Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालको व्यापारघाटा आठ खर्ब ४९ अर्ब ७४ अर्बको सामान निर्यात हुुँदा नौ खर्ब २४ अर्बको आयात

नेपालको व्यापारघाटा आठ खर्ब ४९ अर्ब ७४ अर्बको सामान निर्यात हुुँदा नौ खर्ब २४ अर्बको आयात


काठमाडौं,बैशाख ९

नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक उक्त प्रतिवेदनअनुसार कुल वस्तु निर्यात २२ दशमलव तीन प्रतिशतले बढेर ७४ अर्ब ९१ करोड रुपैयाँ पुुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १५ दशमलव छ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुुसार चालू आवको आठ महिनामा कुल वस्तु आयात भने दुुई दशमलव छ प्रतिशतले घटेर नौ खर्ब २४ अर्ब २४ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २३ दशमलव आठ प्रतिशतले बढेको बढेको राष्ट्र बैंकले जानकारी दिएको छ । चालू आवको आठ महिनामा कुल वस्तु व्यापारघाटा चार दशमलव तीन प्रतिशतले संकुचन भई आठ खर्ब ४९ अर्ब ३३ करोड कायम भएको छ ।

गत वर्षको सोही अवधिमा यस्तो घाटा २४ दशमलव चार प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ । गन्तव्यका आधारमा भारततर्फ निर्यात ३५ दशमलव पाँच प्रतिशत र अन्य मुलुकतर्फ एक दशमलव एक प्रतिशतले बढ्दा चीनतर्फको निर्यात १९ दशमलव चार प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, आयुर्वेदिक औषधि, जडीबुटी, जुटका सामानलगायतका वस्तुको निर्यात बढेको भए पनि जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तार लगायतका वस्तुको निर्यात भने घटेको छ ।

राष्ट्र बैंकका अनुसार वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात सात दशमलव पाँच प्रतिशतले घट्दा चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः पाँच दशमलव पाँच प्रतिशत र छ दशमलव आठ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा कच्चा पाम तेल, रासायनिक मल, हटरोल सिट, कच्चा सोयाबिन तेल, मेसिनरी तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढेको भए पनि एम.एस. बिलेट, यातायातका साधन तथा पार्टपुर्जा, सुन, पेट्रोलियम पदार्थ, सिमेन्टलगायतका वस्तुको आयात भने घटेको छ ।

चालू आवको पछिल्लो आठ महिनामा निर्याततर्फ वीरगञ्ज, विराटनगर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मेची र तातोपानी भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यातमा कमी आएको छ । राष्ट्र बैंकका अनुसार आयाततर्फ सुख्खा बन्दरगाह, मेची, तातोपानी र कञ्चनपुर भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात आठ दशमलव एक प्रतिशत पुगेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात छ दशमलव पाँच प्रतिशत रहेको थियो ।

चालू खाता एक खर्ब २४ अर्ब रुपैयाँले घाटामा
चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा मुलुकको चालू खाता घाटा एक खर्ब २४ अर्ब ९३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा एक खर्ब ९१ अर्ब ४९ करोड रहेको थियो ।

राष्ट्र बैकका अनुुसार अमेरिकी डलरमा अघिल्लो वर्षको आठ महिनामा एक अर्ब ६८ करोड रहेको चालू खाता घाटा समीक्षा अवधिमा एक अर्ब १० करोड रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ११ अर्ब १५ करोड र प्रत्यक्ष वैदेशिक लगानी १५ अर्ब ६१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ११ अर्ब ५६ करोड र प्रत्यक्ष वैदेशिक लगानी छ अर्ब ६६ करोड रहेको थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति ३७ अर्ब ८४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५८ अर्ब ९९ करोडले घाटामा रहेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको आठ महिनासम्ममा ५१ करोड ७० लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ३३ करोड १२ लाखले बचतमा रहेको छ ।

आठ महिनामा भित्रियो पाँच खर्ब ९२ अर्ब रुपैयाँ रेमिट्यान्स

चालू आर्थिक वर्षको पछिल्लो आठ महिनाको रेमिट्यान्स अर्थात् विप्रेषण आप्रवाहमा सामान्यरुपमा सुधार देखिएको छ । राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाह एक दशमलव आठ प्रतिशतले बढेर पाँच खर्ब ९२ अर्ब ४२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ दशमलव चार प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाहमा एक दशमलव सात प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११ दशमलव सात प्रतिशतले बढेको थियो । चालू आवको आठ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २४ दशमलव दुुई प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६ दशमलव दुुई प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या दुुई दशमलव सात प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या चार दशमलव छ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर आय एक दशमलव चार प्रतिशतले बढेर छ खर्ब ७१ अर्ब ८९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २२ दशमलव नौ प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

खुुद सेवा आय पाँच अर्ब १२ करोड रुपैयाँले घाटामा
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा मुलुुकको खुद सेवा आय पाँच अर्ब १२ करोडले घाटामा रहेको जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ११ अर्ब १ करोडले घाटामा रहेको थियो ।

सेवा खाताअन्तर्गत भ्रमण आय समीक्षा अवधिमा ११ दशमलव नौ प्रतिशतले बढेर ५४ अर्ब १० करोड पुगेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४८ अर्ब ३६ करोड रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय २० दशमलव आठ प्रतिशतले घटी ४८ अर्ब ९६ करोड कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार यसमध्ये शिक्षातर्फको व्यय २३ अर्ब ९८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ६१ अर्ब ८२ करोड रहेकोमा शिक्षातर्फको व्यय ३२ अर्ब १७ करोेड रहेको थियो ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया