Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार३५ अर्बको विकास ऋणपत्र आज

३५ अर्बको विकास ऋणपत्र आज


काठमाण्डौं,वेशाख ७

नेपाल राष्ट्र बैंकले आज आइतबार ३५ अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार अपराह्न ३ बजेसम्म बोलकबोलको माध्यमद्वारा विकास ऋणपत्र २०८० ‘घ’ बिक्री गर्न लागिएको हो ।

नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागद्वारा तीन वर्ष अवधिको विकास ऋणपत्र २०८० ‘घ’ बोलकबोल प्रक्रियाद्वारा निष्काशन गरिन लागेको राष्ट्र बैंकले जनाएको छ । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।

बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुने यो ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले भाग लिन पाउनेछन् । धितो राखी कर्जा लिन÷दिन पाइने सुुविधा रहेको ऋणपत्रको निष्काशन मिति वि.सं. २०७७ वैशाख आठ गते तोकिएको छ भने सावाँ भुक्तानी मिति वि.सं. २०८० तोकिएको छ ।

इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुनसक्ने प्रावधान रहेको ऋणपत्रको लागि प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् २९ अर्ब ७५ करोड र पाँच अर्ब २५ करोड छुट्याइएको छ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिनेछ ।ऋणपत्र घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधीनमा रहेर खरिद गर्न सकिनेछ ।

ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउनेछैनन् । राष्ट्र बैंकका अनुसार ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत मात्र हुनेछ ।

सोमबार पा“च अर्ब २० करोड रुपैया“ ट्रेजरी
नेपाल राष्ट्र बैंकले आगामी सोमबार पाँच अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपराह्न ३ बजेसम्ममा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

बिक्री गरिने कुल ट्रेजरीमध्ये ९१ दिने अवधिको २० करोड र एक सय ८२ दिने अवधिको पाँच अर्ब रुपैयाँको रहेको छ । सोमध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि बिसं २०७७ साउन छ गते तोकिएको छ भने एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि वि.सं. २०७७ कात्तिक ७ गते तोकिएको छ ।

यस अवधि यही चैत ३० गते पनि राष्ट्र बैंकले १० अर्ब २५ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । सोमध्ये ९१ दिने अवधिको आठ अर्ब र एक सय ८२ दिने अवधिको दुुई अर्ब २५ करोड रुपैयाँको रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया