Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालको खतरा सूचीमा भारत

नेपालको खतरा सूचीमा भारत


काठमाण्डौं,वैशाख १

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवादमा मुख्यमन्त्रीहरुले भारतसँगको सिमानामा कडाइ गर्न माग गरेको भोलिपल्टै नेपालमा थप तीन जना भारतीयमा कोरोना भाइरस कोभिड–१९ संक्रमण फेला परेको छ । योसँगै नेपालमा भारतीयबाट कोरोना सर्ने त्रास बढेको छ । वीरगञ्ज महानगरपालिका–२ छपकैयामा बसेका ती तीन भारतीयलाई कोरोना लागेको पुष्टि भएपछि स्थानीय प्रशासनले छपकैया र आसपासको क्षेत्रलाई सिलबन्दी गर्ने भएको छ । आठ हजार बढी नेपालीको परीक्षण गर्दा नौ जनालाई मात्र कोरोना लागेको पुष्टि भएको थियो । तीमध्ये पनि आठ जना विदेशबाट आएका र एक जनामा भने विदेशबाट आएका व्यक्तिको सम्पर्कका कारण कोरोना लागेको पुष्टि भएको छ । नेपालले तीन साता अगाडिदेखि अन्तर्राष्ट्रिय उडान बन्द गरेको कारण विमानबाट आउनेको सम्पर्क टुटेको छ । तर, भारतसँगको खुला सिमानाको कारण नेपालमा कोरोना भित्रिने त्रास कायमै रहेको बेला भारतबाट केही समयअगाडि नेपाल आएका तीन जनामा कोरोना देखिएपछि भारत नेपालको खतरा सूचीमा परेको हो ।

‘विमानबाट आउन बन्द भएको छ’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले भने, ‘विमानबाट आउने अधिकांशको पहिचान हुन लागिसकेको छ । अब तत्काल विमानबाट आउने सम्भावना पनि छैन । तर, भारततर्फको खुला सिमानाको कारण जुनसुकै बेला पनि कोरोना सर्ने सम्भावना छ ।’ ती अधिकारीका अनुसार भारतीय वा नेपाली जो भए पनि भारतबाट आएका व्यक्तिहरुलाई अन्य कोरोना लागेका देशबाट आएका व्यक्तिसरह व्यवहार गर्नुपर्ने भएको छ ।

नेपालमा लामो समयदेखि बसोबास गरिरहेका नेपाली वा जुनसुकै विदेशीलाई पनि कोरोना नदेखिएको बेला भारतलगायतका विदेशबाट आउनेमा मात्र कोरोना देखिएको कारण केन्द्र सरकारले प्रदेश सरकारले भनेजसरी भारतसँगको सिमानामा आवतजावतमा थप कडाइ गर्नुपर्ने भएको छ । सीमानाकालाई कसरी व्यवस्थित गर्ने भन्ने सम्पूर्ण अधिकार संघीय सरकारसँग मात्र हुन्छ । प्रदेशलाई अन्तर्राष्ट्रिय सीमा नाका खुला गर्ने वा बन्द गर्ने भन्ने अधिकार छैन । भारतबाट नेपाल आउन चाहने व्यक्तिहरुलाई प्रवेश गर्न नेपाल सरकारले कडाइ गर्दा केही व्यक्ति तथा दलहरुले उनीहरुलाई प्रवेश गर्न दिनुपर्ने अडान राख्दै आएका थिए । तर, भारतबाट आएकाहरुमा कोरोना पुष्टि भएपछि प्रवेश गर्न दिनुपर्छ भन्ने आवाज पनि बन्द भएको छ । भारतमा पछिल्लो समयमा कोरोना संक्रमण तीव्र रुपमा अगाडि बढेको छ ।

सोही कारण भारतसँगको सीमानाका अझै कडा पार्नुपर्ने अडानमा सीमा क्षेत्रका जनप्रतिनिधि र स्थानीय प्रशासन नै छ । आइतबार बिहानै पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा रहेका तीन व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो । आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय प्रयोगशालामा भएको परीक्षणबाट तीन व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको जानकारी दिएका हुन् । कोभिड सङ्क्रमित व्यक्तिमध्ये वर्ष ३७, ५५ र ४४ का पुरुष रहेका छन् ।

वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित मस्जिदमा शङ्कास्पदरूपमा रहेका २१ जनाको परीक्षण गर्दा कोभिडको शङ्का लागि नारायणी अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनीहरूको समेत थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटाँैडाको ल्याबमा परीक्षण गरिएकामा २१ मध्ये शङ्कास्पद तीन जनाको पोजिटिभ देखिएपछि पुनः एकीन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।कोभिड पुष्टि भएका व्यक्तिलाई आइसोलेसनमा राखिएको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता डा. देवकोटाले बताए । कोभिड सङ्क्रमितको संसर्ग र निजहरू गएको स्थान पहिचान गरी ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्ने कार्य पनि सुरु भइसकेको मन्त्रालयले जनाएको छ । उनीहरुलाई कहाँ रहेको बेला कोरोना लागेको भन्ने पुष्टि भने भइसकेको छैन । उनीहरुको सम्पर्कका रहेका वीरगञ्जका व्यक्तिहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

स्वास्थ्य मन्त्रालयले हाल कोभिड–१९ सङ्क्रमितको सङ्ख्या थपिरहेको अवस्थामा थप रणनीति बनाउँदै लकडाउनको पूर्णरूपमा पालना गर्न आम सर्वसाधारणमा अनुरोध गरेको छ । प्रवक्ता डा. देवकोटाले कोभिड–१९ को परीक्षणको दायरा बढाएर समयमै सङ्क्रमितको पहिचान गरी भावी रणनीति तय गर्न सहज हुने भन्दै यस कार्यमा सहयोग गर्न सबैमा आग्रह गरे ।
मन्त्रालयले अहिलेसम्म पीसीआर प्रविधिबाट पाँच हजार १८४ जनाको परीक्षण गरिसकेको छ । पछिल्लो चौबीस घण्टामा ७९५ जनाको परीक्षण गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट पहिल्लो २४ घण्टामा ६२८ समेत अहिलेसम्म जम्मा चार हजार २० जनाको परीक्षण भएको छ । काठमाडौँ उपत्यकाबाहिरका प्रयोगशाला पछिल्लो २४ घण्टामा १६७ समेत एक हजार १६४ को परीक्षण भएको छ । देशभरमा अहिले आइसोलेसनमा ८५ र क्वारेइन्टाइनमा सात हजार ९७३ रहेका छन् । आइसोलेसनमा काठमाडौँमा १५ र उपत्यकाबाहिर ७० जना छन् । ¥यापिड टेस्ट किट सबै जिल्लामा पुगेर काम सुरु भइसकेको मन्त्रालयले जनाएको छ । तीन हजार ३२१ जना ¥यापिड टेस्ट भएको छ । मन्त्रालयले कल सेन्टर १११५ र ११३३ मा गरेर तीन हजार १३६ कल रिसिभ गरेको छ । मोबाइल एप्स र वेबसाइटबाट क्वारेइन्टाइन रहेकासँग सम्पर्क भइरहेको छ । मन्त्रालयले सम्भावित सङ्क्रमितको खोजी गर्ने क्रममा एक हजार ५७० ले विवरण भर्न भनिएको छ । तीमध्ये ९५४ जना इन्ट्री गरेको बताइएको छ । पछिल्लो २४ घण्टामा १७ जना रेड जोनमा रहेको पहिचान गरिएको छ । यससँगै रेड जोनमा पर्नेको सङ्ख्या हालसम्म २०६ पुगेको छ । आइतबार साँझ नै बागलुङका थप एक जनामा पनि कोरोना लागेको आशंका गरिएको छ ।

यसैबीच मन्त्रालयलाई गैरआवासीय नेपाली सङ्घ समन्वय परिषद् दक्षिण कोरिया र देउराली जनता फर्माले अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सरकारले दार्चुला जिल्लामा ४६० जनाको पीसीआर परीक्षणका लागि नमूना सङ्कलन गरेको प्रवक्ता देवकोटाले बताए । बाँकी कोभिड सङ्क्रमितमध्ये दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा उपचार भइरहेको छ । थप दुई बाग्लुङ र चार जनाको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका छन् ।

दोस्रोपटक गत चैत १० गते १९ वर्षीया युवतीमा कोभिडको सङ्क्रमण देखापरेको थियो । चैत ४ गते कतार एयरवेजको जहाजमार्फत फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोभिड–१९ पोजेटिभ देखिएको थियो । त्यस्तै चैत १२ गते पुनः एक जनामा कोभिड पोजिटिभ देखिएको थियो । यस्तै चैत २० गते बाग्लुङका ६५ वर्षीया एक ज्येष्ठ नागरिकमा कोभिड पुष्टि भएको थियो । पछिल्लोपटक चैत २२ गते एकै सुदूरपश्चिममा थप तीन जनामा कोभिड सङ्क्रमण भेटिएको थियो । भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएको थियो ।

नेपालमा माघ ९ गते पहिलोपटक चीनको वुहानबाट आएका नेपालीमा कोरोना देखिएको थियो । चीनको वुहानमा गत डिसेम्बर ३१ मा पहिलोपटक देखिएको कोभिड–१९ को सङ्क्रमण हाल विश्वका दुई सयभन्दा बढी फैलिसकेको अन्तर्राष्ट्रिय तथ्यांकले देखाएको छ । कोभिडबाट विश्वभर एक लाखभन्दा बढीको मृत्यु भएको छ भने झण्डै १७ लाख सङ्क्रमित भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया