Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना नियन्त्रणका लागि अर्को कदम स्थानीय तहबीचको आवागमन नै बन्द

कोरोना नियन्त्रणका लागि अर्को कदम स्थानीय तहबीचको आवागमन नै बन्द


काठमाण्डौं,चैत २३

विदेशबाट आएको व्यक्तिबाट नेपालमै बसोबास गरिरहेको अर्को व्यक्तिलाई कोरोना भाइरस कोभिड–१९ लागेको पुष्टि भएपछि सरकारले आवागमनमा थप कडाइ गरेको छ । कैलाली जिल्लामा विदेशबाट आएका एक व्यक्तिबाट परिवारको अर्को सदस्यलाई कोरोना लागिको पुष्टि भएपछि शनिबार बसेको मन्त्रिपरिषद् बैठकले आवागमनमा थप कडा नीति लिँदै तीन जिल्लामा कोरोनाको ¥यापिड परीक्षण सुरु गर्ने निर्णय पनि गरेको छ । सरकारले कोभिड–१९ को जोखिम नियन्त्रणका लागि एक प्रदेशबाट अर्काे प्रदेश, एक जिल्लाबाट अर्काे जिल्ला र एक स्थानीय तहबाट अर्काे स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको हो । अब एक प्रदेशको व्यक्ति अर्को प्रदेशमा, एक जिल्लाको व्यक्ति अर्को जिल्लामा मात्र होइन, एकै जिल्लाको एक स्थानीय तहको व्यक्ति अर्को स्थानीय तहमा पनि जान पाउनेछैन । यसले काठमाडौं उपत्यकाको लकडाउन थप कडाइ हुने देखिएको छ । मन्त्रिपरिषद्को शनिबारको बैठकले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्ने सन्दर्भमा यो नै उत्तम उपाय हुन्छ भन्ने निर्णय भएको सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले बैठकपछि उक्त निर्णय सार्वजनिक गरेका हुन् ।

विदेशबाट आएको व्यक्तिबाट स्थानीय अर्को व्यक्तिलाई कोरोना भाइरस सर्नुलाई विश्व स्वास्थ्य संगठनले कोरोनाको दोस्रो चरण भन्ने गरेको छ । नेपाल कोरोना भाइरसको दोस्रो चरणमा प्रवेश गरेको छ । यसले कोरोना भाइरसको संक्रमण थप बढ्ने त्रास उत्पन्न गराएको छ । विदेशबाट आउनेबाट स्थानीयलाई कति कोरोना संक्रमण भयो भन्ने विषयमा सत्यतथ्य विवरण ल्याउन सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोनाको ‘¥यापिड टेस्ट’ गर्ने निर्णय पनि गरेको छ । कोरोना एक परिवारबाट अर्को परिवारको कुनै सदस्यमा स¥यो भने त्यसलाई विश्व स्वास्थ्य संगठनले महामारीभन्दा अगाडिको अवस्था भनेर परिभाषित गरेको छ । नेपालमा कोरोना लागेको परिवारको सदस्यबाट समुदायको अर्को परिवार वा सदस्यमा सरेको छ वा छैन भन्ने जान्नका लागि ¥यापिड टेस्ट गर्न लागेको हो । कोरोना सङ्क्रमणको अवधि र यसको जोखिम रहिरहुञ्जेलसम्म लकडाउनको अझ पूर्णपालना गराउन प्रदेश र सबै निकायलाई प्रभावकारीरुपमा काम गर्न सरकारले निर्देशन दिएको छ । मन्त्रिपरिषद्ले कोभिड– १९ को सम्भाव्य जोखिम तथा शङ्कामा रहेका व्यक्तिको व्यापकरुपमा (मास स्केलमा) परीक्षण प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । कोभिड– १९ को द्रुत प्रक्रियाबाट परीक्षण गर्ने र त्यसका आधारमा सङ्क्रमितको शङ्का भएका व्यक्तिलाई ‘पीसीआर’ विधिबाट परीक्षण गर्दा सङ्क्रमित व्यक्ति हो वा होइन भनेर छिटो एकीन गर्न सहज हुनेछ ।

स्वास्थ्यकर्मीलाई असुरक्षित हुन नदिनेतर्फ स्थानीय प्रशासनदेखि सबै तहका सरकारले सुरक्षाको व्यवस्था मिलाउनुपर्ने निर्णय पनि सरकारले गरेको छ । कोभिड– १९ को जोखिम रोकथाम र नियन्त्रण गर्न चालेका कदमको समीक्षा गर्दै सरकारले सानो सङ्ख्यामा मात्र सङ्क्रमण केस कायम राख्न सकेकामा सन्तुष्टि भने व्यक्त गरेको छ । लकडाउनको अवधि बढाउने वा नबढाउने भन्ने विषयमा भने शनिबारको मन्त्रिपरिषद् बैठकले कुनै निर्णय गरेको छ । लकडाउन पर्सि मंगलबार राति १२ बजेसम्म रहेको कारण आज आइतबार वा भोलि सोमबार लकडाउनको बारेमा नयाँ निर्णय हुनेछ । नयाँ कोरोना प्रभावित फेला परेपछि लकडाउनको अवधि बढ्ने हो कि भन्ने त्रास बढेको छ । यद्यपि स्वास्थ्यसँग सम्बन्धित विषय भएको कारण राजनीतिक रुपमा मात्र नभई गैरराजनीतिक र जनस्तरबाट पनि लकडाउनको विरोध हुन सकेको छैन । यस्तै, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा शनिबार धनगढीमा बसेको कोरोना भाइरस नियन्त्रण, व्यवस्थापन तथा समन्वय निर्देशक समितिको बैठकले जारी लकडाउनलाई थप कडाइका साथ लागू गर्ने निर्णय गरेको छ ।सरकारले फौजदारी कसुर तथा सजाय निर्धारण कार्यान्वयनसम्बन्धी सजाय निर्धारण समितिमा विज्ञका रुपमा रवीन्द्र भट्टराई र कुन्सान लामालाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै अपराध पीडित संरक्षण ऐनको व्यवस्था भएअनुसार, पीडित संरक्षण समितिमा विज्ञका रुपमा डा. शङ्करकुमार श्रेष्ठलाई नियुक्ति गरेको राससले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया