Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना परीक्षण निराशाजनक

कोरोना परीक्षण निराशाजनक


काठमाण्डौं,चैत २६

नेपालभर कोरोना भाइरस कोभिड–१९ को परीक्षण निराशाजनक देखिएको छ । कोरोनाको जोखिम बढेको भन्दै सरकारले घरबाहिर हिँड्डुल र आवतजावतमा लगाएको प्रतिबन्ध अर्थात् ‘लकडाउन’को म्याद दुई साता पुग्दासम्म बल्ल दुई हजार एक सय २२ वटा मात्र परीक्षण गरेको छ । परीक्षण गर्ने किटहरु विदेशबाट आयात गरे पनि अहिलेसम्म सरकारले परीक्षण गर्न सकेको छैन ।

सरकारले कैलाली, कञ्चनपुर र बाग्लुङमा गर्ने भनेको ¥यापिड टेष्ट पनि सुरु गर्न सकेको छैन । सरकारले परीक्षण गर्न नसकेको कारण आमसर्वसाधारण घरबाट बाहिर निस्किन डराइरहेका छन् ।सरकारले धेरै मानिसमा परीक्षण गरेमा मात्र कोरोना लागेको वास्तविक तथ्यांक आउने भन्दै अधिकांश नागरिक सरकारको परीक्षणप्रति आक्रोशित बन्दै गएका छन् ।

‘यो नाम मात्रकै परीक्षण हो’, स्वास्थ्य मन्त्रालयकै एक अधिकारीले आर्थिक दैनिकसँग भने, ‘लकडाउन गरेपछि धमाधम परीक्षण गरेर अहिलेसम्म १८ सयको होइन १८ हजारको रिपोर्ट सार्वजनिक भएको भए कोरोना फैलिएको छैन भनेर विश्वास गर्न सकिन्थ्यो । तर दुई हजार एक सय २२ लाई आधार मानेर नौ जनामा मात्र कोरोना छ भनेर ढुक्क भएर बस्न मिल्ने अवस्था छैन ।

सरकारले परीक्षण नगरेर जनताको स्वास्थ्यप्रति लापरबाही गरेको छ ।’ नेपालको जनसंख्या दुई करोड ९९ लाख १३ हजार तीन सय ९७ जना छ । तीमध्ये उक्त परीक्षणको अंक कुल जनसंख्याको ०.००७ प्रतिशत मात्र हो । एकै व्यक्तिको दुई÷तीन पटक पनि परीक्षण गरिएको कारण दुई हजार एक सय २२ जनाको नभई त्यति पटक मात्र परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अर्का एक अधिकारीले जानकारी दिए ।

उनका अनुसार एकैजनाको धेरै पटक परीक्षण गरिएको कारण वास्तविक परीक्षण संख्या भने १२÷१३ सय मात्र हुनसक्छ । कोरोना रोगको रोकथाम गर्न विश्वका शक्तिशाली राष्ट्रहरु पनि असफल भइरहेको बेला नेपालले परीक्षण गरेर लकडाउनलाई अझै व्यवस्थित गर्नुपर्ने थियो । नेपालमा बिरामी राख्ने आईसीयू बेड पर्याप्त मात्रामा नभएको कारण घरभित्रै नागरिकलाई बन्दी बनाउनुको अर्को भरपर्दो विकल्प नै छैन ।

ठूलो संख्यामा परीक्षण गरेर लकडाउन गरेर कोरोना फैलिनबाट रोक्नुपर्नेमा परीक्षणमै सरकारले लापरबाही गर्दा जुनसुकै बेला महासंकट आउने आशंका गरिएको छ । ‘नौ जनामा त कोरोना देखिएको हो भनेर घरबाहिर निस्किनेको होड चलेको छ’, गृहका एक अधिकारीले भने, ‘हजारौं परीक्षण गरेर यो संख्या देखिएको हो भने घरबाहिर निस्किन खोज्नुलाई सही भन्न सकिन्थ्यो ।

तर, परीक्षण नै नगरी घरबाहिर निस्किन दिनु जोखिम बढाउनु हो ।’ नेपालमा केही सयको संख्यामा मात्र आईसीयू बेड रहेको कारण कोरोना लाग्नेको संख्या वृद्धि हुँदा रोग प्रतिरोध क्षमता नभएका व्यक्तिले मृत्युवरण गर्नुको अर्को विकल्प नै छैन । सरकारले लकडाउनलाई कडा बनाउँदै एक प्रदेशबाट अर्को प्रदेशमा, एक जिल्लाबाट अर्को जिल्लामा र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवतजावतलाई पनि थप कडाइ गरेको छ । तर, परीक्षण भने गर्न नै सकेको छैन ।

चाहेको व्यक्तिलाई परीक्षण गर्छु भन्नुपर्नेमा क्वारेन्टाइनमा बसेकाहरुलाई पनि सरकारले परीक्षण गर्न सकेको छैन । यसले नेपालमा कतिलाई कोरोना लागेको छ भन्ने एकीन तथ्यांक नै आउनसकेको छैन । एक जनाबाहेक अहिलेसम्म विदेशबाट आउने व्यक्तिहरुमा मात्र कोरोना देखिए पनि सरकारले एक महिनाको अवधिमा विमानबाट आउने व्यक्तिहरुको नै पहिचान गर्नसकेको छैन । भारतबाट त एक महिनाको अवधिमा डेढ लाखभन्दा बढी व्यक्तिहरु नेपाल आएको अनुमान गरिएको छ ।

भारतमा पनि कोरोना लागेपछि त्यहाँ कार्यरत नेपालीहरु हुलका हुल नेपाल प्रवेश गरेका थिए । उनीहरुमध्ये केही निश्चित व्यक्ति मात्र क्वारेन्टाइनमा बसे पनि अधिकांश व्यक्तिहरु भागेका छन् । उनीहरुलाई कोरोना लागेको भए पहिला आफ्नो परिवारलाई नष्ट गर्नेछन् । तर, पनि उनीहरु भागिरहेका छन् । स्थानीय तहले भारतलगायतका विदेशबाट आउनेको खोजी गरे पनि वास्तविक तथ्यांक आउन सकेको छैन । यसैबीच, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको तत्काल परीक्षण व्यापक बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभापति देउवाले सुदूरपश्चिम प्रदेशका केही ठाउँमा कोरोना संक्रमितको संख्या बढेपछि यसलाई गम्भीरता साथ लिनुपर्ने उल्लेख गरेका छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, कैलाली र कञ्चनपुरलगायत जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन संवाद गरेपछि आफूले त्यस्तो महसुस गरेको सभापति देउवाले उल्लेख गरेका छन् । सामाजिक सञ्जालमार्फत देउवाले भनेका छन्, ‘व्यापक परीक्षण गर्न तत्काल गति बढाउनुपर्ने स्थिति छ, सरकारको ध्यानाकर्षण गराउँछु ।’


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया