Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआइडिया स्टुडियोले अत्यावश्यक सामानको होम डेलिभरी गर्ने

आइडिया स्टुडियोले अत्यावश्यक सामानको होम डेलिभरी गर्ने


काठमाडौं, वैशाख १९
कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनले अत्यावश्यक सामान किन्न समस्या परेका ग्राहकहरुलाई आईडिया स्टुडियोले होम डेलिभरीको सेवा दिने भएको छ । आइडिया स्टुडियोले चारवटा बिजनेस कम्पनीलाई एकै ठाउँमा ल्याएर उपभोक्तालाई सेवा दिन थालेको हो ।

आइडिया स्टुडियोमा आबद्ध सजिलो मर्मत सेवा, मेट्रो तरकारी, नेपाल मेड र केयूल्याबले उपभोक्तालाई सेवा दिन तयार भएका छन् । आइडिया स्टुडियोले एउटा नम्बरमा फोन गरेपछि आफूलाई चाहिने सामग्री घरमै आइपुग्ने गरी काम अगाडि बढाएको छ । जसलाई ‘वान कल ४ सर्भिसेज’ भनिएको छ । अहिले लकडाउनको समयमा उपभोक्तालाई सहज भएको छ ।

आइडिया स्टुडियोको सजिलो मर्मत सेवाले इलेक्ट्रिसियन, प्लम्बिङ, कम्पयुटरलगायतका सामग्री बनाउँछ । घर, अफिस वा अस्पताल जुनसुकै क्षेत्रमा पनि विद्युतीय सामग्री बिग्रियो भने बनाउने टेक्निसियन उपलब्ध गराउँछ । भिडियो वा फोनबाटै पनि बनाउन मिल्ने रहेछ भने त्यो सेवा पनि रहेको छ ।

त्यस्तै मेट्रो तरकारी सेवाले किचेनमा चाहिने तरकारीदेखि खाद्यान्नलगायतको सामग्री उपलब्ध गराउँछ । आफूलाई चाहिने सामग्री अडर ग-यो भने घरमै मेट्रो तरकारीले ल्याइदिन्छ । जसका कारण कोरोना भाइरसको जोखिम मोलेर तरकारी किन्न बाहिर जानुपर्दैन । आइडिया स्टुडियोको अर्को सेवा कम्पनी केयू ल्याबले ल्याबले अनलाइन शिक्षा दिइरहेको छ । लकडाउनका कारण विद्यालय तहका विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । उनीहरूको पठनपाठन नरोकियोस्, घरमै बसेर पनि सिक्न सकून् भनेर अनलाइनमा पाठ्य सामग्री राखिएको छ, जसबाट विद्यार्थीलाई फाइदा पुगेको छ ।

त्यस्तै नेपाल मेडले मेडिकल प्रोडक्टको सेवा दिएको छ । कुनै औषधि आवश्यक परेमा नेपाल मेडबाट घरमै उपलब्ध गराउँछ । जति पनि मेडिकल प्रोडक्टहरू छन्, ती सामग्री नेपाल मेडले उपलब्ध गराउँछ । यदि बिरामी भएमा वा नियमित खानुपर्ने औषधि सकिएमा बिरामीका लागि सहज भएको छ । ‘आइडिया स्टुडियोले नेतृत्व लिएर सुरु गरेका हौँ,’ स्टुडियोकी सञ्चार निर्देशक श्रद्धा पालले भनिन्, ‘कोभिड १९ का कारण असहज भएपछि उपभोक्तालाई सहज होस् भनेर सुरु गरेका हौँ ।’ यो सेवा काठमाडौं उपत्यकामा मात्र उपलब्ध छ ।

‘सामाजिक उत्तरदायित्व र सामूहिक कामको विकास गर्न सहयोग पुग्ने अपेक्षा छ,’ उनले भनिन्, ‘आइडिया स्टुडियोले नयाँनयाँ आइडियालाई प्रोत्साहन गर्दै आएको छ ।’ ‘लकडाउनको समयमा के गर्न सकिन्छ ? कसरी सेवा दिने भन्ने सोच्दै थियौँ,’ सजिलो मर्मत सेवाका संस्थापक कविश श्रेष्ठले भने, ‘४ वटा बिजनेसलाई एकै ठाउँमा राखेर फोनबाट उपभोक्तालाई सेवा दिन सफल भएका छौँ ।’

आइडिया स्टुडियोले प्रत्येक वर्ष आइडिया हन्टको आयोजनाका साथै नयाँनयाँ आइडियालाई बिजनेसमा रुपान्तरण गर्न सहयोग गर्दै आएको छ । अहिलेसम्म ४ वटा आइडिया हन्टको आयोजना गरेको छ । जसमा सयौँ आइडियाहरू आएका छन् । १ सयभन्दा बढी आइडियाले सफल रूपमा व्यवसाय गरिरहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया