Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहालेखाको ५७औं वार्षिक प्रतिवेदन रोकियो

महालेखाको ५७औं वार्षिक प्रतिवेदन रोकियो


काठमाण्डौं,चैत २३

‘लकडाउन’को कारण महालेखापरीक्षकको ‘५७औं वार्षिक प्रतिवेदन २०७६’को तयारी नै अलपत्र परेको छ । कर्मचारीहरुलाई विदा दिइएको कारण प्रतिवेदन तयार हुन नसकेको हो । प्रतिवेदन तयार नभएको कारण ‘५७औं वार्षिक प्रतिवेदन २०७६’ चैत मसान्तमा सार्वजनिक हुने परम्पार तोडिएको मात्र होइन कहिले सार्वजनिक हुने भन्ने नै अनिश्चित बनेको छ । ‘विषम परिस्थिति उत्पन्न भएको कारण ‘५७औं वार्षिक प्रतिवेदन २०७६’ तयार पार्न सकिएन’, महालेखापरीक्षक टंकमणि शर्मा दंगालले आर्थिक दैनिकसित भने, ‘विगत केही वर्ष अगाडिदेखि चैतभित्रमा राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गरेर सार्वजनिक गर्दै आएका थियौं, अहिलेको ‘लकडाउन’को कारण कर्मचारीलाई विदा दिइएको छ । प्रतिवेदन कहिलेसम्म तयार गरेर सार्वजनिक गर्ने भन्ने तय हुन सकेको छैन ।’चैत मसान्तसम्म वार्षिक प्रतिवेदन महालेखाले सार्वजनिक गर्ने एक किसिमको परम्परा नै बनिसकेको थियो । नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम महालेखापरीक्षकले राष्ट्रपतिसमक्ष पेश गर्नुपर्नेछ ।

तर, चैत मसान्तभित्र राष्ट्रपतिसमक्ष पेश गर्नैपर्ने संवैधानिक व्यवस्था भने छैन । नेपालको संविधानको धारा २४१ बमोजिम महालेखापरीक्षकको कार्यालयले संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयको लेखापरीक्षण गर्नुपर्नेछ ।लेखापरीक्षण सकिए पनि प्रतिवेदन तयार पार्न समस्या परेको हो । प्रतिवेदन तयार पार्ने क्रममा विभिन्न चरणका छलफल पनि गर्नुपर्ने हुन्छ । तर, ‘लकडाउन’को कारण प्रतिवेदन फाइनल गर्नुपर्ने छलफलहरु रोकिएका छन् । सरकारले चैत ११ गते मंगलबारदेखि लगाएको ‘लकडाउन’ पर्सि मंगलबार राति १२ बजेसम्म कायम छ । फेरि ‘लकडाउन’को अवधि थप भयो भने वार्षिक प्रतिवेदन तयार पार्ने काम अझै प्रभावित हुने महालेखापरीक्षक शर्माको भनाइ छ । ५६औं वार्षिक प्रतिवेदन महालेखापरीक्षकको कार्यालयले गत वर्ष चैत २९ गते राष्ट्रपतिसमक्ष पेश गरेको थियो । राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश भएपछि महालेखापरीक्षकको कार्यालयले आफ्नो वेबसाइट र पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै आएको छ । उक्त प्रतिवेदनले अनियमित खर्चहरु अर्थात बेरुजुको अवस्था बाहिर ल्याउनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया