियन नागरिक आफनो मुलुकफर्किएकाहुन्, उनले भने, बेलुकी साढे पाँच बजे नेपाल एयरलाईन्सको वाइडबढी विमान अष्ट्लियकालागि उडेको हो । विमानमा अष्टेलियाका साथै करिब ३० जनाजति न्यूजल्याण्डका नागरिकहरु समेत रहेका छन् । वाइडबडी विमान नेपालबाट क्वाललाम्पुरमा इन्धन भरी त्यहाँबाट सिधै अष्ट्रेलिया पुग्नेछ । उनले पाँच चरणमा गरी यसअघि अमेरिका, फ्रान्स र जर्मनीका नागरिकहरु आफनो मुलुक फर्किएको बताए । ‘पहिलो चरणमा तीन सय सात जना जर्मनी र दोस्रो चरणमा जर्मनी, फ्रान्स र स्विडेनका गरी तीन सय पाँच जना जर्मन नागरिक गरी कुल छ सय १० जना जर्मनहरु आफनो मुलुक फर्किएका हुन्’, उनले भने, ‘त्यसपछि तीन सय पाँच जना फ्रान्सका नागरिकहरु नेपालबाट आफ्नो मुलुक फर्किएका थिए ।’ उनले फ्रान्सका नागरिकपछि भने तीन सय दुई जना अमेरिकी नागरिकहरु पनि आफ्नो मुलुक अर्थात् अमेरिका फर्किएको बताए । उनीहरु सबैलाई विमान चार्टर्डमार्फत आआफ्नो मुलुक फर्केका हुन् ।

उनीहरुलाई लिनको लागि जर्मनी, फ्रान्स र अमेरिकाले कतार एयरवेज विमान नेपाल पठाएको थियो । गत १५ गते कतार एयरवेजको दुईवटा विमानले जर्मन नागरिकका साथै अन्य नागरिकहरु ती मुलुक लगेको थियो भने अमेरिकाले गत १८ गते आफ्ना नागरिकहरुलाई नेपालबाट फिर्ता लगेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका प्रवक्ता रामकुमार क्षेत्रीले जर्मनी, फ्रान्स र अमेरिकाका नागरिकलाई भने कतार एयरवेजको विमान चार्टर्डमार्फत आआफ्ना मुलुकहरु पुगेको बताए ।‘जर्मनी, फ्रान्स र अमेरिका मात्र नभएर अन्य मुलुकले समेत नेपालबाट आफ्नो नागरिक लैजान चासो दिएका छन्’, उनले भने, ‘यसरी चासो दिनेमा पछिल्लो समय चीन, दक्षिण कोरिया र नेदरल्याण्ड रहेको छ । चीनले आफ्ना नागरिक लैजान बुधबार एयर चाइना नेपाल पठाउँदै छ ।’संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार स्वदेश फर्किनेमा विदेशी नागरिकहरुमा प्रायःजसो पर्यटकको रुपमा नेपाल आएको तथा केही भने अन्य निजी प्रयोजनको लागि आएको बताएको छ । नेपाल आएका ती विदेशी नागरिकहरु आफूखुसी स्वदेश फिर्ता हुनलागेका हुन् । सरकारले लकडाउनको अवधिमा मुलुकका विभिन्न स्थानमा फसेका पर्यटकहरुलाई राजधानी ल्याएको थियो । परराष्ट्का उपसचिव सुरेश अधिकारीले विदेशी नागरिकहरु आफ्नो इच्छाबमोजिम आफ्नो मुलुक फर्किएको बताए । उनले फर्किएका विदेशी नागरिकलाई नेपालबाट लैजानको लागि ती मुलुकका सरकारले विभिन्न मुलुकमा रहेका दूतावास तथा नेपाल सरकारसँग समन्वय गरेको बताए । ‘दूतावास भएको मुलुकले दूतावाससँग समन्वय गरेको तथा अन्य मुलुकले भने सरकारसँग समन्वय गरी अघि बढेको थियो’, उनले भने, ‘हामी (नेपाल सरकार)ले त्यसमा सहजीकरणको भूमिका निर्वाह गर्दै विदेशीहरुलाई फर्किनको लागि सहज वातावरण निर्माण गरिदिएका छौँ ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले पहिलोपटक ११ गते बिहान ६ बजेदेखि १८ गते ६ बजे बिहानसम्म मुलुकभर लकडाउन गरेको थियो भने त्यसपछि लकडाउनको समय अवधि २५ गतेसम्म थप गरेको थियो । गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि भन्दै २५ गतेसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया