Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगविकास बजेट कोरोना कोषमा रकमान्तर

विकास बजेट कोरोना कोषमा रकमान्तर


सोलुखुम्बु, वैशाख २२
सोलुखुम्बुको लिखुपिके गाउँपलिकाले विकास निर्माणको रकमलाई रकमान्तर गरेको छ । विकास निर्माणका लागि छुट्याइएको बजेट कोरोना कोषमा जम्मा गर्ने गरी रकमान्तर गरिएको हो । गाउँपालिकाले वडा नम्बर १ को सिमाना सामसुङ भञ्ज्याङ सडक निर्माणका लागि विनियोजन गरेको एक करोड बजेट रकमान्तर गरेको हो ।

अहिले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरससँग लड्नका लागि विकास बजेट रकमान्तर गरिएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले जानकारी दिए । बस्नेतले विकासभन्दा पनि जनताको ज्यान ठूलो भएको भन्दै रकम रकमान्तर गरिएको बताए । गाउँपालिका अध्यक्ष बस्नेतको अध्यक्षतामा बसेको गाउँ कार्यसमितिको बैठकले प्रदेश सरकारबाट प्राप्त उक्त बजेट रकमान्तर गर्नुका साथै शीर्षक परिवर्तन गर्ने निर्णय गरेको हो । साथै बैठकले मंगलबार विभिन्न नीति तथा कार्यक्रमका लागि छुट्याएको १७ लाख बेजट पनि कोरोना कोषमा रकमान्तर गरेको छ ।

लकडाउनको समयमा समस्यामा परेकाहरूलाई वितरण गरिएको पहिलो चरणको राहतको भुक्तानी दिनेलगायतका निर्णय गरिएको पालिका अध्यक्ष बस्नेतले जानकारी दिए । विकासको बजेट रकमान्तर गरी कोरोना कोषमा जम्मा गर्ने लिखुपिके गाउँपालिका जिल्लाको पहिलो स्थानीय तहसमेत बनेको छ । कोरोनाका कारण विकास निर्माणका कार्यमा प्रभाव पर्ने निश्चित छ । यसैले गर्दा विकास निर्माणका लागि प्रदेशबाट आएको यो बजेटलाई रकमान्तर गरिएको अध्यक्ष बस्नेतको भनाइ छ ।

अन्य स्थानीय तहले पनि विकास निर्माणका लागि विनियोजन गरेको रकमलाई रकमान्तर गर्नसक्ने देखिएको छ । सोलुखुम्बुमा यो समय विकास निर्माणका लागि महत्वपूर्ण समय भए पनि यो वर्ष कोरोनाका कारण विकास निर्माणका काम हुनसकेका छैनन् । सोलुखुम्बुमा जेठ महिनाको अन्तिमदेखि पानी पर्ने सुरु हुने र त्यसपछि विकास निर्माणका काम बन्द हुने गरेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया