Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारले लकडाउन खुकुलो बनाउने विदेशीलाई तत्काल नेपाल आउन बन्द

सरकारले लकडाउन खुकुलो बनाउने विदेशीलाई तत्काल नेपाल आउन बन्द


काठमाडौं,बैशाख ८

सरकारले पूर्वाधार निर्माण र आन्तरिक व्यवसायलाई क्रमशः खुला गर्दै लकडाउनलाई खुकुलो पार्ने भएको छ । कोरोनाको कुनै प्रभाव नदेखिएका क्षेत्रमा पनि लगातारको लकडाउनको कारण समस्या सिर्जना भएको विश्लेषण गर्दै सरकारले पूर्वाधार निर्माणको अतिरिक्त कुन–कुन क्षेत्रलाई पहिला खोल्ने भन्नेबारे अध्ययन गरिरहेको छ ।

लकडाउन खुकुलो पार्ने योजनाअनुसार सरकारले विभिन्न ठाउँमा थप विकास निर्माणको कामलाई सञ्चालन गरेको छ । मेलम्ची खानेपानी आयोजनालगायतका केही महत्वपूर्ण आयोजनाको काम जारी राखेको सरकारले शनिबारदेखि राष्ट्रिय महत्वको योजनाको रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ– स्याफ्रुबेसी–रसुवागढी सडकको निर्माणको काम पनि सुरु गरेको छ । उक्त योजनाका प्रमुख नारायणदत्त भण्डारीका अनुसार सो राजमार्गका पुल तथा सडकको कटिङ्गको नयाँ काम सुरु भइसकेको छ ।

योजना प्रमुख भण्डारीका अनुसार धादिङको गल्छीस्थित महेशखोलामा नयाँ मोटरेबल पुल निर्माणको लागि जग खनेपछि पुरानो पुलको जग नै भत्किने अवस्था आएपछि लकडाउनको अवधिमा पनि धमाधम काम गरेर अहिले उक्त पुलबाट ठूला गाडीको लागि पनि आवतजावत खुला गरेको छ ।

काम जारी रहेपछि योजना प्रमुख भण्डारी कामको अनुगमन गर्न आफैं फिल्डमा पुगेका छन् । आइतबार भण्डारी महेशखोलामा निर्माणाधीन पुलको अनुगमन गर्न पुगेका थिए । ‘चीन जोड्ने यो सडक महत्वपूर्ण भएकाले लकडाउनको प्रवाह नगरी जिल्लामै बसेर धमाधम काम गर्न लगाएको छु’, योजना प्रमुख भण्डारीले आर्थिक दैनिकसित भने । उक्त पुलको निरीक्षणका लागि निर्माण व्यवसायी समेत रहेका सांसद बहादुर सिंह लामा पनि आइतबार त्यहाँ पुगेका थिए ।

सरकारले जुम्ला, काठमाडौंलगायतका जिल्लामा पनि लकडाउनको अवधिमा सडक निर्माण जारी राखेको छ । पछिल्लो समयमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई नै परिपत्र गर्दै सडक, पुल निर्माणमा सहजीकरण गर्न निर्देशन दिएको छ ।

सोही कारण आइतबारदेखि नै जिल्ला प्रशासन कार्यालयहरुले निर्माण व्यवसायीलाई सडक आयोजना, योजना र डिभिजनको सिफारिसमा गाडीको पास उपलब्ध गराउन थालेको छ । अहिले खाद्यान्न, तरकारी, फलफूलका गाडी मात्र गुडिरहेको सडकमा अब निर्माण सामग्री बोकेका गाडीहरु पनि गुड्न थाल्नेछन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले पनि सरकारले लकडाउन क्रमशः खुकुलो बनाउँदै लैजाने गृहकार्य थालेको जानकारी व्यवसायीहरुलाई दिएका छन् ।

तर, नेपालमा अन्तर्राष्ट्रि«य आवागमन तत्काल खोल्न सक्ने स्थिति भने नरहेको बताएका छन् । चीनबाट सुरु भएको कोरोनाको कारण अहिले विश्वका दुई सय दश वटा देश र दुईवटा पानी जहाजमा संक्रमण पुगेको छ ।

नेपालको दक्षिणको छिमेकी भारतमा पनि कोरोनाको प्रकोप बढेको कारण सरकारले तत्काल विदेशीका लागि नेपाललाई खुल गर्न नसक्ने जनाएको हो ।

‘व्यावसायिक गतिविधि र भौगोलिक गतिविधिलाई अलि खुकुलो बनाउँदै लैजानेतर्फ सोच्न थालिएको छ । त्यसमा हामीले गृहकार्य थालेका छौँ’, अर्थमन्त्री खतिवडाले नेपाल चेम्बर्स अफ कमर्सको टोलीसँगको आइतबार भएको भेटवार्तामा लकडाउन खुकुलो पार्ने र विदेशीका लागि तत्काल नेपालका नाका खुला नगर्ने जानकारी दिएका हुन् ।

नेपालमा एक जनाबाहेक अहिलेसम्म विदेशबाट आएका स्वदेश तथा विदेशका व्यक्तिमा कोरोना देखिएको कारण सरकारले विदेशी नाका खोल्न नचाहेको हो ।

भेटमा अर्थमन्त्रीले सरकारले उद्योगी व्यवसायीलाई कर, बैंकिङ सुविधा वा श्रम बजारको माध्यमबाट सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको भेटमा सहभागी एक व्यवसायीले जानकारी दिए ।

कोरोनाले समग्र क्षेत्रमा पारेको प्रभावबारे सरकारले अध्ययन गरिरहेको र त्यसमा निजी क्षेत्रसँगको सहकार्यमा पनि होओस् भन्नेमा आफू तयार रहेको पनि अर्थमन्त्री खतिवडाको भनाइ छ ।

बैंक तथा वित्तीय क्षेत्रलाई धेरै नाफा नखोज्न र उद्योगी व्यवसायीलाई सहुलियत दिनसमेत अर्थमन्त्री खतिवडाले आग्रह गरेका छन् । लकडाउन खुल्नेबित्तिकै आन्तरिक पर्यटन बढ्ने र क्रमशः बाह्य पर्यटनसमेत बढ्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

कोरोना चुनौती मात्र नभई अवसरसमेत रहेको, कृषिमा टुटेको सम्बन्धलाई जोड्ने र विभिन्न क्षेत्रमा विद्युतीय कारोबार तथा प्रणालीको विकासमा समेत सहयोग पुगेको उनको भनाइ छ ।

सरकारले दैनिक ज्यालादारी गर्नेलाई राहत दिने व्यवस्था गरेको भए पनि त्यसमा हुनेखानेले पनि सुविधा लिएको भन्ने गुनासो पनि आएकाले सत्यतथ्यको खोजी गर्नुपर्ने बताए ।

आन्तरिक रूपमा उत्पादन हुने ऊर्जाको खपत बढाउनका लागि सरकारले विद्युतीय चुल्हो खरिदका लागि अनुदानसमेत दिएको उल्लेख गर्दै मन्त्री डा. खतिवडाले विद्युत् पुगेको क्षेत्रमा थप विद्युत् उपलब्ध गराउन र गुणस्तरीय सेवाका लागि समेत काम गर्नुपर्ने आवश्यकता आँैल्याए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया