Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहिमालयन आर्ट फेस्टिभल सुरु

हिमालयन आर्ट फेस्टिभल सुरु


काठमाडौं । ई–आर्टस् नेपालको आयोजनामा हिमालयन आर्ट फेस्टिभल सुरु भएको छ । नेपाल आर्ट काउन्सिलमा बिहीबारदेखि सुरु हुने सो फेस्टिभल भदौ १३ गतेसम्म चल्ने बताइएको छ । प्रदर्शनी ई–आर्टस् नेपालले सन् २०१७ देखि निरन्तररूपमा हरेक वर्ष दशैंको अवसर पारेर आयोजना गर्दै आइरहेको छ । ई–आर्टस् नेपालका सह–संस्थापक आशा डङ्गोल दशैंमा धेरै मेलाहरूको आयोजना हुने भएकाले नेपाली कला र कलाकारहरूको समकालीन अवस्था र प्रोत्साहनका लागि सन् २०१७ देखि आफूहरूले हिमालयन आर्ट फेस्टिभलको आयोजना गर्न सुरु गरेको बताउँछिन् । नेपाली कलाकृति नेपालीहरूकै घरमा सजिऊन् भन्ने उद्देश्य पनि यस प्रदर्शनीले बोकेको उनको भनाइ छ । उनका अनुसार पहिला नेपाली कलाकृति किन्न गाह्रो हुन्छ भन्ने थियो तर अहिले आकर्षक मूल्यमा मध्यम वर्गीय परिवारलाई लक्षित गरी यस कला प्रदर्शनी गर्न लागिएको हो ।

करिब ८० भन्दा बढी कलाकारहरूले आफ्नो कला प्रदर्शनीमा राखेका छन् । नेपाली कलाकारहरूको कलाको स्तरमापनको लागि समेत यस प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । सन् २०१७ मा समसामयिक चित्रकला र मूर्तिहरूबाट सुरु गरिएको यस फेस्टिभलमा जम्मा ५० जना कलाकारहरूले भाग लिएका थिए । अहिले हुने प्रदर्शनीमा कलाका विभिन्न विधालाई समेटिएको छ । नेपाली वरिष्ठ कलाकारदेखि वर्तमान पुस्ताका कलाकारहरूको कामलाई प्रदर्शनीमा राखिएको छ । विधागत हिसाबले हेर्ने हो भने ‘टु डी’ र ‘थ्री डी’ डाइमेन्सनका कलाहरू यस प्रदर्शनीमा समावेश गरिएका छन् ।

प्रदर्शनीको अर्को आकर्षण भनेको एक जना वरिष्ठ कलाकारलाई एउटा छुट्टै स्थान बनाएर उनको कलाकृतिलाई त्यहाँ राखिने कार्यक्रम समेत रहेको ई–आर्ट्स नेपालका सह–संस्थापक भाइराज मर्हजनले बताए । यसपालि भने उक्त स्थानमा वरिष्ठ मूर्तिकार प्राध्यापक गोविन्दनारायण ज्यापुका कलाकृतिलाई राखिने उनले बताए । हिमाल, पहाड, तराईका कलाकारहरूको सहभागिता यस प्रदर्शनीमा रहेको बताइएको छ ।

सात दिनसम्म चल्ने प्रदर्शनीको बीचमा विभिन्न क्रियाकलापहरू समावेश गरिएको छ । सो प्रदर्शनीमा प्राध्यापक गोविन्द नारायण ‘ज्यापु’ लाई सम्मान गरिने भने क्युरेटरप्रतिमा थकालीले कला प्रदर्शनीको भ्रमण गराउने कार्यक्रम रहेको छ । यस्तै, कलाको विषयमा प्यानल छलफल पनि हुने आयोजकले जनाएको छ । प्रदर्शनीको दौरान कलाकार प्रशान्त श्रेष्ठको सम्झनामा राखिएको प्रशान्त छात्रवृत्ति समेत तीनजना युवाकलाकारलाई वितरण गरिने छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया