Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहस्तकला व्यवसायको संरक्षणको लागि राहत प्याकेजसहितको नीतिगत व्यवस्था गर्न माग

हस्तकला व्यवसायको संरक्षणको लागि राहत प्याकेजसहितको नीतिगत व्यवस्था गर्न माग


काठमाडौं, वैशाख १८
नेपाल हस्तकला महासंघले कोभिड–१९ बाट प्रभावित हस्तकला उद्योग व्यवसायको संरक्षणको लागि सरकारले राहत प्याकेजसहितको नीतिगत व्यवस्था गनुपर्ने बताएको छ । महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको असर नेपालमा सबैभन्दा बढीे हस्तकला क्षेत्र, पर्यटन व्यवसाय र निर्यात व्यापारमा परेकोले यसको संरक्षणको लागि राहत प्याकेजसहितको नीतिगत व्यवस्था गर्न आवश्यक रहेको जनाएको छ ।

अमेरिका, युरोप तथा अन्य पश्चिमी मुलुकहरुमा बढी आश्रित हस्तकला उद्योग व्यवसायले निर्यात व्यापारमार्फत विदेशी मुद्रा आर्जन गरी अर्थतन्त्रमा समेत उल्लेख्य योगदान पु-याइरहेको समयमा देखिएको कोरोनाको असरले हस्तकला व्यवसाय धराशायी भएको महासंघको भनाइ छ । कोरोनाका कारण अन्तर्राष्ट्रिय बजारमा पठाउन लागेका सामान रोकिएको, बजारबाट प्राप्त गरेको अर्डरहरु समेत रद्द भएकोले हस्तकला व्यवसायीहरु आफ्नो लगानी पुँजीको साथै बैंकहरुबाट लिएको ऋण र ब्याज समेत तिर्न नसक्ने अवस्थामा पुगेको महासंघले जनाएको छ । ११ लाखभन्दा बढी जनशक्तिलाई रोजगारी प्रदान गर्दै आएको तथा २० अर्बको हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा योगदान पु-याइरहेको हस्तकला उद्योग व्यवसायलाई उठाउन सरकारलाई महासंघले १५ बुँदे सुझाव समेत प्रस्तुत गरेको छ ।

महासंघले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति तथा विभिन्न राहत र कर्जाका व्यवस्थाहरु हस्तकला लगायत घरेलु, लघु तथा साना उद्योगलाई सम्बोधन हुने छुट्टै कार्यक्रमहरु ल्याउनुपर्ने, बैंकहरुको व्याजदर आ.व.०७७।७८ सम्मका लागि न्यूनीकरण तथा पुनरवलोकन गरी कम्तीमा पनि आगामी ५ वर्षका लागि सफ्ट लोनका अपरिहार्य रुपमा पर्याप्त व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ ।

यसैगरी बैंकको ब्याज लागतलाई न्यूनीकरण गर्न हस्तकला कम्पनी तथा फर्महरुको एक वर्षको ब्याज २ दुई प्रतिशत छुटमा पुनर्कर्जाको व्यवस्था गर्नुपर्ने, सहुलियत कर्जा सुविधा सम्पूर्ण हस्तकला उद्यमीहरुलाई पनि प्रदान गर्नुुपर्ने र उक्त ऋण कम्पनी तथा फर्मले किस्ताबन्दीमा दुई वर्षभित्र तिर्ने व्यवस्था मिलाउनुपर्ने महासंघको भनाइ छ । बैंकहरुले हस्तकला क्षेत्रका साना उद्यमी, व्यवसायी तथा कलाकार, कालिगढहरुका लागि कम्तीमा पनि २० लाखसम्म विना धितो नेपाल हस्तकला महासंघको सिफारिसमा बढीमा ६ प्रतिशतसम्म ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने महासंघको सुझाव छ ।

कोरोना भाइरसका कारण अब एक वर्षसम्म नेपालमा विदेशी पर्यटकहरु आउने सम्भावना नरहेकोले यस्तो अवस्थामा नेपाली हस्तकलाका सामग्रीहरुको आन्तरिक बजार विस्तार गर्न तथा सरकारी निकायहरुमा आवश्यक हुने र उपहारको लागि चाहिने सामग्रीहरुमा स्वदेशमा उत्पादित सामग्रीहरुको प्रयोगलाई बढी प्राथमिकता दिने, हस्तकलाको कारोबारमा प्यानबिलको मान्यता दिनुपर्ने, अन्तर्राष्ट्रिय व्यापार मेलामा भाग लिन नसक्ने व्यवसायीहरुलाई नेपालमै मेलाको आयोजना गरी हस्तकलाका सामग्रीहरुको निर्यात व्यापार वृद्धि गरी विदेशी मुद्रा आर्जन गर्ने नीतिगत व्यवस्था र छुट्टै कोषकोे स्थापना गर्न पनि महासंघले सरकारलाई आग्रह गरेको छ ।

नेपालबाट विद्युतीय कारोबारमार्फत निर्यात व्यवसाय गर्न विद्युतीय कारोबारका लागि चाहिने आवश्यक अन्तर्राष्ट्रियस्तरको निर्देशिका र कार्यविधि एवं मौद्रिक नीतिको व्यवस्था गरी यसका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त अनलाइन भुक्तनीको पद्धतिलाई नेपालमा पनि तत्काल मान्यता प्रदान गर्न महासंघले सरकारलाई सुझाव दिएको छ । हस्तकलाको हालको प्रमुख बजार रहेका संयुक्त राज्य अमेरिका, युरोपियन मुलुकहरु, जापान र चीन कोरोना भाइरसको कारण आर्थिक मन्दिमा जान सक्ने भएकोले नयाँ–नयाँ बजारको खोजी गर्न व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा ब्राजिल, पोर्चुगल, चेकोस्लोभाकिया र दक्षिण अफ्रिका नयाँ बजार हुन सक्ने भएकोले ती बजारहरुको सम्भाव्यता अध्ययन गर्न महासंघले अनुरोध गरेको छ ।

साथै महासंघले नेपाल सरकारको निकासी विनियमबमोजिम विना अग्रिम भुक्तानी निकासीको सीमा तीन सय अमेरिकी डलर रहेकोले यसलाई बढाएर एक हजार अमेरिकी डलरसम्म पु-याउनुपर्ने, नगद प्रोत्साहन प्राप्त गर्न मूल्य अभिवृद्धिको सिफारिस उद्योग विभागबाट गराउनुपर्ने जटिल कार्यविधि निरुत्साहित गरी निकासी सहजीकरणका कागजात र नेपाल हस्तकला महासंघको पत्रका आधारमा नै हस्तकला व्यवसायीहरुलाई नगद प्रोत्साहन दर वृद्धि गरी कम्तीमा १० प्रतिशत प्रदान गर्नुपर्ने, हाल आन्तरिक रुपमा विकसित बजार र स्वरोजगारको अत्यधिक सम्भावना रहेको प्राकृतिक रेसाको लागि धागो निकाल्ने प्रविधि नेपालमा नभएकोले धागो निकाल्ने प्रविधि भित्र्याउनुपर्नेमा जोड दिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया