Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहिमालय एयरलाइन्सद्वारा काठमाडौं–छिन्ताओे–काठमाडौं उडान सुरु

हिमालय एयरलाइन्सद्वारा काठमाडौं–छिन्ताओे–काठमाडौं उडान सुरु


काठमाडौं । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्सले लामो समयदेखि प्रतिक्षारत काठमाडौं– छिन्ताओ–काठमाडौं उडान सेवा सुरु गरेको छ । एयरलाइन्सको एच ९ ७२२० विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार बिहान ९ः१५ मा छिन्ताओ प्रस्थान गरेको हो ।

उडानलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत, चेङ सोङ, हिमालय एयरलाइन्सका अध्यक्ष झोउ एनयोङ र उपाध्यक्ष विजय श्रेष्ठले बिदाइ गरेका थिए । सो विमान छिन्ताओकोे जियाओडोङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार साँझकोे ५ः२२ बजे अवतरण गर्ने बताइएको छ । यस उडानको अवधि पाँच घण्टा ५० मिनेटको रहने बताइएको छ । पहिलो उडानमा एक सय जना यात्रुले यात्रा गरेको एयरलाइन्सले जनाएको छ ।

यो सेवा विस्तारलाई एयरलाइन्सले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवद्र्धन गर्ने प्रतिबद्धताका रूपमा लिएको छ । एयरलाइन्सका अनुसार यस नयाँ रुटले यात्रुलाई नेपालको राजधानी र चीनको रमणीय परिदृश्य, समृद्ध सांस्कृतिक सम्पदा र आर्थिक महत्वका लागि परिचित सहरको बीचमा सहज यात्राको विकल्प प्रदान गर्ने बताइएको छ । एयरलाइन्सले अब हरेक आइतबार यस रुटको लागि साप्ताहिक सेवा सञ्चालन गर्ने तयारी गरेको छ । एयरलाइन्सका अध्यक्ष एनयोङले काठमाडौं–छिन्ताओ–काठमाडौं उडान हिमालय एयरलाइन्सका लागि महत्वपूर्ण उपलब्धि रहेको बताए । छिन्ताओ चीनको महत्वपूर्ण व्यापारिक र वित्तीय केन्द्र हो, यसले एसियालाई युरोपसँग जोड्छ । दुई देशबीचको कनेक्टिभिटी, सांस्कृतिक आदानप्रदान, पर्यटन र व्यापार अभिवृद्धिमा यसले ठूलो भूमिका निर्वाह गर्ने उनको दाबी छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री किराँतीले काठमाडौं–छिन्ताओ–काठमाडौं उडान सेवा नेपाल र चीनबीचको सम्बन्धलाई मजबुत बनाउने प्रतिबद्धताको उदाहरण रहेको बताए । छिन्ताओ चीनको एक लोकप्रिय सांस्कृतिक र आर्थिक सहर रहेको उल्लेख गर्दै उनले दुई देशबीचको पर्यटन र व्यापारको सम्भावना अपार रहेको हुँदा यो उडान सेवाले त्यसतर्फ निर्णायक भूमिका निर्वाह गर्ने बताए । यस रुटबाट उल्लेखनीय चिनियाँ पर्यटक नेपाल भित्रिने उनको विश्वास थियो । यस्तै, चिनियाँ राजदूत सोङले चीनले नेपालको हवाई पूर्वाधार विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया