Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएक्कासि दुई अध्यादेश राष्ट्रपति भण्डारीद्वारा जारी

एक्कासि दुई अध्यादेश राष्ट्रपति भण्डारीद्वारा जारी


काठमाडौं,बैशाख ९
आफ्नै पार्टीका नेताहरुलाई जानकारी नै नदिई प्रधानमन्त्री केपी शर्मा ओलीको योजना अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले दुईवटा अध्यादेश पास गरेको छ । मन्त्रिपरिषद्ले पास गरेको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार नै जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त दुई अध्यादेश जारी गरेको उल्लेख छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठकमा मन्त्रिपरिषद्ले निर्णय गरी अघि बढाएका अध्यादेशहरूबारे प्रधानमन्त्री ओलीले सोमबार नै जानकारी दिएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त अध्यक्षतामा बसेको बैठकमा उक्त जानकारी दिइएको हो ।

बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिमा बैठकमा पार्टीका अध्यक्ष ओलीले अध्यादेशहरू जारी गर्न निर्णय गर्नुको औचित्यबारे बैठकलाई जानकारी गराएको जनाइएको छ । अध्यादेशप्रति नेता देउवाको असहमतिनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सोमबार संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी दुई अध्यादेश जारी गरेकामा असहमति प्रकट गरेका छन् ।

देउवाले सोमबार साँझ वक्तव्य जारी गरी दुवै अध्यादेशप्रति कांग्रेसको गम्भीर असहमति रहेको जनाउँदै सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको आरोप लगाएका छन् । ‘कोरोनाको संक्रमणबाट नेपाल र नेपालीको रक्षा गर्ने यो घडीमा सबैखाले विमति र आग्रहहरुबाट माथि उठेर कांग्रेसले सरकारलाई हरसम्भव सघाउँदै आएको छ । यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो’, पूर्वप्रधानमन्त्री देउवाले विज्ञप्तिमा भनेका छन् ।

संविधान निर्माण गरिंँदा राजनीतिक स्थिरताको बन्दोबस्त गरिएको र सँगै संवैधानिक नियुक्तिमा साझा स्वामित्वको परिकल्पना गरिएको स्मरण गराउँदै देउवाले यस घडीमा सरकारले चालेको कदम र राष्ट्रपतिबाट छिट्टै गरिएको प्रमाणीकरणले यी सबै व्यवस्था उल्लङ्घन गरेको आरोप लगाएका छन् । सभापति देउवाले ती अध्यादेश तत्काल फिर्ता लिन माग गर्दै कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रुपले केन्द्रित हुन सरकारलाई आग्रह गरेका छन् ।

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट
राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ नियमित भेटघाट गरो छन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच राष्ट्रपति कार्यालय शीतलनिवासमा नियमित भेटघाट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएको राससले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठकमा मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जानकारी गराएर प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय गएका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया