Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रधानमन्त्री ओलीको दबाबमा उपप्रधानमन्त्री पोखरेलको निर्णय उल्टियो

प्रधानमन्त्री ओलीको दबाबमा उपप्रधानमन्त्री पोखरेलको निर्णय उल्टियो


काठमाण्डौं,चैत २८
काठमाडौं । कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले शुक्रबार र शनिबार काठमाडौँ प्रवेश गर्न नपाइने तर काठमाडौँबाट बाहिर जान खुला गर्ने निर्णय लामो समय टिक्न सकेन । समितिको संयोजक उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल हुन् । उनले निर्णय गरेपछि उक्त निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको फेसबुक एकाउन्टबाट बाहिरिएको थियो ।

त्यसको चौतर्फी विरोध मात्र भएन विभिन्न प्रदेश र स्थानीय तहले गाडी नै छिर्न नदिने धम्की दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा उपप्रधानमन्त्री पोखरेल आफ्नो निर्णयमा एक घण्टा पनि नटिकेका हुन् । उनले आफ्नो नेतृत्वको समितिले दुई दिन लकडाउनमा बाहिर जाने निर्णय नगरेको भनेर झूट विवरण सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा आएका दाबी गरे । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आफ्नो फेसबुकका भने दुई दिन खुला गर्ने निर्णय भएको बताएका थिए ।
पोखरेल संयोजकत्वको टोलीले यातायात व्यवसायी, प्रदेश सरकार र स्थानीय सरकारसँग कुनै पनि छलफल नगरी निर्णय गर्दा सहयोग कतैबाट पनि नपाउने देखिएपछि उपप्रधानमन्त्री पोखरेलले निर्णय नै नभएको भनेर झूट बोलेका हुन् ।

समितिका संयोजक पोखरेलले बिहीबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा सार्वजनिक भएका समाचारमा कुनै पनि सत्यता नभएको उल्लेख छ । ‘यस्तो गम्भीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ ? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँछु’, विज्ञप्तिमा भनिएको छ ।विज्ञप्तिमा सार्वजनिक सञ्चारमाध्यम खास गरी सामाजिक सञ्जालमा आइरहेका सन्दर्भमा समितिको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै खुला गर्ने विषयमा किसिमको कुनै निर्णय नभएको र सङ्क्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गम्भीरताका साथ महसुस गरी लकडाउनलाई जारी राखिएको बताइएको छ ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा हालै गर्नुभएको सम्बोधनमा समेत यसको आवश्यकतालाई गम्भीररूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौँ’, विज्ञप्तिमा पोखरेलले भनेका छन्, ‘यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकले पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता छ ।’ तर, प्रधानमन्त्री कार्यालयबाट प्रकाशित फेसबुकको समाचारको बारेमा पनि पोखरेलले बताएका छैनन् ।

यसैबीच, काठमाडौँ उपत्यकामा विभिन्न कारणले रोकिएका नागरिकलाई उपत्यकाबाहिर पठाउने सम्बन्धमा कुनै पनि निर्णय नभएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बिहीबार एक विज्ञप्ति जारी गरी काठमाडौँ उपत्यकामा अलपत्र परेका नागरिकलाई शुक्रबार र शनिबार काठमाडौँ उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको भनी केही सञ्चारमाध्यममा प्रसारित समाचारप्रति आपत्ति जनाउँदै कुनै निर्णय नभएको जनाएका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया