Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाबाट विदेशमा आठ नेपालीको मृत्यु दुई सयभन्दा बढी संक्रमित

कोरोनाबाट विदेशमा आठ नेपालीको मृत्यु दुई सयभन्दा बढी संक्रमित


काठमाण्डौं,वैशाख ५

नोवल कोरोना भाइरस (कोभिड १९)का कारण विदेशमा आठ नेपालीको ज्यान गएको छ भने दुई सयभन्दा बढी संक्रमित भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार कोरोना भाइरसका कारण अमेरिकामा एक नेपालीसहित छ जना र बेलायतमा रहेका छ जनाको मृत्यु भएको छ । मन्त्रालय उच्च स्रोतका अनुसार अमेरिकामा छ जना व्यक्तिको मृत्यु भए पनि दुई जनाको मात्रै पहिचान भएको छ ।

दुईमध्ये एक नेपालीमूलका अमेरिकी र अर्का एक जना नेपाली छन् भने बाँकी चार जनाको भने पुष्टि हुन बाँकी छ । यस्तै अमेरिकास्थित मृतक ६ जनामध्ये तीन जना भने कोरोना भाइरसको कारण मृत्यु भएको हो भने थप तीन जनाको मृत्युको कारण खुल्न बाँकी छ । ‘अमेरिकामा रहेको नेपाली दूतावासबाट प्राप्त जानकारीअनुरुप नेपाली वा अमेरिकी मूलका नेपाली को हो भन्ने विषय पुष्टि हुन बाँकी रहेको जानकारी दिएको छ’, परराष्ट्र स्रोतले भन्यो, ‘सो विषयमा खोजी हुँदै छ चाँडै स्पष्ट हुन्छौं ।’

यता बेलायतमा भने ६ जना नेपालीको मृत्यु कोरोना भाइरसको कारण भएको परराष्ट्रले जनाएको छ । बेलायतका विभिन्न स्थानमा बस्ने नेपालीहरु कोरोना संक्रमणको कारण मृत्यु भएको हो ।स्रोतका अनुसार विश्वभर रहेका नेपालीहरुमध्ये हालसम्म १६ मुलुकमा रहेका दुई सय २५ जना नेपालीहरुमा कोरोना संक्रमण देखापरेको छ ।
‘वैदेशिक रोजगारी र उच्च शिक्षाको लागि खाडी, युरोप, अमेरिकालगायतका मुलुकमा पुगेका नेपालीहरुमध्ये हालसम्म दुई सय २५ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखा परेको छ’, स्रोतले आर्थिक दैनिकलाई भन्यो, ‘यसरी नेपालीहरु संक्रमित रहेको मुलुक भनेको छिमेकी मुलुकहरु भारत र चीन (हङकङ), माल्दिभ्स, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य (बेलायत), अष्ट्रेलिया, पोर्चुगल, स्विट्जरल्याण्ड, बेल्जियम रहेको छ ।

यस्तै जापान, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, साउदी अरब, मलेसिया, बहराइन, कतारमा रहेका नेपालीहरुमा पनि कोरोना भाइरस संक्रमित रहेका छन् । कोरोना भाइरस संक्रमण भएका नेपालीहरुमध्ये भारतमा आठ जना, हङकङमा एक जना, अमेरिकामा ६० जना, बेलायतमा ३५ जना, अष्ट्रेलियामा ८ जना, पोर्चुगलमा १२ जना, स्विट्जरल्याण्डमा पाँच जना, बेल्जियममा एक जना रहेका छन् । यता माल्दिभ्समा भने हालसम्म कुनै नेपालीमा कोरोना संक्रमण देखिएको छैन ।

यस्तै जापानमा दुई जना, युएईमा ११ जना, कुवेतमा १३ जना, साउदी अरबमा चार जना, मलेसियामा एक जना, बहराइनमा दश जना नयाँसहित कुल २२ जना नेपालीमा कोरोना संक्रमण देखापरेको छ भने कतारमा भने केही संक्रमित र क्वारेन्टाइनमा नेपालीहरु रहेका छन् ।
स्रोतका अनुसार कतारमा रहेका नेपालीहरुको जो संक्रमित तथा क्वारेन्टाइनमा बसेका छन् उनीहरुको समुदायगत जानकारी उपलब्ध नगराउने कतारको नीति रहेको हुँदा नेपालीहरुको एकीन जानकारी आउन नसकेको हो भने संक्रमित तथा क्वारेन्टाइनमा रहेका नेपालीहरु भने कतारस्थित नेपाली दूतावासको सम्पर्कमा छन् ।

यस्तै संक्रमित नेपालीहरुमध्ये कतिपय उपचाररत छन् भने कतिपय उपचारपछि निको भई आराम गरिरहेको बताइएको छ । मन्त्रालयका अनुसार उपचाररत नेपालीहरु एक सय १८ जना रहेका छन् भने उपचारपछि २३ जना नेपालीहरुले स्वास्थ्य लाभ गरिरहेका छन् । उपचार भइरहेकाहरुको संख्या भने भारतमा आठ जना, युएईमा नौ जना, साउदीमा एक जना, मलेसिया ६ जना, बहराइन २२ जना, अष्ट्रेलियामा सात जना र स्विट्जरल्याण्डमा दुई जना रहेको छ ।

यस्तै कोरोना भाइरसको उपचारका लागि हङकङमा सात जना तथा माल्दिभ्समा दुई जना क्वारेन्टाइनमा बसेका छन् भने बेलायतमा ३० जनालाई उपचारका लागि क्वारेन्टाइनमा राखिएको छ । पोर्चुगलमा २१ जनालाई क्वारेन्टाइनमा र अर्का एक जना गरी २२ जना नेपालीहरुको उपचार भइरहेको छ ।

यस्तै कोरोना संक्रमितमध्ये उपचार भई स्वास्थ्य लाभ गरिरहेका नेपालीहरुको संख्या युएईमा दुई जना, साउदीमा तीन जना, अष्ट्रेलियामा एक जना, बेलायतमा १० जना, स्विट्जरल्याण्डमा तीन जना, माल्दिभ्समा चार जना रहेको छ ।

सरकारी तथ्यांकअनुसार वैदेशिक रोजगारी र उच्च शिक्षाको लागि भन्दै नेपालीहरु विश्वका एक सय ५० भन्दा बढी मुलुकमा पुगेका छन् । हालसम्म सरकारले विदेशमा रहेका नेपालीहरुको बारेमा कुनै ठोस निर्णय लिनसकेको छैन भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने विदेशमा रहेका नेपालीहरु स्वदेशमा ल्याउन सम्भव नभएको बताएका छन् । अधिकारीले नेपालीहरु जुन मुलुकमा छन्, त्यही सुरक्षित बस्नुपर्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया