Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालसहित दक्षिण एसियाको आर्थिक वृद्धिदर ४० वर्षकै कम हुने

नेपालसहित दक्षिण एसियाको आर्थिक वृद्धिदर ४० वर्षकै कम हुने


काठमाण्डौं,वैशाख २

कोरोना भाइरस कोभिड–१९ को कारण नेपालसहित दक्षिण एसियाको आर्थिक वृद्धिदर ४० वर्षयताकै सबैभन्दा कम हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । बैंकले नेपालको आर्थिक वृद्धिदर त एक दशमलव आठ प्रतिशतदेखि दुई दशमलव आठ प्रतिशतभन्दा माथि नजाने जनाएको छ । चालू आर्थिक वर्ष २०७६÷०७७ मा नेपाल सरकारले आर्थिक वृद्धिदर साढे आठ प्रतिशत हुने दाबी गरेको थियो ।

विश्व बैंकले जारी गरेको दक्षिण एसिया इकोनोमिक फोकसमा चालू आर्थिक वर्षमा नेपालसहित दक्षिण एसियामा कम आर्थिक वृद्धिदर हुनुको कारण विश्वव्यापी आर्थिक मन्दी नै हो । कोरोना भाइरसले विश्वका दुई सय आठ देशलाई आक्रान्त पारिसकेको छ । कोरोनाको कारण अहिले एउटा देशले अर्को देशलाई सहयोग गर्ने अवस्था छैन । त्यही भएर विश्वका गरिब देशहरु थप गरिब हुने विश्व बैंकको दाबी छ । यसअघि विश्व बैंकले दक्षिण एसियाको आर्थिक वृद्धिदर छ दशमलव तीन प्रतिशत हुने बताएको थियो ।

कोरोना भाइरस नलागे पनि केन्द्र सरकारले चालू आवको बजेट ल्याउँदा गरेको आर्थिक वृद्धिदरको प्रक्षेपण पूरा नहुने केन्द्रीय तथ्यांक विभागले बताउँदै आएको थियो । तर, यति धेरै तल पुग्ने अनुमान भने गरेको थिएन । लकडाउनको अवधि अझै बढेमा नेपालसहित दक्षिण एसिया क्षेत्रको अर्थतन्त्रको स्थिति झनै खराब हुने पनि विश्व बैंकको दाबी छ ।

विश्वव्यापी बनेको कोरोनाले नेपाल भित्रिने रेमिट्यान्स ह्वात्तै घट्ने, पर्यटन क्षेत्र ठप्प हुने तथा व्यापारमा तीव्र गिरावट आउने दाबी विश्व बैंकले गरेको छ । पर्यटन व्यवसाय भने विश्वभर नै तहसनहस बनेको छ । कोरोनाको कारण एक व्यक्ति र अर्को व्यक्तिबीचको दूरी बढाउनुपर्ने भएको कारण पर्यटन क्षेत्र तत्काल माथि उठ्ने सम्भावना छैन । करिब एक महिनादेखि बन्द भएको अन्तर्राष्ट्रिय उडान कहिले खुल्ने अझै निश्चित छैन । कोरोनाको कारण विदेशमा भएका नेपालीले काम गर्न सकेका छैनन् भने विदेश जाने तयारीमा रहेका युवा जनशक्ति पनि नेपालमै थुनिएका छन् । कोरोनाको कारण नेपालमा पनि रोजगारी कटौती भएको छ । उद्योग, कलकारखाना तथा व्यापार क्षेत्र ठप्प छ । ती क्षेत्रका मजदुरहरु बेरोजगार बनेका छन् । लकडाउनको कारण मजदुर बेरोजगार मात्र होइन उद्योग, कलकारखाना तथा व्यापार क्षेत्रमा लागेकाहरु पनि बैंक तथा वित्तीय संस्थाको ऋण नै तिर्न सक्ने अवस्था छैनन् ।

संसारकै सबैभन्दा बढी जनघनत्व भएको दक्षिण एसियाको आर्थिक वृद्धिदरमा भारी कटौती आएपछि यसले विश्वको अर्थतन्त्रलाई नै असर पार्नेछ । दक्षिण एसियामा एक अर्ब ८० करोड मानिसहरुको बसोबास रहेको छ । यो विश्वकै बढी जनघनत्व भएको क्षेत्र हो । भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान जस्ता देशहरुमा कोरोनाको संक्रमण बढ्दै जाँदा स्थिति थप भयावह हुने अनुमान विश्व बैंंकको छ । ती देशहरुपमा पछिल्ला दिनमा कोरोनाको संक्रमण बढ्दै गएको छ । भारत पनि लकडाउनको कारण आर्थिक रुपमा तहसनहस भएको छ ।

विश्व बैंकका कन्ट्री म्यानेजर फरिस हदद जर्भोसले नेपालको अर्थतन्त्रमा रिकभरी प्याकेजको जरुरत छ । त्यसका लागि सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग समन्वय हुनुपर्ने देखिन्छ । विश्व बैंकले कोरोनाको कारण दक्षिण एसियाका करिब आधा देशहरुमा गम्भीर आर्थिक मन्दी देखिने बताइएको छ । नेपालको अर्थतन्त्रको ठूलो हिस्सा पर्यटन व्यवसायले धानेको कारण पनि कोरोनाको कारण ठूलो
क्षति व्यहोर्नुपर्नेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया