Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविमानस्थल भन्सारका एक्स–रे टेक्निसियन ढकालको दुई करोड अवैध आम्दानी

विमानस्थल भन्सारका एक्स–रे टेक्निसियन ढकालको दुई करोड अवैध आम्दानी


काठमाण्डौं,वैशाख ४

त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाडौंका एक्स–रे टेक्निसियन राज कुमार ढकालले दुई करोड दुई हजार आठ सय ८६ रुपैयाँ ६५ पैसा अवैध आम्दानी गरेको भेटिएको छ । अख्तियारले गरेको छानबिनको क्रममा त्यस्तो तथ्य फेला परेको हो । छानबिनपछि अख्यितारले बुधबार विशेष अदालत काठमाडौंमा ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ढकालले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान गर्दा त्यस्तो तथ्य फेला परेको अख्तियारको दाबी छ । ढकालको सम्पत्तिको परीक्षण अवधिमा कुल आयभन्दा व्यय बढी भएकोले निजले पेश गरेको सम्पत्ति विवरण निजको आर्थिक हैसियतभन्दा अस्वाभाविक र अमिल्दो रहेको अख्तियारको दाबी छ ।

त्यस्तै, अख्तियारका अनुसार ढकालको जीवनयापन स्तर आयस्रोतभन्दा उच्च देखिएको, निजको नाममा रहेको विभिन्न खाताबाट अस्वाभाविक रुपमा आयस्रोतभन्दा बढी रकम चेकमार्फत सापटी दिएको देखिएको हुनाले निज ढकालले दुई करोड दुई हजार आठ सय ८६ रुपैयाँ ६५ पैसा अवैध तरिकाले कमाएको देखिएको हो । ढकालले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी आफ्नो, श्रीमती निरजरा घिमिरे र राममणि लामिछानेको नाममा चल÷अचल सम्पत्ति लुकाई राखेको पुष्टि हुन आएको अख्तियारको दाबी छ ।

ढकालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको देखिँदा उनलाई बिगो दुई करोड दुई हजार आठ सय ८६ रुपैयाँ ६५ पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगोबमोजिम जरिवाना र कैद सजाय हुनसमेत मागदाबी लिई मुद्दा दायर गरिएको छ ।

ढकालले जाँच अवधिमा आर्जन गरेको स्रोत नखुलेको सम्पत्ति तथा लगानी एवं घर निर्माण लागत लगायतका खर्चहरू भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ‘ख’बमोजिम गैरकानुनी रुपमा आर्जन गरेको देखिएको छ । बिगोबराबरको एकाघर श्रीमती निरजरा घिमिरे, राममणि लामिछाने र आफ्नै नाममा राखिएको सम्पत्ति रोक्का राखी सो सम्पत्तिबाट असुलउपर÷जफत गरी पाउन र नपुग बिगोका हकमा प्रचलित कानुनबमोजिम ढकालबाटै असुलउपर गरी जफत गरी पाउनसमेत मागदाबी लिइएको छ ।

ढकालले आफ्नो श्रीमतीको नाममा समेत घर जग्गा खरिद, बैंक खाताहरुमा रकम मौज्दात रहे÷भएको लगानी तथा खर्च गरेको पाइएको र एकाघर सगोलमा आफ्नो श्रीमान र पतिले लाए÷अह्राए अनुसार श्रीमतीले गर्ने नै भएको हुँदा निजको श्रीमती घिमिरेलाई कसुरदार कायम गरी सजाय गर्न उपयुक्त नहुने भन्दै अख्तियारले ढकालले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानुनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरु निजले आफूलगायत श्रीमतीको नाममा राखेको हुँदा स्रोत पुष्टि हुन नसकेको सम्पत्ति तथा खर्च एवं लगानीको लागत मूल्य बिगो बराबरको सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ‘ख’बमोजिम बिगो जफत गर्ने प्रयोजनार्थ मात्र श्रीमती निरजरा घिमिरेलाई प्रतिवादी कायम गरिएको दाबी गरेको छ ।

अख्तियारका अनुसार ढकालले आफ्नो नाममा रहेको जग्गा लुकाउने छिपाउने उद्देश्यले राममणि लामिछानेको नाममा राखेकोमा राममणि लामिछानेले अनुसन्धानको क्रममा यथार्थ व्यहोरा खुलाई सहयोग गरेको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम मतियारको कसुर कायम गरी सजायको मागदाबी गरिएको छैन ।

अख्तियारका अनुसार लामिछानेलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायतर्फ पूर्ण रूपमा छुट दिएको छ । तथापि आरोपी ढकालले गैरकानुनी सम्पत्ति लामिछानेको नाममा राखेको जग्गा र घर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ‘ख’बमोजिम जग्गा बिगो जफत गरी पाउने प्रयोजनको लागि मात्र लामिछानेलाई प्रतिवादी कायम गरी जफत गरिपाउन समेत मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको जनाएको छ ।

मेची भन्सार प्रमुखसहित पाँच जनाविरुद्ध मुद्दा
अख्तियारले मेची भन्सार कार्यालय काँकडभिट्टा झापाका तत्कालीन भन्सार अधिकृत मनोज कुमार वि.क. र जाँचकी ना.सु. सनद खतिवडासहित पाँज जनाविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुले पैठारीकर्तासँग बदनियतपूर्वक मिलेमतो गरी अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ब्राण्ड तथा उत्पत्तिको देश नै फरक परेको मालवस्तुहरुलाई भौतिक परीक्षणको क्रममा अनदेखा गरी जाँचपास गरी आफूहरुलाई लाभ र नेपाल सरकारलाई प्राप्त हुने राजस्व रकमलाई हानि÷नोक्सानी हुने गरी न्यून भन्सार महसुल र भ्याट निर्धारण गरी राजस्व चुहावट गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क), (ख) र (घ) र दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि हुन आएको हुँदा वि.क. र खतिवडाको हकमा नेपाल सरकारलाई प्राप्त हुने राजस्व रकमबाट राजस्व चुहावट भएको ५५ लाख दश हजार पाँच सय ९६ रुपैयाँ ३३ पैसा माग दाबी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (ज) बमोजिम कैदको सजाय गरी सोही ऐनको दफा ७ बमोजिम चुहावट भएको राजस्वको दोब्बर जरिवाना हुन मागदाबी लिइएको छ ।

अख्तियारले सागर एण्ड साधना विजनेश प्रा.लि. काठमाडौंका सञ्चालकहरु गंगा बहादुर घिमिरे र लिला बहादुर घिमिरे तथा भन्सार एजेन्ट दिपेन्द्रराज पाण्डेले भन्सार ऐन, २०६४ एवं आर्थिक ऐन, २०७५ विपरित पैठारी हुने मालवस्तुको यथार्थ विवरण नखुलाई मालवस्तुको नाम मात्र राखी भन्सार कार्यालय मेचीका भौतिक परीक्षण गरी जाँचपास गर्ने कार्यमा संलग्न भन्सार अधिकृत मनोज कुमार वि.क. र जाँचकी ना.सु. सनद खतिवडासँग बदनियतपूर्वक मिलेमतो गरी मालवस्तु पैठारी गरेबापत नेपाल सरकारलाई घाटा पारेको भन्दै भष्टाचार मुद्दा दायर गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया