Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपर्यटन व्यवसाय तत्काल उठ्न कठिन

पर्यटन व्यवसाय तत्काल उठ्न कठिन


काठमाण्डौं,चैत २७

चीनको वुहानबाट सन् २०१९ को डिसेम्बरबाट सुरु भएको कोरोना भाइरस कोभिड–१९ को कारण विश्व पयर्टन व्यवसाय धराशायी मात्र भएको छैन, तत्काल उठ्नै कठिन हुने देखिएको छ । कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले पनि पर्यटन व्यवसाय धराशायी भएको हो । यद्यपि अन्य व्यवसायलाई पनि कोरोनाले अस्तव्यस्त पारेको छ । तर, ती व्यवसाय सुचारु हुन कुनै समस्या देखिएको छैन ।

पर्यटन व्यवसायको मुख्य साधन नै हवाइ उडान हो । विश्वका अधिकांश देशमा अहिले हवाइ उडान प्रतिबन्धजस्तै छ । विश्वमा झण्डै ८० प्रतिशत हवाइ उडान स्थगित छ । पर्यटन उद्योग फस्टाउँदै गएको नेपालमा पनि अन्तर्राष्ट्रिय उडान आगामी वैशाख १५ गतेसम्मका लागि बन्द गरिएको छ । उडान बन्द गरिएको कारण विश्वका कुनै पनि विमान नेपाल आउन पाउनेछैनन् । उडान खोलिए पनि पहिलो चरणमा नेपाली आउनका लागि मात्र खुला हुनेछ । त्यसपछि मात्र विदेशीका लागि खुला गरिनेछ ।

अहिले विदेशबाट आउने जुनसुकै नागरिक पनि क्वारेन्टाइनमा बस्नुपर्नेछ । क्वारेन्टाइनमा बस्नका लागि कुनै पनि पर्यटक विदेश जाँदैनन् । त्यही भएर पर्यटन व्यवसाय खुल्न अझै लामो समय लाग्ने एक पर्यटन व्यवसायीले आर्थिक दैनिकलाई बताए । ‘नेपालमा मात्र होइन विश्वभर नै पर्यटन व्यवसाय उठ्न करिब एक वर्ष कुर्नुपर्ने देखिन्छ’, ती व्यवसायीले भने ।कोरोनाको प्रकोप देखिन थालेपछि नेपालले एक महिनादेखि एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेको छ । नेपाल सरकारले चैत ९ गतेदेखि नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय हवाइ उडानमा प्रतिबन्ध लगाएको थियो ।

चैत ११ गतेदेखि लकडाउन सुरु गरेपछि त सडक यातायात ठप्प नै छ । त्यसपछि नेपालमा भएका विदेशी पर्यटकलाई गाउँगाउँबाट खोज्दै चार्टर्ड उडानमार्फत आआफ्ना देश फिर्ता गर्ने काम धमाधम भइरहेको छ । आगामी केही दिनमा थप आफ्ना नागरिक फिर्ता लैजाने तयारी बेलायत सरकारले गरेको छ । नेपालका गाउँगाउँ अहिलेसम्म कोरोनाबाट त्रसित भइहाल्नुपर्ने अवस्था नभए पनि सम्बन्धित देशहरुले धमाधम आफ्ना नागरिक फिर्ता लैजाँदा पर्यटन व्यवसायी थप धराशायी भएको छ । लकडाउनको अवधिमा करिब दुई दर्जन अन्तर्राष्ट्रिय उडानबाट पर्यटकहरु बाहिरिएका हुन् ।

चैत १० देखि २६ गतेसम्म विभिन्न अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक कम्पनीले १९ वटा अन्तर्राष्ट्रिय उडान गरेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको राससले पनि जनाएको छ । यी सबै उडान चार्टर्ड र केही कार्गो उडान हुन् । १९ वटा अन्तर्राष्ट्रिय उडानबाट तीन हजारभन्दा बढी विदेशी स्वदेश फर्किएका छन् ।
यी उडानमध्ये सबैभन्दा बढी कतार एयरवेजको नौ, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को चार तथा कोरियन, मलेसिया, मालिन्दो, इत्तिहाद, चेकरिपब्लिकन र टिटान एयरवेजको समान एक–एक उडान भएका छन् ।

यसबीचमा विशेषगरी युरोपेली मुलुक जर्मनी, फ्रान्स, न्यूजिल्याण्डलगायतका तथा मलेसिया, चेकरिपब्लिकन, अमेरिका र बेलायतका नागरिक घर फर्किएका हुन् । नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा उनीहरूलाई नेपालका विभिन्न गन्तव्यबाट उद्धार गरी काठमाडौँ ल्याउन सहजीकरण गरेको थियो । सम्बन्धित मुलुकका नेपालस्थित दूतावासले नेपालको परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई चार्टर्ड उडान गरी स्वदेश लगेका हुन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वटा वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ पनि लकडाउन सुरु भएदेखि नै सबै उडान बन्द छ ।

करिब १० दिन दैनिकजसो आन्तरिकमा उद्धार र कार्गो उडान भए । आन्तरिकमा १० हेलिकप्टर कम्पनीसहित १९ वायुसेवा प्रदायकले उडान गर्छन् ।विभिन्न मुलुकले नेपालमा रोकिएका आफ्ना नागरिकलाई चार्टर्ड उडानमार्फत फिर्ता लगिरहेका छन् । यसैबीच बेलायत र जर्मनले बुधबार पाँच सय ४० भन्दा बढी नागरिक फिर्ता लगेका छन् । जर्मनीले कतार एयरवेजको जहाज चार्टर्ड गरी दुई सय ५८ नागरिक फिर्ता लगेको छ भने बुधबार बेलायतको टिटान एयरवेजमार्फत दुई सय ५२ भन्दा बढी नागरिकलाई स्वदेश फर्काएको छ । मार्च २१ सम्म करिब २५ हजार विदेशी नागरिक नेपाल आएका छन् । यीमध्ये तीन हजारभन्दा बढी स्वदेश फर्केका छन् । नेपालमा कूटनीतिक मिसनका झण्डै पाँच हजार विदेशी नागरिक रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया