Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकद्वारा ३० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री आह्वान

राष्ट्र बैंकद्वारा ३० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री आह्वान


काठमाण्डौं,चैत २६

नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँको विकास ऋणपत्रको बिक्री आव्हान गरेको छ । राष्ट्र बैंकको अनुुसार चैत २७ गते बिहिबार पाँच वर्षे अवधिको विकास ऋणपत्र २०८१ बिक्री गर्न लागेको हो । ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले यही बिहीबार अपराह्न ३ बजेसम्म आवेदन दिनुुपर्नेछ ।

राष्ट्र बैंकका अनुसार जारी मिति यही २०७६ चैत २८ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी अवधि वि.सं. २०८१ चैत २८ तोकिएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाइनेछ । राष्ट्र बैंकका अनुसार खरिद गरिएको ऋणपत्रमा अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुुने र आर्जित ब्याजदरमा ब्याजकर समेत लाग्नेछ ।

इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ । बिक्री गरिने कुुल ऋणपत्रमध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् २५ अर्ब ५० करोड र चार अर्ब ५० करोड छुट्याइएको छ । राष्ट्र बैंकका अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोलप्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने जानकारी समेत राष्ट्र बैंकले गरेको छ । खरिद गर्न पाउने सीमा न्यूनतम ५० हजार र अधिकतममा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् ।

यीबाहेकका वाणिज्य बैंक, विकास बंैक र फाइनान्स कम्पनीहरुले भने अप्रतिस्पर्र्धीको रुपमा भाग लिन पाउनेछैनन् । प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडि दुई अंकसम्म मात्र) उल्लेख गर्नुपर्नेछ भने अप्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम मात्र उल्लेख गर्नुपर्नेछ ।राष्ट्र बैंकका अनुसार खरिद गरिएको ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्जमार्फत हुुनेछ ।

नवनियुक्त गभर्नर अधिकारीद्वारा शपथग्रहण
नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । मंगलबार आयोजित एक कार्यक्रमबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासमक्ष नवनियुक्त गभर्नर अधिकारीले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुुन् ।नेपाल राष्ट्र बैंक ऐन, २०५५ को दफा १०८ मा भएको प्रावधानअनुसार अधिकारीले प्रधानन्यायाधीशसमक्ष शपथग्रहण गरेका हुुन् । शपथग्रहणपश्चात् राष्ट्र बैंक पुगेर अधिकारीले गभर्नरको जिम्मेवारी सम्हालेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको थियो ।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठित गभर्नर सिफारिस समितिले डा. राजन खनाल, महाप्रसाद अधिकारी र चिन्तामणि शिवाकोटीको नाम सिफारिस गरी मन्त्रिपरिषद्मा पठाएकोमा मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको थियो ।
यसअघि नेपाल राष्ट्र बैंकको गभर्नर पदमा डा. चिरञ्जीवी नेपाल रहेका थिए ।

डा. नेपालको कार्यकाल सकिएपछि सरकारले डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई कामुु गभर्नरको जिम्मेवारी सुम्पेको थियो । झण्डै एक महिना नेतृत्वविहीन भएको नेपाल राष्ट्र बैंकले अधिकारीलाई १७औं गभर्नरको रुपमा पाएको हो ।

गभर्नर नियुक्त हुुनुुअघि अधिकारी लगानी बोर्डमा प्रमुख कार्यकारी अधिकृत रहेका थिए भने त्यसअघि नेपाल राष्ट्र बैंककै डेपुटी गभर्नरको रुपमा अवकाश पाएका थिए । तत्कालीन समयमा हाल अर्थमन्त्रीको रुपमा रहेका युवराज खतिवडा नेपाल राष्ट्र बैंकको गभर्नर पदमा रहँदा अधिकारी पनि राष्ट्र बैंकमा नै रहेका थिए ।

मुुलुकको सिंगो वित्तीय प्रणालीलाई निकै नजिकबाट नियालेका अधिकारीले सन् १९९३ मा दि इन्डियन इन्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्सीबाट चार्टर्ड एकाउन्टेन्सीसम्मको अध्ययन पूरा गरेका छन् ।

यसैबीच नवनियुक्त गभर्नर अधिकारीले कोभिड १९ ले अर्थतन्त्रमा पर्ने प्रभाव र राष्ट्र बैंकले चाल्नुपर्ने कदमको लागि अध्ययन अगाडि बढाउन समिति गठन गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए । कोभिड १९ को असरले विश्व अर्थतन्त्रमा परेको प्रभावसँगै नेपालको अर्थतन्त्रमा परेको प्रभाव असर न्यूनीकरण गर्न के कस्ता नीतिगत उपायहरु अपनाउनुपर्छ भन्ने विषयमा अध्ययन गर्नको लागि कमिटी गठन गरेको प्रवक्ता भट्टले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया